काठमाडौँ । ई-७ भिसामा कोरिया जान नपाइने भएको छ । वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै ई-७ भिसामा नेपाली कामदार कोरिया जान नपाइने जनाएको हो ।
विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नहुने बताएको छ । योसँगै ई-७ भिसामा कोरिया जाने बाटो पनि बन्द भएको छ ।
उक्त कार्यविधि कार्यान्वयन नगर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट निर्देशन आएको विभागले जनाएको छ । हाल रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत नेपालीहरु रोजगारीका लागि कोरिया जाने गरेका छन् ।
के हो ई-७ भिसा ?
ई-७ भिसा दक्षिण कोरियाले दिने एक किसिमको कामदार भिसा हो । यसलाई विशेष पेशा वा विशेष रोजगारी भिसा पनि भनिन्छ । उक्त भिसामार्फत कोरियन कम्पनीहरुले प्राविधिक, सीपयुक्त वा विशेष ज्ञान भएको (जस्तैः इन्जिनियर, प्राविधिक, अनुवादक, खेलाडी, शेफ, डिजाइनर, आईटी, सीपयुक्त उत्पादन उद्योग) विदेशी नागरिकलाई रोजगार दिने गर्छन् ।
उक्त भिसा सामान्य कामदार भिसा भन्दा फरक हुन्छ । उक्त भिसामा कोरिया जाने कामदारले विशेष सीप र योग्यताका आधारमा काम गर्न पाउँछन् । उक्त भिसा होल्डरले आफ्नो परिवारसमेत लैजान पाउँछन् । सामान्यतया ई–७ भिसाको अवधि एक वर्षदेखि तीन वर्षको हुन्छ । तर, उक्त भिसा नविकरण गर्न सकिन्छ ।