Skip to content
LAXMI SUNRISE BANK

भारुसँगको स्थिर विनिमय दर परिवर्तन गर्ने बेला भएको हो ?

अर्थ सरोकार

काठमाडौँ । नेपालले आफ्नो मुद्रालाई भारतीय मुद्रासँग बाँधेर स्थिर विनिमय दर अंगालेको धेरै लामो समय भयो । त्यसो त नेपालले अहिलेसम्म अर्कोखालको विनिमय अभ्यास नै गरेको छैन । सन् १९६० मा पहिलो पटक भारतीय रुपैयाँ (भारु) १ सँग नेपाली १ रुपैयाँ ६० पैसामा स्थिर विनिमय दर कायम गरेको थियो ।

करिब ६ वर्षपछि सन् १९६६ मा भारु अमेरिकी मुद्रासँग निकै कमजोर भयो भनेर यो दर १.०१ रुपैयाँ कायम गरियो । त्यसको एक वर्षपछि नै सन् १९६७ मा यो दर १.३५ रुपैयाँ कायम गरियो । यसको कारण के थियो भने १.०१ दर कायम गर्दा नेपालको वैदेशिक व्यापारमा प्रतिस्पर्धी क्षमता ह्रास भयो भन्ने थियो । पछि विभिन्न समयमा विभिन्न कारणहरू देखाउँदै ५ पटकसम्म यो दर परिवर्तन भयो । इतिहास हेर्ने हो भने भारुसँग न्यूनतम विनिमय दर १.०१ रुपैयाँ र अधिकतम १.७० रुपैयाँ कायम भएको देखिन्छ । सन् १९८५ मा १.७० कायम हुँदा अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को संरचनागत समन्वय कार्यक्रममा आधारित भएर नेपाली मुद्रालाई अवमूल्यन गरिएको थियो । त्यसपछि सन् १९८६ मै १.६८, १९९१ मा १.६५ हुँदै सन् १९९३ देखि १.६० रुपैयाँ कायम छ, जुन दर अद्यापि कार्यान्वयनमा छ । अतः नेपालले तीन दशकभन्दा बढी समयदेखि आफ्नो मुद्रालाई भारतीय मुद्रासँग स्थिर राखेको छ । नेपालले यति लामो समयसम्म पनि विनिमय दर नचलाउँदा वा पुनरवलोकन नगर्दा बाहिरी दुनियाँका मानिसहरू पनि अचम्म मान्दछन् ।

बितेको ३ दशकमा राजनीतिक परिवर्तन पनि ३ पटकभन्दा बढी भयो भने देश र विदेशमा पनि थुप्रै खालका राजनीतिक र आर्थिक उतारचढावहरू आए । त्यसलाई सम्बोधन गर्न पनि विनिमय दरमा समसामयिक पुनरवलोकन हुनु आवश्यक थियो, जुन भएको छैन । नेपालकै सन्दर्भमा सन् १९९३ भन्दा अगाडिको अभ्यास हेर्दा पनि यो अलि अपरिपक्व र अव्यावहारिक नै देखिन्छ । तर्क पक्ष र विपक्ष दुवैमा सयौँ गर्न सकिए पनि लामो समयसम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय उतारचढावलाई ख्याल नगरिँदा नेपाली अर्थतन्त्र ज्ञात÷अज्ञात अप्ठ्यारा र अवसर दुवैबाट गुज्रिएको छ ।

