काठमाडौँ । नेपाललाई प्रायः कृषिप्रधान देश भनिन्छ । जनसंख्याको ठूलो हिस्सा अझै पनि कृषिमा आश्रित छ । तर, विडम्बना नेपालमा उत्पादन हुने कृषिउपजले देशलाई आत्मनिर्भर बनाउन सकेको छैन । नेपालमा अझै पनि खेती गर्ने शैली परम्परागत नै छ । उत्पादन प्रणाली असंगठित छ भने बजार व्यवस्थापन अझै पनि कमजोर छ ।
किसानले उत्पादन गरे पनि उचित मूल्यमा बेच्न सक्ने वातावरण छैन । सरकारको समर्थन मूल्य पनि अपूरो छ । नेपालको कृषि उत्पादनमा केवल कृषि सुधारको कुरा गरेर मात्रै पुग्दैन । नेपालको विकासका लागि कृषि उत्पादन, उद्योग कलकारखानाको विस्तारलाई महत्वका साथ अघि सार्नुपर्ने आवश्यकता देखिन्छ । जनसंख्याको ठूलो हिस्सा कृषिमा आश्रित रहेको देशले कृषि क्षेत्रमा नै प्रगति गर्न नसक्ने अवस्था हुनु र कृषिजन्य उत्पादन समेत बाहिरबाट आयात गरेर खानुपर्ने बाध्यता विडम्बनापूर्ण छ । यस्तो परिवेशबाट बाहिर निस्किन कृषिमा आधुनिकीकरण र किसानलाई प्रोत्साहन गर्न आवश्यक छ ।
नेपालमा उत्पादित धान, गहुँ, मकै, तरकारी वा फलफूल प्रायः काँच्चै बेचिन्छन् । तर, यी उत्पादनलाई प्रशोधन गरेर मूल्य बढाउन सकियो भने किसानलाई बढी लाभ हुने थियो । त्यसतर्फ राज्यको ध्यान गएको छैन । उदाहरणका लागि बिस्कुट, चाउचाउ वा जुस उद्योग कृषिजन्य कच्चा पदार्थमै आधारित हुन्छन् । तर यस्ता उद्योगलाई प्रोत्साहन गर्न सरकारले कानुनी संरक्षण, करछुट, सहुलियतपूर्ण ऋण, पूर्वाधार निर्माण र बजार विस्तारमा ध्यान दिनुपर्छ । यदि कृषि उत्पादनलाई उद्योगसँग जोड्न सकियो भने किसानले सहजै आफ्नो उत्पादन बिक्री गर्न सक्छन् । जसले गर्दा उद्योगलाई पनि आयातमा निर्भर रहनुपर्ने अवस्थाको अन्त्य हुन्छ । यसले आयात प्रतिस्थापन मात्र होइन, रोजगारी सिर्जना र निर्यात बढाउन पनि सहयोग गर्छ । आत्मनिर्भर अर्थतन्त्रको पहिलो आधार नै कृषि र उद्योगबीचको सहकार्य हो ।
कृषि उत्पादनको ठूलो चुनौती भनेको न्यूनतम समर्थन मूल्यको अभाव हो । नेपालमा गोलभेँडा, चिया वा तरकारी उत्पादन बढ्नेबित्तिकै बजारमा मूल्य अचानक घट्छ र किसान घाटामा पर्छन् । यो नै नेपाली किसानलाई निरुत्साहित गर्ने सबैभन्दा ठूलो कारकका रुपमा देखिन्छ । यस्ता विषयलाई राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । अन्तर्राष्ट्रिय अभ्यास हेर्दा भारत वा बंगलादेशजस्ता मुलुकले समेत ‘न्यूनतम सपोर्ट मूल्य’ प्रणालीमार्फत किसानलाई घाटाबाट जोगाइरहेका छन् । तर, नेपालमा किसानका लागि त्यस्ता कुनै पनि कार्यक्रमहरू छैनन् । नेपालले पनि तत्काल यो प्रणाली लागू गर्नुपर्ने आवश्यकता देखिन्छ । राज्यले निश्चित मूल्य तोकेर उत्पादन खरिद गर्न सक्ने व्यवस्था गरे किसान आत्मविश्वासका साथ खेतीपातीमा संलग्न हुनेछन् । जुन दीर्घकालीन रूपमा खाद्य सुरक्षा र आत्मनिर्भरता दुवैका लागि अपरिहार्य छ ।
