काठमाडौँ । तनहुँमा घरधन्दा, मेलापात, बालबालिकाको हेरचाहमा मात्र व्यस्त हुने महिलाको दैनिकी फेरिएको छ । घरेलु कार्यमा व्यस्त रहने महिलाको जीवनशैलीमा परिवर्तन आएको छ । भानु नगरपालिका-९ चितीखोलाका महिला जीवनशैली परिवर्तनसँगै अहिले आयआर्जनतर्फ जोडिएका छन् ।
नियमित गरिने कार्यसँगै पाहुना स्वागत गर्ने भएपछि अहिले उनीहरूको परिवर्तन भएको छ । विसं २०७६ मा स्थापना भएको ग्रीनहिल भिलेज सामुदायिक घरबास (होमस्टे) सञ्चालन गरेपछि घरधन्दासँगै काम परिवर्तन भएको छ । घरबासमार्फत यहाँका अधिकांश महिला आयआर्जनसँग जोडिएका छन् । यहाँका प्रत्येक घरलाई सिँगारेर घरबासमा परिणत भएपछि महिलाहरूको जीवनशैलीमात्र होइन, गाउँको पहिचानसमेत फेरिएको छ ।
ग्रीनहिल भिलेज होमस्टे सञ्चालक समितिकी सचिव सुशीला पुलामी भन्छिन्, ‘यहाँका महिलाको जीवनशैलीमा परिवर्तन आउनुका साथै परिवार छाडेर बालबालिका लिएर अन्त बसाइँ सर्ने कार्य रोकिएको छ । हालसम्म हामीले यहाँका महिला बालबच्चासहित पठनपाठनका लागि भन्दै अन्यत्र गएको थाहा पाएका छैनौँ, गाउँमै बस्न सिकाएको छ ।’
यहाँका महिलाले आफैँले उत्पादन गरेका खाद्यवस्तुकै माध्यमबाट पर्यटकलाई आकर्षण गर्न सकिन्छ भन्ने सोचेकै थिएनन । उनी भन्छिन्, ‘हामीले पहिलापहिला त गाउँमा पर्यटक आउने कल्पना पनि गरेका थिएनौँ, खेतबारी र घरायसी काममा सीमित रहेका हामी अहिले ती कामसँगै पाहुनाको स्वागत गर्न व्यस्त हुन्छौँ । होमस्टे सञ्चालनपछि हाम्रो दैनिकीमात्र होइन, गाउँको पहिचान नै फेरिएको छ ।’
६ वर्ष अगाडि र अहिलेको गाउँको स्वरूप नै परिवर्तन भएको पुलामीको भनाइ छ । उनी भन्छिन्, ‘होमस्टे भनेको के हो भन्नेसम्म पनि थाहा नभएका हामी अहिले यहीबाट आर्थिक रूपमा सबल बन्न सिकाएको छ ।’ चितीखोलाका २१ घरमा सञ्चालन गरिएको घरबासमा एकैपटकमा करिब ४२ जनालाई बासको व्यवस्था हुन्छ । घरबासले स्थानीयस्तरमै उत्पादित खानाका परिकार पाहुनालाई खुवाउने गर्छन् ।
घरबास सञ्चालनका निम्ति क्षमता विकास, पाहुना सत्कार, विभिन्न खानाका परिकार बनाउनेलगायतका तालिम लिइसकेको र सहज भएको सदस्य सीता सारूले बताइन् । ‘स्थानीय उत्पादन, गाउँघरमै पाइने जैविक, विषादीरहित र रैथाने परिकार पाहुनालाई खुवाउँछौँ । पहिले यही उत्पादन आफैँले मात्र खान धेरै भएर आफन्त र छरछिमेकमा बाँडिन्थ्यो, अहिले यही उत्पादन आम्दानीको स्रोत बनेको छ ।’, उनले भनिन् ।
यस्तै, होमस्टे सञ्चालक समितिकी अध्यक्ष धनाकुमारी सारू मगरले गाउँमा होमस्टे सञ्चालनपछि स्थानीय महिलाको जीवनशैलीमा धेरै परिवर्तन आउनुका साथै आर्थिक रूपमा सबल बन्दै गएको बताइन् । ‘होमस्टे सञ्चालनपछि आर्थिक रूपमा मात्र होइन, यहाँका महिलालाई आत्मनिर्भर र नेतृत्वदायी भूमिकामा समेत अगाडि बढाएको छ ।’, उनले भनिन्, ‘गाउँमै उत्पादित खाद्यवस्तुको उपयोग गरी आयस्तर बढाउन पाएपछि यहीँबाट बसाइँसराइ जाने कुरा नै भएन ।’ यहीँ आम्दानी हुने भएपछि अन्यत्र जाने सोच यहाँका महिलामा आएको नपाएको उनको भनाइ छ ।
‘ग्रीनहिल भिलेज होमस्टेले पाहुनालाई शान्त र प्राकृतिक वातावरणमा बस्ने अवसर दिएको छ, साथै यहाँका महिलालाई आर्थिक रूपमा आत्मनिर्भरतातर्फ सचेत गराएको छ ।’, उनले भने, ‘पाहुनाले पनि हाम्रो गाउँको मौलिकता र आतिथ्यताबारे राम्रो प्रतिक्रिया दिएका छन् । यसले हामीलाई थप ऊर्जा मिलेको छ, त्यसैले होमस्टेको सेवा थप मौलिक र आफ्नोपनको महसुस गर्नेगरी सेवा दिँदै आएका छौँ ।’ होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । हालसम्म करिब दुई हजार ५०० पर्यटकलाई स्वागत गरेको घरबासका संस्थापक सदस्य गीता अधिकारी पाण्डेले बताइन् । ‘पाहुना गाउँको रहनसहन, खाना र स्थानीय संस्कृतिबाट प्रभावित भएर फर्कनुहुन्छ ।’, उनले भनिन् ।
घरबासमा एक रात बास बसेकी सिएमसीमा अध्ययनरत छात्रा श्रेषा सुवेदीले यहाँको आथित्यताले अपनत्व महसुस हुने बताइन् । ‘यहाँको चिसो हावा र रमणीय दृश्यले लोभ्याएको छ । यहाँको अधिकांश खानेकुरा नै अग्र्यानिक पायौँ ।’, उनले भने, ‘साँच्चै अग्र्यानिक खाना खान फेरि आउने धोको छ ।
घरबास सञ्चालनमा सहज बनाउने उद्देश्यले यहाँ आवश्यक पूर्वाधार पनि थपिँदै गएको छ । पाहुनालाई सञ्चालक समितिका सदस्यले पालैपालो गाउँ तथा वरपरका पर्यटकीय गन्तव्य घुमाउने, परम्परागत नाच देखाउने गर्छन् । गाउँमा पाहुना आउन थालेपछि गाउँ पनि सफा र चिटिक्क बन्दै गएको छ । यहाँ आउने पाहुनाले कृषि अवलोकन, प्राकृतिक सौन्दर्यको रूपमा रहेका जङ्गलमा विभिन्न चराचुरुङ्गीको आवाज सुन्न, सुन्दर सफा हावापानीमा रमाउन, चोककोट, गढीमाईसम्म हाइकिङ, चन्द्र झरना, शिवमन्दिर र चियाबारी पनि अवलोकन गर्न सक्छन् । यहाँबाट मनास्लु हिमालको सुन्दर दृश्य देख्न सकिन्छ । पृथ्वी राजमार्गअन्तर्गत पुरानो बजारका रूपमा रहेको डुम्रे बजारबाट डुम्रे–बेँसीसहर–चामे मोटर मार्गबाट करिब २० किलोमिटर यात्रा गरेपछि घरबासमा पुग्न सकिन्छ ।