लामो समयको स्थिर विनिमय दरले के राम्रो भयो र के नराम्रो भयो भन्ने सन्दर्भमा केही महत्वपूर्ण विषयहरू हेर्नुपर्दछ । पहिलो बजारको माग र आपूर्तिलाई पूर्ण बेवास्ता गरेर नेपाली मुद्राको विनिमय दर तय गरिएका कारण वास्तवमा हाम्रो मुद्राको यथार्थ विनिमय दर कति हो भन्ने आधार तय भएको छैन । भारु र अरु देशको मुद्राको विनिमय दर अनि नेपालको र भारतको स्थिर दर १.६० रुपैयाँलाई दाँजेर अमेरिकन र अरु मुद्राको दर तोक्दा नेपाली मुद्रा भारुको छायाँ मात्र भयो । यसले अन्तर्राष्ट्रियस्तरमा नेपाली मुद्राको स्थान तय गर्ने समयममा के हो, कसो हुने हो भन्ने आधार एकीन हुनै सकेको छैन । नेपालको जत्रो अर्थतन्त्र, जनसंख्या र बजारको छेउमा भएको अरु कुनै पनि अर्थतन्त्रले आफ्नो मुद्रालाई यसरी लामो समयसम्म स्थिर विनिमय दरमा झुन्डाएको देखिँदैन । यस्तो प्रवृत्तिले विदेशी मुद्राको व्यवस्थापनमा सजिलो भए पनि धेरै विषयमा अप्ठ्यारो पारेको छ ।

सजिलो हिसाबले आकलन गरेर विनिमय दरको उतारचढाव हुन्छ भन्ने आधारमा आन्तरिक व्यापार गर्न चाहनेहरूका लागि पनि सजिलो भएको छैन, अप्ठ्यारै भएको छ । यसले अर्थतन्त्रमा राम्रै गरेको छ भन्ने पनि लाग्दछ । अर्थात् विगतमा छिटो छिटो दर परिवर्तन हुँदा हेरफेरका आधार आकलन गरेर नाफा कमाउने प्रवृत्ति देखिन्थ्यो, जुन अहिले छैन किनभने दर जति बढी उतारचढाव भयो, त्यति नै धमिलो पानीमा माछा मार्नेहरूलाई सजिलो हुन्छ । त्यो मौका नेपालको विनिमय प्रणालीले दिएको छैन । अर्थात्, विनिमय दर स्थिर हुँदा मुद्रासँग सम्बन्धित सटही व्यापारबाट अनावश्यक लाभ उठाउने अवसर घटेको देखिन्छ । त्यसैले, विनिमय प्रणाली आज जति छ, त्यति नै भोलि, पर्सि अथवा ६ महिना या अर्को निर्णय नभएसम्म निरन्तर भइरहन्छ भनेपछि त्यो खालको जोखिम व्यवस्थापन गर्ने प्रवृत्ति कम हुन्छ । यसले मुद्रासँग सम्बन्धित कारोबारलाई स्थायित्व दिएको छ । नीतिनिर्माणका हिसाबले यस्तो स्थिरता रहनु सकारात्मक हो ।

अर्को कुरा, नेपालको व्यापारको ठूलो हिस्सा भारतसँग हुने भएकाले भारुसँग स्थिर विनिमय दर हुँदा आयात र निर्यात दुवै कारोबारमा सुविधा मिलेको छ । व्यापारीहरूलाई लेनदेन अनुमान गर्न सजिलो भएको छ । तर, लामो समयदेखि एउटै स्थिर विनिमय दर प्रणालीका कारणले भारु अमेरिकी डलरसँग पूर्ण रूपमा संरक्षित छ । अमेरिकन डलरसँग नेपाली मुद्रा पनि एकखालले तुलना गर्छौं । तर, त्यो तुलना भारुको अवस्थासँग गर्नुपर्ने भएको छ । भारु अमेरिकी मुद्राको तुलनामा कमजोर भयो भने नेपालको मुद्रा पनि स्वतः कमजोर हुने भयो किन कि नेपाल र भारुसँगको दर एउटै छ । कुनै कारणले भारु अमेरिकी मुद्रासँग बलियो भयो भने नेपाली मुद्रा पनि विना कारण बलियो हुन जान्छ ।

नेपालको अर्थतन्त्र र भारतको अर्थतन्त्रको विशेषताहरू फरक फरक छन् । भारतीय अर्थतन्त्र बलियो हुँदा नेपालको अर्थतन्त्र कमजोर भएको पनि हुन सक्छ र ठीक उल्टो नेपाली अर्थतन्त्र बलियो हुँदा भारतीय अर्थतन्त्र कमजोर भएको पनि हुन सक्छ । तर, भारुसँग स्थिर विनिमय दर भएको हुनाले भारतीय मुद्रा बलियो हुँदा नेपालले पनि जबर्जस्ती बलियो मुद्रा भारवहन गर्नुपर्छ, चाहे नेपाली अर्थतन्त्र त्यसको लायक होस् या नहोस् !