नेपालमा कृषिमा रसायन प्रयोग गर्ने तरिका पनि समस्याग्रस्त छ । कुन बालीमा कुन प्रकारको कीटनाशक वा रसायन प्रयोग गर्ने भन्ने आधारभूत जानकारी किसान, व्यापारी र आयातकर्तामा पनि पर्याप्त छैन । यसले किसानको स्वास्थ्यलाई मात्र होइन, उपभोक्ताको स्वास्थ्यलाई समेत जोखिममा पारिरहेको छ । यसमा सरकारले कडाइ गर्नुपर्ने, अनुगमनलाई बलियो बनाउनुपर्ने र किसानलाई निरन्तर सचेत गराउनुपर्ने आवश्यकता छ । नेपालमै स्थापना भएका खाद्य प्रयोगशालालाई अझै सक्षम र प्रभावकारी बनाउन सके बजारमा विश्वास बढ्ने र उपभोक्ताले नेपाली उत्पादन रोज्ने वातावरण बन्नेछ । नेपाल–भारतबीचको खुला सिमानाले पनि कृषि क्षेत्रमा गम्भीर असर पारेको छ । नेपालको अधिकांश सीमा भारतसँग खुला रहेकाले भारतमा उत्पादित वस्तुले नेपाली बजारमा सहजै पहुँच पाउँछ । भारतीय किसानलाई मल, बिजुली, सिँचाइमा छुट र न्यूनतम समर्थन मूल्यको ‘ग्यारेन्टी’ दिइएको हुन्छ । जसका कारण उनीहरूको उत्पादन सस्तो पर्छ । त्यस्ता वस्तु सहजै नेपाल भित्रिएपछि नेपाली किसानले उत्पादन गरेको कृषिउपजले प्रतिस्पर्धा गर्न सक्दैन । यसले पनि नेपाली किसान मारमा परेका छन् । कुनै पनि उपभोक्ताले कुनै वस्तु खरिद गर्दा सस्तो मूल्यको खोज्नु स्वाभाविक हो । सस्तो कृषि उपजका कारण नेपाली किसान मारमा परेका छन् । सस्तो भएको कारण नेपाली उभपोक्ताहरू पनि भारतीय उत्पादन रोज्नुपर्ने बाध्यतामा छन् । जब कि त्यो स्वास्थ्यका लागि कतिको सही छ वा छैन भन्नेभन्दा पनि केही पैसाको लोभले काम गरिरहेको छ । यसले पनि नेपाललाई आत्मनिर्भर बनाउन बाधा सिर्जना गरेको छ । यसतर्फ राज्यको ध्यान जानुपर्ने आवश्यकता छ ।
यसरी नेपालको मुख्य पेसामा लागेका किसानहरूले निरन्तर समस्या भोगिरहेका छन् । यस्तो समस्याको समाधानका लागि नाकामा कडाइ गर्नुपर्ने हुन्छ । त्यस्तै, डिजिटल ट्र्याकिङ प्रणाली प्रयोग गर्ने र निश्चित नाकाबाट मात्रै वस्तु आवतजावत हुने व्यवस्था गर्नुपर्ने देखिन्छ । यसले नेपाली उत्पादनलाई केही हदसम्म प्रतिस्पर्धी बनाउन मद्दत गर्नेछ ।
नेपाल कृषि र जलविद्युत्मै सीमित नभई खानी तथा जडीबुटी क्षेत्रतर्फ पनि अगाडि बढ्नसक्ने सम्भावना बोकेको देश हो । कर्णाली प्रदेशको दैलेख जिल्लामा भेटिएको ग्यास, कर्णालीका बहुमूल्य पत्थर, ग्रेनाइट, मार्बल, तामा, फलामजस्ता स्रोत अझै अन्वेषणमै सीमित छन् । यी खानीहरूलाई सञ्चालन तथा उत्खनन गरेर देशले समृद्धि हासिल गर्न सक्छ । त्यस्तै, कर्णाली र सुदूरपश्चिममा पाइने जडीबुटी प्रायः कच्चा रुपमा नै बेचिन्छन् । जसबाट किसानले न्यून मूल्य मात्र पाउँछन् । यस्ता कच्चा पदार्थलाई प्रशोधन गरेर तेल, औषधि, भिटामिन वा परफ्युम बनाउन सकिन्छ । यसले स्थानीय कच्चा पदार्थको मूल्यवृद्धि मात्रै होइन, स्थानीय उद्योगको विकासमा पनि सहयोग पुग्छ । जसबाट हाम्रो निर्यात क्षमता विस्तारमा सहयोग पुग्छ । आयातमुखी अर्थतन्त्रलाई केही मात्रामा भए पनि घटाउन सहयोग पुग्छ ।
अर्को महत्वपूर्ण विषय नेपालका धेरै सरकारी स्वामित्वका उद्योगहरू रुग्ण अवस्थामा छन् । त्यस्ता उत्पादन बढाउन नसक्ने, बजार विस्तारमा असफल हुने, व्यवस्थापनमा कमजोर देखिने, ओभरस्टाफिङ र उच्च सञ्चालन खर्चजस्ता कारणले उद्योगहरू घाटामा चलेका छन् । यस्तो अवस्थामा सरकारलाई वर्षेनी अर्बौँ खर्च गरेर उद्योग धानिरहनुपर्ने बाध्यता छ । त्यस्ता उद्योगहरूलाई कसरी हुन्छ नाफामा सञ्चालन गर्ने वा बन्द गर्नेतिर लाग्नुपर्छ । यस्ता समस्या समाधानका लागि निजीकरण, पुनर्संरचना वा वैकल्पिक उपाय प्रयोग गर्ने विषयमा सोच्नुपर्छ । निजीकरणमार्फत दक्ष निजी क्षेत्रलाई उद्योग हस्तान्तरण गर्न सकिन्छ ।
पुनर्संरचनामार्फत वित्तीय सहुलियत, करछुट वा व्यवस्थापन सुधारमार्फत उद्योगलाई पुनर्जीवन दिन सकिन्छ र टिक्नै नसकेको अवस्थामा वैकल्पिक विधि उपयोग गरेर अरू क्षेत्रमा लगानी गर्न सकिन्छ । यसले सरकारी खर्च कम गर्ने मात्र होइन, उत्पादन र प्रतिस्पर्धात्मकता बढाउने सम्भावना रहन्छ ।
नेपालको कृषिमा प्रविधिको उपयोग हुनु पनि उत्तिकै आवश्यक छ । नेपालमा अहिले पनि परम्परागत कृषि भइरहेको छ । त्यस्तै नेपाल अझै पनि धेरै कृषि औजार आयातमै निर्भर छ । तर सामान्य औजारहरू नेपालमै उत्पादन गर्न सकिन्छ । अहिले पनि किसानहरूले गोरुको प्रयोग गरेर नै खनजोत गरिहेका छन् । प्रविधिको विकासले अहिले धेरै मेसिनहरू आइसकेका छन् । गोरु प्रयोग गरेर गर्ने कामलाई मेसिनमार्फत सजिलो बनाउन सकिने सम्भावना छ । त्यसले छिटो र छरितो काम सम्पन्न गर्न सघाउँछ । यसको लागि खेतीलाई व्यावसायिक र सहकारी मोडेलतर्फ लैजानुपर्ने आवश्यकता छ । नेपालको कृषिका लागि गम्भीर पक्ष भनेको जमिनको खण्डीकरण हो । सम्पत्ति बाँडफाँटका नाममा जग्गाको खण्डीकरण बढ्दो छ । जग्गाको खण्डीकरण रोकेर ठूलो क्षेत्रमा खेती गर्न सकियो भने मात्रै मेसिनको प्रयोग सम्भव हुन्छ । अहिलेकै अवस्थामा मेसिनको प्रयोग गर्न पनि सम्भव छैन भने उत्पादन बढाउन पनि सम्भव छैन । यसरी परम्परागत कृषिबाट आधुनिकतामा प्रवेश गर्ने र प्रविधि भित्र्याउन सकियो भने उत्पादन लागत घट्छ । श्रम दक्ष बन्छ र उत्पादन पनि बढ्छ । नेपाल कुनै समय धान चामल निर्यात गर्ने मुलुक थियो । यो अहिले एकादेशको कथाजस्तो भइसक्यो । अहिले हाम्रो भान्सामा पाक्ने अधिकांश खानेकुरा आयातित छन् । अहिले ६५ प्रतिशत जनता कृषिमा लागेका छन् । तर पनि हामीहरूले अधिकांश खाद्यान्न आयात गरेर खानुपर्ने अवस्था छ । अर्कोतर्फ युवा शक्ति विदेश पलायन भएकाले पनि गाउँका खेतबारीहरू बाँझै छन् ।
खाद्यान्नको भण्डारका रुपमा रहेको तराई क्षेत्रमा जमिन खण्डीकरण तीव्र छ । यसले उत्पादन घटिरहेको छ । त्यस्तै पहाडका जमिनहरू बाँझै छन् । त्यसलाई लिज फार्मिङ वा कमर्सियल फार्मिङमा उपयोग गर्न सकियो भने आत्मनिर्भर हुन सहयोग गर्ने मात्र होइन, निर्यात सम्भावना पनि देखिन्छ । त्यसका लागि राज्यले जमिन खण्डीकरण रोक्ने र कृषि क्षेत्रमा ठूलो लगानी गर्नुपर्ने आवश्यकता छ ।
अर्को महत्वपूर्ण आयाम वित्तीय संरचना हो । कृषिमा कर्जा बढेको देखिन्छ, तर उत्पादन बढेको देखिँदैन । यसले के देखाउँछ भने कर्जा मात्र बढाएर कृषिमा प्रगति सम्भव छैन । जबसम्म आवश्यक पूर्वाधार, बीउबीजन, सिँचाइ र बजारको सुविधा हुँदैन तबसम्म कर्जा दिएर मात्रै पनि कृषिमा प्रगति हुँदैन । सरकारले सिँचाइ, बीउबीजनको उपलब्धता र बजारको प्रबन्ध गर्नु आवश्यक देखिन्छ । कृषिमा प्रभावकारी लगानीका लागि विशिष्टीकृत बैंकको आवश्यकता पर्छ । यस्तो बैंकमा केवल कर्जा प्रवाह मात्र होइन, प्राविधिक सहयोग, मल, बीउ, सिँचाइ, कोल्ड स्टोर, बजार व्यवस्थापनदेखि मूल्य ग्यारेन्टीसम्मको सम्पूर्ण चक्रलाई समेट्नुपर्छ ।
बैंकलाई अनिवार्य रूपमा कृषिकर्जा दिनुपर्छ भन्ने दबाब दीर्घकालीन समाधान होइन । बरु जसले सक्दैन, उसले कृषि विकास बैंक वा सरकारले स्थापना गर्ने विशिष्टीकृत बैंकलाई रकम उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ । यसो गर्न सकियो भने कृषि क्षेत्रले वित्तीय क्षेत्रलाई समेत सहज बनाउन सहयोग गर्छ ।
नेपालले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न कृषि, उद्योग र वित्तीय क्षेत्रबीचको सहकार्यलाई मजबुत बनाउनुपर्ने आवश्यकता छ । कृषि उत्पादनलाई उद्योगसँग नजोड्दासम्म अर्थतन्त्रलाई कृषि क्षेत्रले योगदान दिनै सक्दैन । कृषिलाई उद्योगमा जोड्ने, न्यूनतम समर्थन मूल्य तोक्ने, रसायन प्रयोगमा कडाइ गर्ने, भारतीय प्रभावलाई व्यवस्थित गर्ने, खानी र जडीबुटीलाई उपयोग गर्ने, रुग्ण उद्योग सुधार्ने, प्रविधि भित्र्याउने र विशिष्टीकृत कृषि बैंक स्थापना गर्नेजस्ता कामहरू तत्काल गर्न सकेको खण्डमा आजको भोलि नै त नभनौँ केही समयमा यसको नतिजा देखिन थाल्छ । यस्ता विषयहरूलाई सरकारले महत्व दिएर अघि बढ्नुपर्छ । यी सबै कदम समयमै चाल्न सके नेपाल केवल आत्मनिर्भर मात्र होइन, आयातमुखी अर्थतन्त्रबाट निर्यातमुखी अर्थतन्त्रको बाटोतर्फ अघि बढ्न सक्छ । आत्मनिर्भरता भनेको केवल उत्पादन बढाउने कुरा मात्र होइन, यो त किसानलाई सुरक्षा दिने, उद्योगलाई टिकाइराख्ने, वित्तीय क्षेत्रमा अनुशासन ल्याउने र राष्ट्रिय स्वाभिमानलाई मजबुत बनाउने बलियो आधार हो ।
- ज्ञानेन्द्र प्रसाद ढुंगाना (पूर्वअध्यक्ष, नेपाल बैंकर्स संघ)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्