काठमाडौँ । भारतले दक्षिण एसियाली द्वीपीय राष्ट्र माल्दिभ्सलाई आर्थिक स्थायित्वमा सहयोग गर्न ५० मिलियन अमेरिकी डलर बराबरको ट्रेजरी बिल फेरि नवीकरण गरेको छ । यो कदम भारतको ‘पड़ोसी पहिलो नीति’ अन्तर्गत आएको हो, जसले क्षेत्रीय मित्रता, विकास, र साझा समृद्धिको मार्ग प्रशस्त गर्ने भारतीय संकल्पलाई पुनः पुष्टि गरेको छ ।
भारतको विदेश मन्त्रालयले जारी विज्ञप्ति अनुसार उक्त ट्रेजरी बिलको नवीकरणले माल्दिभ्सको आर्थिक दबाब कम गर्न र विदेशी मुद्रा सञ्चिति सुदृढ गर्न सहयोग पुग्ने विश्वास छ । माल्दिभ्सको वर्तमान राजनीतिक र आर्थिक परिवेशमा भारतको यस्तो सहयोगले उदाहरणीय छिमेकी भावनाको प्रतिविम्ब दिएको छ ।
भारतले विगत केही वर्षदेखि माल्दिभ्ससँगको सम्बन्धलाई रणनीतिक मात्र नभई जन-जनको हितमा आधारित सम्बन्धको रूपमा अगाडि बढाइरहेको छ । कोभिड-१९ को महामारीमा पहिलो खोप सहयोग गर्नेदेखि पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र जल व्यवस्थापन परियोजनाहरूमा लगानी गर्दै आएको भारतले अहिले आर्थिक संकटको घडीमा पनि आफ्नो साथ स्पष्ट देखाएको छ ।
विशेषतः चीनको आक्रामक ऋण कूटनीति (debt-trap diplomacy) ले माल्दिभ्स लगायत अन्य साना राष्ट्रहरूलाई चपेटामा पारिरहेको अवस्थामा भारतको यस्तो सहयोग नाफारहित, मित्रवत् र स्थायी विकासमा केन्द्रित रहेको छ । चीनका ऋण सम्झौताहरूले द्वीपीय देशहरूलाई भौगोलिक संप्रभुतामा नै असर पार्ने गरी बाँधेको घटनाहरूको पृष्ठभूमिमा भारतको पारदर्शी र समर्थनकारी सहयोगले ठूलो सन्देश दिएको छ ।
भारतको यो नीति केवल सहयोगका लागि नभई यो दक्षिण एशियाली स्थायित्व र स्वतन्त्रताप्रति प्रतिबद्ध नीतिगत निर्णय भएको जनाईएको छ । भारत आज केवल सैन्य शक्तिमा होइन, आर्थिक र नैतिक नेतृत्वमा पनि अग्रस्थानमा उभिएको छ ।