अनि नेपालको मुद्रा बलियो भएको बेला भारु डलरको तुलनामा कमजोर हुन सक्छ, त्यो अवस्थामा पनि हाम्रो मुद्रा कमजोर ठहरिनुपर्ने हुन्छ । त्यसैले, त्यो दुईवटै अवस्थामा नेपालको अर्थतन्त्रमा सकारात्मक र नकारात्मक प्रभावहरू देखिन्छ । भनेपछि हाम्रो अर्थतन्त्र कमजोर रहेको तर मुद्रा बलियो भइरहेको अवस्थामा मुद्राको मूल्यवृद्धि भएको भन्ने बुझिन्छ । जब मूल्यवृद्धि भएको हुन्छ, तब भारुको कारणले अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रा त्यसै बलियो हुन्छ । अकारण नेपाली मुद्रा बलियो भएपछि निर्यात महँगो पर्छ, जसकारण अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुहरू महंगा पर्ने भए । महंगो पर्ने हुनाले नेपालको निर्यात प्रभावित हुन्छ र एउटा व्यापारको प्रतिस्पर्धात्मक लाभ गुमाउने स्थिति आउँछ ।

मुद्रा सस्तो र मूल्य ह्रास भएको बेला नेपालजस्तो आयातबाट चलेको अर्थतन्त्र कमजोर हुँदा धेरै मुद्रा तिरेर विदेशी वस्तु आयात गर्नुपर्ने स्थिति आउँछ । त्यसैले, हाम्रो मुद्रा वास्तविकताभन्दा मूल्यवृद्धि‍ हुनु पनि ठीक छैन र मूल्यह्रास हुनु पनि ठीक छैन । दुवै अवस्थाले अर्थतन्त्रमा दबाब सिर्जना गर्दछ । स्थिर विनिमय प्रणालीमा भएका यस्ता समस्या समय–समयमा देखा परिरहन्छन् । त्यसबाट हाम्रो अर्थतन्त्रलाई घाटा पुग्छ । बितेका ३ दशकयता हामीले यस्ता दुवै प्रवृत्तिका समस्या थाहा नपाई पटक–पटक व्यहोर्दै आएका छौँ । अर्कोतर्फ, यो व्यवस्थाले भारतबाहेक अरु देशसँग गरिने व्यापारलाई थप अप्ठ्यारो पारिरहने भयो । त्यसैले भारतसँगको निर्भरता सजिलोसँग घटेको छैन । त्यसैले, व्यापारिक हिसाबले हेर्दा अहिलेको स्थिर विनिमय दरलाई परिमार्जन अथवा पुनरवलोकन गर्नुपर्ने बेला भएको छ ।

अवधारणा

कुनै एउटा मुद्रासँग आफ्नो देशको मुद्रालाई निश्चित मूल्यमा बिक्री गर्ने कुरा स्थिर विनिमय दर हो । जस्तो, अमेरिकी डलर सधैँभरिलाई यति हुने भनेर ‘फिक्स’ गरेर एउटै मुद्रासँग स्थिर ग¥यो भने त्यो स्थिर विनिमय प्रणाली हो । 

स्थिर विनिमय प्रणाली ७० को दशकमा व्यापक थियो । तर, सन् १९७३–७४ पछि धेरै देशहरूले यो प्रणाली त्यागेर चलायमान विनिमय दर (स्वतन्त्र र चलायमान) प्रणाली अपनाएका छन् । हाल विश्वका सीमित ४/५ देश मात्र स्थिर विनिमय प्रणालीमा अडिएका छन् । अधिकतर देशको मुद्रा परिवर्तनशील विनिमय दरमा आधारित छन् ।

नेपालमा पछिल्लो पटक सन् १९९३ मा तय गरेको भारु १ सयको नेपाली १ सय ६० रुपैयाँ तोकिएको स्थिर विनिमय दर नै प्रचलनमा छ । त्यतिबेला राष्ट्र बैंकले त्यो निर्णय गर्नुको कारण स्थिर विनिमय दरले नेपालको अर्थतन्त्रमा धेरै खालका अस्थिरताहरूलाई नियन्त्रण गर्न सहयोग गर्छ भन्ने थियो । अनि हाम्रो नियमन प्रणालीलाई सजिलो बनाउँछ भन्ने थियो ।

स्थिर विनिमय दरमा आफ्नो मुद्राको निश्चित दर सम्बन्धित मुद्रासँग हुन्छ भने परिवर्तनशील विनिमय दर हरेक दिन, हरेक घण्टा, हरेक मिनेट र हरेक सेकेण्डमा एउटा मापदण्डअनुसार परिवर्तन भइरहन्छ । घटबढ भइरहन्छ । अर्थात् सम्बन्धित बजारमा सम्बन्धित मुद्राको माग र आपूर्तिका आधारमा विनिमय दर निर्धारण हुन्छ । अन्तर्राष्ट्रिय व्यापारको हिस्साले मुद्राको माग घटबढ भएअनुसार मुद्राको मूल्य तय हुन्छ ।

मूलरूपमा आर्थिक वृद्धिमा प्रभाव पार्ने माध्यम भनेको विनिमय दरको कारणले अन्तर्राष्ट्रिय व्यापारमा हो । यदि हाम्रो मुद्रा अनायासै वा अकारण परिपक्व नभई मूल्यवृद्धि भएको छ भने त्यसले व्यापारिक निरन्तरतालाई घटाउँछ र गर्नुपर्ने जति व्यापार गर्न सकिँदैन । त्यसले निर्यातलाई हतोत्साहित बनाउँछ भने आयातलाई उत्साहित गराउँछ । मूल्यह्रास भयो भने ठीक उल्टो हुन्छ किनभने हाम्रो मुद्रा अरु मुद्राको तुलनामा कमजोर हुन्छ र हाम्रो उत्पादन अन्तर्राष्ट्रिय बजारमा सस्तो पर्छ । जसले गर्दा हाम्रो उत्पादन बाहिरी बजारमा बिक्न सक्थ्यो । त्यो बिक्री नहुनुको कारणले जति उत्पादन गर्नु सकिने हो, त्यति उत्पादन हुँदैन वा सक्दैनौँ । चाहेजति उत्पादन नहुनुको अर्थ हाम्रो देशमा रोजगारी सिर्जना भएन । नभएपछि युवाहरू विदेशिन थाले, जसको प्रत्यक्ष असर देशको उत्पादनमा प¥यो र उत्पादन घट्न थाल्यो । यसले माग पनि घट्न थाल्यो किन कि मान्छे नभएपछि उत्पादनको माग पनि घट्यो र वस्तु भाउको मूल्य पनि घट्ने भयो । उत्पादन भएका वस्तुहरू बजारमा जाने भएनन्, निर्यात हुन सक्ने भएनन् ।

