काठमाडौँ । भारतले पछिल्लो समय बहुआयामिक कूटनीतिक सक्रियता बढाएको छ । भारतीय त्रि-सेना प्रतिनिधिमण्डलले इजरायल एरोस्पेस इन्डस्ट्रीज (IAI) को भ्रमण गर्दै लङ-रेन्ज स्ट्यान्ड-अफ हतियार सम्बन्धी सहकार्यबारे छलफल गरेको छ । यसलाई भारतको दीर्घ दूरी आक्रमण क्षमताको उन्नयनका रूपमा हेरिएको छ । जसले हिन्द प्रशान्त क्षेत्रमा उसको रणनीतिक उपस्थिति बलियो बनाउने विश्लेषण गरिएको छ ।
यसैबीच, कतारका वाणिज्यमन्त्री अहमद अल-सय्यदको नेतृत्वमा आएको लगानी प्रतिनिधिमण्डलले भारतमा ऊर्जा, पूर्वाधार, वित्त र खाद्य-प्रसंस्करण क्षेत्रमा लगानी विस्तारबारे छलफल गरेको छ । यसलाई खाडी-भारतबीचको पूँजी प्रवाह सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
युरोपेली मोर्चामा, प्रधानमन्त्री मोदी र फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टब्बबीच भएको भेटमा भारत-युरोपेली संघ (EU) FTA र युक्रेन युद्धका प्रभावबारे चर्चा भएको छ । डिजिटल व्यापार र ‘रुल्स अफ ओरिजिन’ मा प्राविधिक सहमति खोज्ने प्रयास भइरहेको बताइएको छ ।
यी सबै भेटघाट र सहकार्यलाई भारतीय विदेश नीतिको सन्तुलित बहुआयामिक कूटनीतिका उदाहरणका रूपमा हेरिएको छ । भारतले एकैपटक रक्षा, लगानी र व्यापार क्षेत्रमा सहकार्य बढाएर आगामी दशकमा आफ्नो आर्थिक-राजनीतिक प्रभाव विस्तार गर्ने संकेत दिएको छ।