Skip to content
LAXMI SUNRISE BANK

निष्क्रिय र हकदाबी नपरेका बैंक खाता

अर्थ सरोकार

हजुरबाले जम्मा गरेको पैसा नातिले कसरी पाउने ?

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११२ तथा नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको एकीकृत निर्देशन २०८१ को इ.प्रा. निर्देशन नं. १६/०८१ को बुँदा नं. ३(४) बमोजिम बैंक तथा वित्तीय संस्थामा विगत १० वर्षदेखि चल्ती नभएका वा हकदावी नपरेका निक्षेप खाताहरु सक्रिय गर्न वा नियमानुसार हकदावी गर्न आउनका लागि बैंक तथा वित्तीय संस्थाहरुले प्रत्येक ५ वर्षमा एक पटक राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नु पर्दछ ।

२० वर्षसम्म निक्षेप बुझ्न नआएको वा कसैको हकदावी पर्न नआएको रकम उल्लेखित व्यवस्था बमोजिम नेपाल राष्ट्र बैंकको ‘बैंकिङ विकास कोष’ मा जम्मा गरी बैंकिङ विकासमा प्रयोग गरिन्छ ।
सोही निर्देशनको बुदाँ नं. ३(३) बमोजिम १० वर्षदेखि शुन्य मौज्दात रही कारोबार नभएका खाताहरू सक्रिय नभएमा सो खाताहरू बैंकले बन्द गर्ने गर्छ । त्यस्ता खाताहरुको विस्तृत विवरण सम्बन्धित बैंकको वेबसाइटमा हेर्न सकिन्छ ।

भारतमा के छ व्यवस्था ?

यदि कसैको हजुरबा-हजुरआमा, बाबु-आमा वा परिवारको कुनै सदस्यले वर्षौं अघि बैंक खाता खोलेका थिए र पछि त्यसको प्रयोग गरेनन् भने त्यस्तो पैसा फिर्ता पाउने प्रक्रिया सजिलो पारिएको छ । अब परिवारको कुनै पनि सदस्य आवश्यक कागजात बोकी सजिलैसित दावी लिन सक्नेछन् ।

भारतभरि करोडौं रुपैयाँ यस्ता छन् जसमाथि वर्षौंदेखि कसैले दावी लिएका छैनन् । दावी लिन नसकेको सम्भावित कारण निम्न हुन सक्छ:

– जागिर परिवर्तन भएपछि खाता परिवर्तन गर्न बिर्सेका हुन सक्छन्

– परिवारको सदस्यको मृत्युपछि परिवारलाई उनको खाताबारे जानकारी नभएर हुन सक्छ

– यदि कुनै बैंक खाता १० वर्षसम्म निष्क्रिय रहन्छ भने बैंकले उक्त खातामा रहेको रकमलाई आरबीआईको डिपोजिटर एजुकेशन एण्ड अवेयरनेस फण्डमा पठाइदिन्छ । तर, त्यो पैसा खातावालको नै रहन्छ र त्यसमाथि जहिलेसुकै दाबी लिन सकिन्छ । यस प्रकारले राखिएको पैसा फिर्ता पाउनको लागि कुनै हदम्याद (समय सीमा) हुँदैन । साथै दाबी लिने प्रक्रिया पूर्ण रुपले डिजिटल र सजिलो पारिएको छ । तीन चरणमा दावी लिन सकिन्छ ।

पहिलो चरण: बैंक खाताबाट तपाईंले अनक्लेम्ड पैसा निकाल्नका लागि सबैभन्दा पहिला आरबीआईको वेबसाइटमा गएर सर्च गर्नुपर्छ कि कुनै पुरानो खाता तपाईंको नाममा वा परिवारको कुनै सदस्यको नामसँग सम्बन्धित छ/छैन । यसबाट तपाईंलाई यो पनि थाहा लाग्छ कि पैसा कुन बैंकमा थन्किएको छ र खाता कति समयदेखि निष्क्रिय छ ।

दोस्रो चरण: आरबीआईका अनुसार अनक्लेम्ड पैसा पाउनका लागि तपाईंको खाता जुन बैंकको शाखामा छ, तपाईंले सोही बैंकमा गैरहनुपर्ने आवश्यकता छैन । अब तपाईंले आफुलाई पायक परेको कुनै पनि बैंक शाखामा गएर क्लेम फारम भर्न सक्नुहुन्छ ।

तेस्रो चरण: आरबीआईको नियम अनुसार बैंकले तपाईंको तर्फबाट पेश गरिएका कागजातलाई पहिले जा“च गर्नेछ र प्रमाणिकरण पूरा भएपछि डिइए फण्डबाट सम्पूर्ण राशि तपाईंको खातामा स्थानान्तर गरिदिन्छ । यसमा कुनै खाले शुल्क लाग्दैन ।

अनक्लेम्ड पैसा झिक्नका लागि चाहिने आवश्यक कागजात:

