काठमाडौँ । जम्मु-कश्मीरस्थित चिनाब नदीमाथिको चिनाब रेल पुलमा बुधबारदेखि नियमित रेल सेवा सञ्चालनमा आएको छ । यो पुल समुद्र सतहदेखि ३५९ मिटर अग्लो छ र यसले विश्वकै अग्लो आर्च रेल पुलको कीर्तिमान राखेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ६ मा औपचारिक रूपमा उद्घाटन गरेका थिए । पुलमार्फत जम्मु क्षेत्रको कत्रा र कश्मीरको श्रीनगरबीच सिधा रेल आवागमनको मार्ग खुलेको हो ।
यो पुल भारतको उधमपुर–श्रीनगर–बारामुल्ला रेल लिंक (USBRL) अन्तर्गत निर्माण गरिएको हो, जसको कुल लम्बाइ २७२ किलोमिटर छ । परियोजना अन्तर्गत ३६ वटा सुरुङ, ९४३ वटा पुल र विद्युतीकरणसहितको सम्पूर्ण संरचना निर्माण गरिएको छ, जुन रणनीतिक, भौगोलिक र प्रविधिक हिसाबले अत्यन्त जटिल मानिन्छ। करिब ₹४३,७८० करोड लागतमा सम्पन्न भएको यो परियोजना भारतको रेलवे इतिहासमा सबैभन्दा चुनौतीपूर्णमध्ये एक मानिएको छ ।
पुलमा स्टीलको विशाल संरचना निर्माण गरिएको छ जुन उच्च वायु दबाब, तीव्र तापक्रम अन्तर, र भूकम्पीय गतिविधिहरूलाई समेत सामना गर्न सक्ने क्षमतायुक्त छ। चिनाब पुलको निर्माणमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ र यो १२० वर्षसम्म टिक्ने अनुमान गरिएको छ । निर्माण अवधिमा विशेष ध्यान सुरक्षामा दिइएको थियो र पु लमा उच्च स्तरको परीक्षण गरिएपछि मात्र सञ्चालनको अनुमति दिइएको हो ।
यससँगै कत्रा र श्रीनगरबीच वन्दे भारत एक्सप्रेस नामक दुईवटा सेमि-हाई स्पीड रेल सेवाहरू पनि शुरू गरिएको छ । यी रेलहरू हिमाली क्षेत्रअनुसार डिजाइन गरिएका छन् जसमा हीटेड विन्डशील्ड, थर्मल इन्सुलेशन र इनडोर तापमान सन्तुलनका लागि विशेष प्रविधि प्रयोग गरिएको छ । यात्राको समय घटाउँदै यी सेवाले जनताको आवागमनलाई सजिलो बनाउनुका साथै कश्मीरको आर्थिक र सामाजिक विकासमा ठुलो टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
चिनाब पुल केवल एक इन्जिनियरिङ चमत्कार होइन, यो कश्मीर क्षेत्रलाई भारतको मुख्य भूमिसँग स्थायी रूपमा जोड्ने एक ऐतिहासिक उपलब्धि बनेको छ। यो पुलले सुरक्षात्मक दृष्टिकोणबाट पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ र पर्यटन, व्यापार, तथा स्थानिय जनजीवनमा गहिरो प्रभाव पार्नेछ ।