एकातिर मूल्यमा प्रतिस्पर्धी हुन नसक्दा उत्पादित वस्तु विदेशी बजारमा जान नसक्ने भयो भने अर्कोतिर विदेशी बजारमा वस्तु जान नसक्ने भएपछि नेपालमा उत्पादन गर्नुको अर्थ पनि भएन । नेपालमा उत्पादित वस्तुभन्दा विदेशमा उत्पादित वस्तु ल्याएर नेपालमा प्रयोग गर्दा सस्तो पर्ने भयो । जसले गर्दा नेपालमा उत्पादनजन्य कामहरू हुने भएनन् । काम नहुँदा रोजगारी गुम्ने भयो । रोजगारी गुमेपछि मानिसहरूको आयस्तर घट्ने भयो । काम नभएपछि मानिसहरू विदेश पलायन हुने भए । यसले गर्दा नेपालका संघ÷संस्थाहरू चल्ने भएनन् । नेपालका वस्तुहरू खपत हुने भएनन् । औसत माग पनि घट्ने भयो । औसत माग घट्नेबित्तिकै आर्थिक क्रियाकलाप रोकिने भयो । आर्थिक क्रियाकलाप रोकिँदा राजस्व कम उठ्ने भयो । राजस्व कम उठ्नेबित्तिकै सरकार कमजोर हुने भयो । यसले गर्दा राष्ट्रको अस्तित्वमा नै प्रश्न उठ्ने अवस्था देखिन सक्छ । यसतर्फ हामी सजग हुनुपर्छ । यद्यपि यो विनिमय दरको कारणले मात्रै भएको हैन तर पर्ने समस्याहरू यिनीहरू नै हुन् ।

स्थिर विनिमय दरका कारण मुद्राको मूल्य बढेको वा ह्रास भएको आधारमा विदेशी विनिमय सञ्चिति प्रभावित हुन्छ । उदाहरणका लागि, हाम्रो मुद्रामा मूल्यह्रास भएको बेलामा सारा नेपाली बाहिर गए भने रेमिट्यान्स आइराखेको छ, विदेशी मुद्राको सञ्चितिमा त राम्रै प्रभाव प¥यो । तर, त्यसो हुनुको सट्टा हामीले यहाँ नै उत्पादनजन्य कामहरू बढाएर वस्तु निर्यात गरेर रेमिट्यान्स ल्याउन सकेको भए त्यसले अहिलेभन्दा धेरै राम्रो प्रभाव अर्थतन्त्रमा पाथ्र्यो र देशले विकासको गतिमा फड्को मार्न सक्थ्यो । यसले मुद्रा पनि बचत हुन्थ्यो किनभने वस्तु र सेवा बेचेर आउने मुद्रा त एउटै हो । तर, वस्तु तथा सामग्री बेच्दा आफ्नो देशमा रोजगारी पनि सिर्जना हुन्थ्यो । त्यसले गर्दा औसत माग पनि बढ्थ्यो । तर हामीले त्यो नगरेर युवाको श्रम विदेशमा बेचेर आएको पैसा ल्यायौँ । पैसा त हामीसँग भयो तर, औसत माग बढेन । जसले गर्दा अर्थतन्त्रमा अर्कोखालको समस्या देखिने भयो । त्यसैले स्थिर विनिमय दरमा पुनरवलोकन गर्नुपर्ने अवस्था छ किनभने विदेशी मुद्राको सञ्चिति बढेर पनि अर्थतन्त्र एकखालको संकुचनमा छ । आर्थिक गतिविधिहरू बढेको छैन । बजार चलायमान देखिदैन । बजारमा चहलपहल छैन । राजस्व बढेको छैन । राजस्व नबढ्नुले नै अर्थतन्त्रको संकुचन दर्शाउँछ ।

