काठमाडौँ । भारत सरकारको सहयोगमा निर्माणहुने सप्तरीको सुरुङ्गा नगरपालिकास्थित श्री जनता माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको शिलान्यास भएको छ ।
विद्यालय भवन निर्माणको शिलान्यास बुधवार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, सुरुङ्गा नगरपालिकाका मेयर गीता चौधरी र काठमाडौँस्थित भारतीय दूतावासका द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थिति थियो ।
‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २ करोड ७६ लाख रुपैयाँ परियोजना लागतमा श्री जनता माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण भइरहेको छ ।
‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदान तीन तल्ले विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिँदैछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको छ र सप्तरीको सुरुङ्गा नगरपालिका मार्फत कार्यान्वयन गरिँदैछ ।
जनता माध्यमिक विद्यालय सन् १९५१ मा स्थापना भएको थियो । यस विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म कक्षा सञ्चालन गरिएको छ । यस विद्यालयमा लगभग ६०० विद्यार्थीहरू छन् जसमध्ये ६०५ छात्राहरू रहेका छन् ।
कार्यक्रममा मन्त्री, मेयर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरेका छन् । उनीहरूले निर्माण हुने पूर्वाधारले सप्तरीको श्री जनता माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । यसले सिकाइको लागि उपयुक्त वातावरण सिर्जना गर्न र यस क्षेत्रको शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्याउन पनि मद्दत गर्नेछ ।
सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरूमा ५६३ भन्दा बढी एचआइसीडीपीहरुमा कार्य गरेको छ र ४९५ परियोजनाहरू सम्पन्न गरिसकेको छ । यी मध्ये ८२ वटा परियोजनाहरू मधेश प्रदेशमा छन् । जसमा सप्तरीमा ९ वटा परियोजनाहरू रहेका छन् । यसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहार स्वरूप प्रदान गरेको छ । यी मध्ये मधेश प्रदेशमा २२५ वटा एम्बुलेन्स र ३४ वटा स्कूल बस उपहार स्वरूप प्रदान गरिएको छ । जसमध्ये २४ वटा एम्बुलेन्स र २ वटा स्कूल बस सप्तरीमा उपहार स्वरूप प्रदान गरिएको छ ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।