काठमाडौँ । मिति २०८२ साल जेठ १२ गते अर्थ सरोकारमा प्रकाशित ‘बजेटमार्फत पूँजीगत लाभकर १० प्रतिशत पुर्याउने तयारी !’ शीर्षकमा प्रकाशित समाचारका विषयमा बजेट भाषणका क्रममा त्यस्तो तथ्य सार्वजनिक नभएपछि विशेषत: सेयर बजारका लगानीकर्ताहरुले राख्नुभएको चासोप्रति अर्थ सरोकारको विशेष ध्यानाकर्षण भएको छ ।
कतिपयले सोध्नुभएको छ, ‘तयारी थियो भने किन बढाइएन ? तयारी थिएन भने किन राखियो समाचार ?’
हुन त यो प्रष्टीकरण दिईरहनुपर्ने विषय नहुन सक्छ, तर आम पाठकले देखाउनुभएको चासोको सम्बोधन गर्नुपर्छ भन्ने मान्यता भएकाले आज यस विषयमा तथ्य लेख्न खोज्दैछौँ ।
सुरुमा बुझौँ, के क्यापिटल गेन ट्याक्स बढाउने तयारी थियो ?
अर्थ मन्त्रालयको विश्वस्त स्रोतको दाबी थियो, र छ- ‘हो, तयारी भएकै हो ।’
जव यो विषय मूलधारका सञ्चारमाध्यमले पनि सार्वजनिक गरे, सेयर बजारका लगानीकर्ताले अर्थ सरोकारमा फोन नै गरेर सोधे -‘खास कुरा के हो ?’
हामीले त्यसपछि अर्थमन्त्रालयमा रहेको स्रोतसँग सम्पर्क गर्यौँ । स्रोतको दाबी फेरी पनि त्यहि थियो, ‘हो ! क्यापिटल गेन ट्याक्स बढाउने तयारी भएको छ ।’
क्यापिटल गेन ट्याक्स बढाउने विषयले बजारलाई केहि प्रभाव पार्न सक्छ कि सक्दैन भन्ने विषयमा सामाजिक संजालमा चर्चासमेत हुन थाल्यो । २०५८मै पनि यस्तो कर १० प्रतिशत रहेकाले बजारलाई खासै फरक पर्दैन भन्ने रायसमेत सुनियो । संचार माध्यममा यो समाचार सार्वजनिक भएपछि अर्थमन्त्रीलाई धेरैले विभिन्न माध्यममार्फत सो कर नबढाउन दबाब दिए । अन्तत: अर्थमन्त्रीले बढाउने तयारी गरेको कर बढाएनन् । सेयर बजारका लगानीकर्तामाझ राम्रो छवि बनाएका उनले सो समूहमा आफ्नो छवि धमिलो हुने दिएनन् ।
जेठ १५ मा बजेट आयो । अर्थमन्त्रीले धेरैलाई ‘सर्प्राइज’ दिए । सेयर लगानीकर्तालाई कर नबढाएर उनले आफ्नो छवि कायम त गरे नै, उनले करमा गरेका कतिपय तयारीलाई अन्तिम रुप दिँदा उल्टो बनाइदिए ।
उदाहरणका लागि इभिमा कर बढाउने उनको तयारी थियो । सो तयारीबारे पाएको जानकारीपछि कतिपयले त ठुलो मात्रामा इभि आयात पनि गरे । अव सो इभि बिक्न धेरै गाह्रो पर्ने विश्लेषण गरिएको छ । यसको अर्थ क्यापिटल गेन ट्याक्सको कुरामा मात्र होइन, इभिको कुरामा पनि अर्थ मन्त्रालयले आफ्नो तयारी फरक पार्दा स्थिति ‘अर्थ मन्त्रालयले धेरैलाई प्र्यांक’ गरेजस्तै भयो ।
समग्रमा भन्दा अर्थ मन्त्रालय स्रोतको अझै पनि दाबी छ -क्यापिटल गेन ट्याक्स बढाउने तयारी थियो, तर चौतर्फी दबाब आएपछि अर्थमन्त्रीले मुड फेरे । सायद यो कर बढ्दैछ भन्ने विषय र इभिको कर बढ्दैछ भन्ने विषय सार्वजनिक संचार माध्यममा सार्वजनिक नभएको भए दुवैखालका कर बढ्ने थिए । सेयर लगानीकर्ताले दिएको सुझाव, र दबाबपछि अर्थमन्त्री दुवै तयारीबाट हटे, सल्लाहकारले दिएको सम्भावित आन्दोलनको चेतले झस्किए सायद । क्यापिटल गेन ट्याक्स मात्र होइन, अर्थमन्त्रीलाई कतिपयले पूँजीगत लाभकर अन्तिम नगर्न पनि सुझाव दिएका थिए । तर अर्थमन्त्रीले संयमता अपनाए । सेयर लगानीकर्ताको कुभलो गरेनन् । र यसको जस, दबाद दिने सबैले लिँदा हुन्छ ।
लगानीकर्ताको प्रश्न, ‘जिम्मेवार पत्रकारितामा स्रोतको विश्वास गरेर मात्र हुन्छ ?’
आम पाठक र सेयर लगानीकर्ताको यो प्रश्नलाई हामीले स्वाभाविक ठानेका छौँ । तर पत्रकारिता चलेकै स्रोतले दिएको सूचनाले हो । स्रोत कहिलेकाहीं गलत पनि पारिदिन्छ । त्यसले सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न पनि उठ्छ । हाम्राबारेमा पनि कहिले प्रश्न उठाउनुभएको छ होला, जुन स्वाभाविक पनि हो । तर हामी प्रष्ट पार्न चाहान्छौँ, स्रोतले दिएको खबर कहिलेकाहीं गलत हुन सक्छ । तर यसपटक स्रोत पनि गलत थिएन, बरु मन्त्रीले बजेटको रुप अन्तिम पार्दा सबैको सुझाव कार्यान्वयन गरे । १२ गतेको तयारीलाई १३ गते अर्कै रुप दिए । हामी विश्वस्त दिलाउन चाहान्छौँ, छोटकरीमा प्रस्तुत गरिएको सो तयारीका विषयको समाचार हाम्रो सामान्य जानकारी दिने उद्देश्य बाहेक अरु केहि थिएन ।
पाठकको प्रश्न, र जिज्ञासा यस्तो पनि हुन सक्छ – ‘अनि समाचार गलत सावित भएपछि माफी माग्नु पर्दैन ?’
पर्छ । समाचार गलत हुँदा जिम्मेवार सञ्चारमाध्यमले क्षमा माग्नुपर्छ । हामीले केहि समाचारमा विगतमा मागेका पनि छौँ । स्रोतले गलत समाचार टीपाईदिँदा कहिलेकाहिँ सञ्चारमाध्यम चुक्छन् । नेपालमा मात्र होइन, विश्वभर यस्तो हुन्छ । हामीले लेखेको सो समाचारमा तयारी भन्ने मात्र थियो । खास क्षमा नै माग्नुपर्ने केहि पनि थिएन । र पनि हामीलाई माया गर्ने पाठकले प्रश्न गरिसकेपछि हामीले हाम्रो स्रोतले दिएको समाचार बजेटको भाषणसँग मेल नखाएको स्थितिमा माफी माग्दा फरक पर्दैन भन्ने निष्कर्ष निकालेका छौं । किनकि उनै पाठक, दर्शक र स्रोताको मायाले न हामी चलेका छौँ । हामीलाई विश्वास गरेर पढ्ने, हेर्ने र सुन्ने दर्शक, पाठक र स्रोतालाई हामीले समाचारमा उल्लेख गरेको तयारी अनुसार नहुँदा रिस उठेको भए, चित्त दुखेको भए, दुख लागेको भए, नराम्रो लागेको भए हामी क्षमा चाहान्छौँ । र आउँदा दिनहरुमा थप सजग हुने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ ।
तर,
फेरि यस्तो पनि भएको छ, हामीले सार्वजनिक गरेका कतिपय बेथितिका समाचारले आत्तिएका, नेताका झोले, सेयर बजारलाई प्रभावित पार्ने र पार्न खोज्ने जो कोहि, फेक अकाउन्टको सहारामा साइबर अपराध गरिरहेकाहरु, हामीले बेथिति सार्वजनिक गरेकाहरुको नुन खाएकाहरुले गर्न खोजेको आक्रमणबाट हामी रतिभर पनि बिचलित छैनौँ । हामीलाई आलोचना सुन्न समस्या छैन, किनकि सिक्ने यसरी नै हो, माया गर्नेहरुले नै गाली गर्ने हो भन्ने निष्कर्ष हो हाम्रो । तर यहि बाहानामा मनपरी बोल्ने, असभ्य रुपमा प्रस्तुत हुने, साइबर अपराधजन्य कसुर गर्ने, जो कोहिविरुद्ध हाम्रो कलम र अभियान दुवै अगाडी बढ्नेछ ।
अन्त्यमा,
हामीले लेखेको ‘सानो’ समाचार प्रमाणित भएन भनेर हामीलाई भन्ने, गाली गर्ने, सहानुभूति राख्ने यति धेरै हुनुहुन्छ भन्ने थाहा पाउँदा खुसी लागेको छ । सबैजना ढुक्क हुनुहोस्, अर्थ सरोकारले तपाईंको मायालाई अन्याय हुन दिनेछैन ।सबै सेयर लगानीकर्तालाई हाम्रो अनुरोध छ – बजार बलियो बनाउन, बजारका बेथिति हटाउन, बजारबारे साक्षर बनाउन अर्थ सरोकारले बिगतमा पनि प्रयास गरेको थियो, अहिले पनि गरिरहेकै छ, र भोलि पनि गरिरहनेछ । हाम्रो यो सत्प्रयासलाई तपाईंहरुले साथ दिनुभएको थियो, दिईरहनुभएको छ र दिईरहनुहुनेछ भन्ने अपेक्षा पनि छ ।
फेरी पनि भन्छौँ, हुन त यो प्रष्टीकरण दिईरहनुपर्ने विषय होइन, र थिएन । मिडिया खबरदारीपछि अर्थमन्त्रीले तयारी सच्याए । यसमा हामीले धन्यवाद पाउँछौं भनेको त केहिले ‘यहि मौका हो भन्ने शैली’मा गाली गरिरहे । खैर केहि छैन । सार्वजनिक सञ्चारमाध्यम भएपछि यतिको गाली पचाउनुपर्छ, सच्याउनुपर्ने कुरा सच्याउनुपर्छ । यहि बुझेर उठेका विषयमा केहि जवाफ दिनुपर्छ भन्ने हो । यसपाली यसै गरियो ।
फेरि पनि माया गर्नुहुने सबैलाई धन्यवाद । यस्तै माया पाईरहूँ ।
सम्पादक,
अर्थ सरोकार डटकम