स्थिर विनिमय दर नै कायम गर्ने हो भने पनि अहिलेको बजारलाई सुहाउँदो गरी दरलाई पुनः समायोजन गर्नुपर्छ । १ सय ६० रुपैयाँको ठाउँमा १ सय ७० रुपैयाँ गर्नुपर्ने हो कि वा घटाएर १ सय ४० रुपैयाँ गर्नुपर्ने हो, त्यो पुनरवलोकन समय–समयमा गर्नुपर्छ । त्यसो भएमा हाम्रो व्यापारमा पनि सजिलो हुन्छ । नोटको प्रशासनिक प्रणालीमा पनि सरलता ल्याउँछ र लामो समयको गुमराहमा रहनुपर्ने समस्या हट्छ । अर्थात् अहिलेको स्थिर विनिमय प्रणालीको बिकल्पमा सोच्ने र बहस गर्ने बेला भएको छ । एउटा विधिमा टेकेर आयात र निर्यात दुवैमा सजिलो हुन सक्ने गरी विनिमय दर प्रणालीको व्यवस्थापन गर्न सकिन्छ । अथवा निर्देशित परिवर्तनशील वा समन्वय गरिएको स्थिर विनिमय दरमै पनि जान सकिन्छ । 

सामान्यतया मुद्राको मूल्यवृद्धि भएको बेला धेरै वस्तु तथा सेवा आयात गर्ने, ठूला–ठूला कम्पनीहरू स्थापित गर्ने र मेसिनहरू मगाउनुपर्ने हुन्छ । निर्यात भने मुद्राको मूल्यह्रासले सजिलो बनाउँछ । खुला विनिमय दर प्रणाली अपनाउँदा प्रशासनिक मामिलाको हिसाबले अप्ठ्यारो हुनसक्छ । तर, मुद्राको वास्तविक मूल्यांकन त्यति बेला थाहा हुन्छ, जसले हाम्रो व्यापारमा सजिलो हुन्छ । यसको अर्थ व्यापारको प्रतिस्पर्धात्मक लाभ लिन पनि मुद्रालाई समय समयमा अनुकूल हुने गरी परिमार्जन गर्नुपर्छ ।

अब के गर्ने बेला आयो ?

सामान्यतया भोलिका दिनमा मुद्राको मूल्यवृद्धि हुन्छ भन्ने विश्वास भयो भने मानिसहरूले भोलिको नाफा हेरेर अहिले नै लगानी गर्छन् । भोलिको दिनमा मूल्यह्रास हुन्छ भन्ने हो भने त्यही समय कुरेर बस्छन् । अहिले लगानी गर्न मानिसहरू आउन खोज्दैनन् । अँध्यारोमा हिँड्दा कहिलेकाहीँ ठेस लाग्छ नि ! अहिलेको स्थिर विनिमय दर अन्धाधुन्ध चलेको हुनाले लगानीकर्ताहरू सन्तुष्ट हुनसकेका छैनन् र राम्रो समय कुरेर बसेका हुन सक्छन् ।

त्यसैले स्थिर विनियम दरले लगानीमा पनि असर गरेको छ । अबका दिनमा नेपाली रुपैयाँको भाउ बढ्छ भन्ने भयो भने अहिले लगानी गर्न पाए पो भोलिका दिनमा धनी हुन पाइन्छ भन्ने भावना पलाउँछ र लगानीकर्ता आकर्षित हुन्छन् । तर, हामीले त्यो मौका जुराउन सकेका छैनौँ । त्यसैले नेपाली मुद्राको लागत के हो भन्ने जान्न पनि तीन दशक हाराहारीमा रहेको स्थिर विनिमय दरलाई पुनरवलोकन गर्नुपर्छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्राको वास्तविक हैसियत थाहा पाउन पनि आवश्यक छ । त्यसले मुद्राप्रति विश्वास पनि बढ्छ । अतः लामो अवधिको एउटै स्थिर विनिमय दरका कमजोरीहरूमाथि टेकेर पूर्ण रूपमा परिवर्तनशील गर्न नसके पनि लचकदार, आंशिक चलायमान, समायोजित स्थिर विनिमय दर प्रणाली अपनाउनु उचित हुन्छ । विभिन्न कार्यपद्धतिमा टेकेर नेपालको मुद्रालाई पुनरवलोकन गर्नुपर्ने बेला भएको छ ।

-डा. रमेश पौडेल (पौडेल राष्ट्रिय योजना आयोगका पूर्वसदस्य र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक हुन् ।)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK