काठमाडौँ । भारतको बैङ्गलोरस्थित रोबोटिक्स कम्पनी एटी मोटर्सले ४२० मिलियन लगानी संकलन गरेको घोषणा गरेको छ । उक्त लगानीले कम्पनीलाई अमेरिका, भारत र दक्षिणपूर्वी एशियाली राष्ट्रहरूमा आफ्ना गतिविधिहरू विस्तार गर्न सहयोग पुग्ने कम्पनीले जनाएको छ । विश्वभर चीनमाथिको निर्भरता कम गर्ने उद्देश्यले विभिन्न राष्ट्रहरूले स्वदेशी उत्पादनलाई प्राथमिकता दिइरहेको बेला यो लगानी महत्वपूर्ण मानिएको छ ।
एटी मोटर्सका सीईओ सौरभ चन्द्रले आफूहरुको प्रतिस्पर्धा अरू रोबोटहरूसँग नभएको तर हालको प्रक्रियासँग भएको प्रतिक्रिया दिएका छन् । उनले आफूहरुले प्रायः म्यानुअल सञ्चालनलाई विस्थापित गर्दै गरेको बताएका छन् ।
कम्पनीले हालसम्म सात प्रकारका रोबोटहरू निर्माण गरेको छ । जसमा दुईवटा रोबोट परीक्षण चरणमा छन् र यसै त्रैमासिकमा उपलब्ध हुने तयारीमा छन् । यी रोबोटहरूले कारखाना वा गोदाममा ट्रली, बिन, र प्यालेट स्थानान्तरण गर्न सक्छन् ।
एटी मोटर्सका रोबोटहरूले थ्रीडी लिडार सेन्सर र स्पाटियल अवेयरनेस प्रविधि प्रयोग गर्छन् । यसले रोबोटहरूलाई कठोर वातावरणमा पनि काम गर्न सक्षम बनाउँछ । ‘हाम्रो रोबोटले भुइँमा चिरा परेको, तेल पोखिएको वा ढलानामा समेत विभिन्न अवस्थामा सजिलै काम सञ्चालन गर्न सक्छन् ।’
फुल स्ट्याक डिजाइन एटी मोटर्सको विशेषता हो । कम्पनीले हार्डवेयर र सफ्टवेयर आफैं डिजाइन गरेर इन्जिनियरिङको सम्पूर्ण काम स्वदेशमै गर्छ । सन् २०१७ मा स्थापना भएको एटी मोटर्सले सुरुवातमा तान्ने रोबोट निर्माण गरेको थियो । ग्राहकहरूको माग अनुसार कम्पनीले पालेट मुभर र लिफ्टरहरूको उत्पादनमा समेत ध्यान केन्द्रित गरेको छ । कम्पनीले ‘रोबोट-अस-अ-सर्भिस’ मोडलमार्फत ग्राहकहरूलाई रोबोट भाडामा दिने व्यवस्था गरेको छ । यसबाहेक इच्छुक ग्राहकहरूले रोबोट खरिद गर्न पनि सक्ने जनाइएको छ ।
एटी मोटर्सका ग्राहकहरूमा एयरबस, सीएट टायर, हुन्डाइ, सामसुङ र टीभीएस मोटर जस्ता कम्पनीहरू छन् । कम्पनीले हालसम्म ४० भन्दा बढी निर्माण उद्योगमा आफ्ना ‘शेरपा रोबोटहरू’ तैनाथ गरिसकेको छ । यसपटकको लगानी वाल्डेन क्याटालिस्ट भेन्चर्स र एनजीपी क्यापिटलले संयुक्त रूपमा नेतृत्व गरेका थिए । ट्रु भेन्चर्स, एक्सफिनिटी भेन्चर पार्टनर्स, अथेरा भेन्चर पार्टनर्स, र ब्लूम भेन्चर्स जस्ता पूराना लगानीकर्ताहरू पनि यसमा सामेल थिए । यो लगानीले कम्पनीलाई विशेषगरी उत्तरी अमेरिका, मुख्यतः डेट्रोइटमा, आफ्नो उपस्थिति बलियो बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।