– केवाइसी दस्तावेज । यसको लागि आधार कार्ड, मतदाता परिचयपत्र, राहदानी, सवारी चालक अनुमति पत्र र नरेगा कार्डमध्ये कुनै कागज ।

– नाति वा कुनै उत्तराधिकारीले क्लेम गर्छ भने अतिरिक्त कागजात जस्तै: मृत्युदर्ता प्रमाण–पत्र, नाता प्रमाण–पत्र, कानूनी उत्तराधिकार प्रमाणपत्र (लिगल हेर्शिप सर्टिफिकेट) पनि पेश गर्नुपर्ने आवश्यक हुन्छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लिंक्डइन पोष्टमार्फत् भारतवासीलाई सम्बोधन गर्दै अनक्लेम्ड डिपोजिट ७८ हजार करोड रुपैयाँ, बीमा कम्पनीमा १४ हजार करोड रुपैयाँ, म्यूचुअल फण्डमा करिब ३ हजार करोड रुपैयाँ र अनक्लेम्ड डिविडेण्ट ९ हजार करोड रुपैयाँ गरी १ लाख करोडभन्दा बढीको रकम अनक्लेम्ड रहेको हुँदा आफ्नो पुरानो बैंक खाता, बीमा पोलिसी, म्यूचुअल फण्ड र डिविडेण्डमा जम्मा भएको निष्क्रिय (बिर्सिएको) पैसा तत्काल फिर्ता लिन भनेका थिए ।

निष्क्रिय खाता र पोलिसीप्रति जनतालाई जागरुक गरी त्यस्तो रकम दावी गर्नका लागि अक्टुबर, २०२५ मा भारत सरकारको तर्फबाट http://af6 https://udgam.rbi.org.in पोर्टल सुरु गरी Your Money, Your Right अभियान चलाइ डिसेम्बर २०२५ सम्म बैंक, बीमा कम्पनी, रेगुलेटर र सरकारी विभाग मिलेर ४७७ जिल्लामा सञ्चालन गरेको क्याम्पको मद्दतले सरोकारवाला मानिसहरुले २ हजार करोड रुपैयाँ फिर्ता पाएका छन् ।

प्रधानमन्त्री मोदीले यो अभियानलाई विस्तारै विस्तृत गरिनुपर्छ भन्दै प्रत्येक भारतवासीसित अपिल गरे कि उनीहरु स्वयं र आफ्नो परिवारको पुरानो खाता, बीमा पोलिसी वा निवेश चेक गर्नु । बिर्सिएको पैसा फिर्ता आएपछि परिवारको लागि ठूलो अवसर हुन सक्दछ । यो केवल पैसा फिर्ता लिने कुरा मात्र नभएर यसको वास्तविक मकसद हरेक व्यक्तिलाई वित्तीय रुपले सशक्त बनाउनु, पारदर्शिता कायम राख्नु र कसैले पनि आफ्नो हक छोड्नु नपरोस् भत्रे हो ।

कुनै बेला भारतमा निर्वासित र हाल नेपालमा रहेका उनीह?का सन्ततिहरुले तथा भारतमै बसोवास भएका नेपालीका पूर्वजहरुको बिर्सिइएको त्यस्तो रकमबारेमा सम्बन्धित पोर्टलमा नाम रहेको यकिन गरी सरोकारवाला नेपालीहरुले हकदावी लिन सक्ने गरी बाटो खुलेको छ ।

नेपालको अवस्था

नेपालको बैंक तथा वित्तीय संस्थाहरुमा रहेका निष्क्रिय र हकदावी नपरेका बैंक खाताको के कति रकम आजसम्म नेपाल राष्ट्र बैंकले ‘बैंकिङ विकास कोष’ मा जम्मा भयो र राष्ट्र बैंकले के कस्ता बैंकिङ विकासको काममा प्रयोग गर्यो त्यो खुल्दैन । साथै, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ एवं नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा बैंकिङ विकासको परिभाषा गरिएको नहुँदा कस्तो विकासलाई बैंकिङ विकास भन्ने पनि खुल्दैन ।

वास्तवमा बैंकिङ विकास कोषमा रहेको पैसा खातावालको नै हुनुपर्ने हो र त्यसमाथि जहिलेसुकै दावी लिन सक्नुपर्ने हो किनभने त्यसरी राखिएको पैसा फिर्ता पाउनको लागि कुनै हदम्याद (समय सीमा) तोकिएको हुँदैन । तसर्थ, हजुरबाले जम्मा गरेको पैसा नातिले वा परिवारको कुनै पनि सदस्यले सजिलैसित कसरी पाउने सम्बन्धमा भएको व्यवस्थाबारे राष्ट्र बैंकको दृष्टिकोण/प्रष्टिकरण अपेक्षित छ ।

-अमर कुमार मल्लिक (लेखक अधिवक्ता हुन्)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK