काठमाडौँ । भारत सरकारले नेपाल सरकारलाई १५ वटा विद्युतीय सवारी साधन उपहारस्वरुप प्रदान गरेको छ । आइतबार भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल सरकारका माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई १५ वटा विद्युतीय सवारी साधन हस्तान्तरण गरेका हुन् ।
‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ भन्ने विषयमा जेठ २-४ गतेसम्म काठमाडौंमा हुन लागेको ‘सगरमाथा सम्वाद’ को पहिलो संस्करणको प्रभावकारी आयोजनालाई सहजीकरण गर्न नेपाल सरकारलाई लजिस्टिक सहयोगको लागि भारतको तर्फबाट उपहारस्वरुप यी सवारी साधन प्रदान गरिएको हो ।
नेपाल सरकारको आग्रहमा हस्तान्तरण गरिएका उक्त सवारी साधनहरु सम्वाद सञ्चालनका लागि लजिस्टिक व्यवस्थालाई थप बढाउन उपयोगी साबित हुने बताईएको छ ।
सवारी साधन हस्तान्तरण समारोहमा बोल्दै राजदूतले यी सवारी साधनहरुले सम्वादको समयमा अतिथि र अधिकारीहरुको आवागमनलाई सहज बनाउन मद्दत गर्ने उल्लेख गरे । उनले सन् २०२२ मा संघीय र प्रदेश सभा निर्वाचन सञ्चालनका लागि भारत सरकारले कानून कार्यान्वयन गर्ने निकायहरु र नेपाल निर्वाचन आयोगलाई प्रदान गरेको यस्तै लजिस्टिक सहयोगको स्मरण गरे ।
नेपाल सरकारको तर्फबाट सवारी साधनहरु ग्रहण गर्दै परराष्ट्रमन्त्रीले सम्वादको आयोजनालाई सहजीकरण गर्न भारतले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरिन् । उनले भारतको भूमिकालाई नेपालको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो विकास साझेदारहरुमध्ये एकको रुपमा स्वीकार गरिन् ।