नेपालमा जलविद्युत्को उत्पादनयोग्य क्षमता ४२ हजार मेगावाट हाराहारी छ । आर्थिक र प्राविधिक रुपमा माइक्रो हाइड्रोपावरबाट १०० मेगावाट, वायु ऊर्जाबाट ३ हजार मेगावाट र सौर्य ऊर्जाबाट २१०० मेगावाट विद्युत् उत्पादन गर्न सकिने एक अध्ययनले देखाएको छ ।
नेपालमा जलविद्युत् आयोजनाको विकाससँगै ऊर्जा सुरक्षालाई पनि उत्तिकै ध्यान दिइएको छ । ऊर्जा खपत, ऊर्जा सुरक्षा र जलवायुमैत्री विकासलाई आर्थिक वृद्धिसँग जोडेर हेर्ने गरिएको छ । यो त्रिकोणात्मक रुटबाट हेर्दा दिगो विकासको आधार जलविद्युत् क्षेत्र देखिएको छ ।
वर्तमान स्थिति
अहिले नेपालको राष्ट्रिय प्रणालीमा ३ हजार ६ सय मेगावाट बिजुलीको जडित क्षमता छ । वर्षायामको ४ महिना पर्याप्त बिजुली हुन्छ । कतिपय ठाउँमा त बिजुली खेर (स्पिल) गइरहेको पाइन्छ । वर्षायाममा ६÷७ सय मेगावाट बिजुलीे छिमेकी मुलुक भारत निर्यात हुने गरेको छ भने हिउँदमा अपुग बिजुली भारतबाट आइरहेको छ ।
नेपालको राष्ट्रिय प्रणालीमा जडित प्रायः बिजुली अधिकांश नदी प्रवाहमा आधारित (रन अफ दि रिभर) प्रकृतिका जलविद्युत् आयोजनाबाट उत्पादन भएको हो । सरकारले २०७२ मा (म आफैँ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा) ९९ बुँदामा ऊर्जा संकट निवारणकाल र ऊर्जा विकास दशक भनेर निकै व्यावहारिक र बजेटरी कार्यक्रम अघि बढायो । नयाँ जलविद्युत् आयोजनाहरू क्रमशः विकास गर्ने र १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखियो । त्यसमध्ये ४०–५० प्रतिशतसम्म स्टोरेज वा पम्प स्टोरेज, २५–३० प्रतिशत पिकिङ रन अफ दि रिभर (पीआरओआर), २०–२५ प्रतिशत रन अफ दि रिभर (आरओआर) र ५–१० प्रतिशत वैकल्पिक ऊर्जा (सौर्य र वायु) परियोजनाहरू विकास गर्ने लक्ष्य राखिएको थियो ।
तदनुरुप काम भएको भए ऊर्जा सुरक्षा, सन्तुलनको सुनिश्चितता, वातावरणमैत्री विकास र आन्तरिक माग पूरा गर्न सक्षम हुने अवस्था रहन्थ्यो । तर, दशक सकिँदा लक्ष्यभन्दा दुई तिहाइ कम विद्युत् राष्ट्रिय प्रणालीमा जोडियो ।
बनेनन् जलाशययुक्त आयोजना, इनर्जी मिश्रणको चिन्ता
इनर्जी मिश्रणका हिसाबले नेपाल धेरै पछाडि परिसकेको छ । जलविद्युत्जस्तो रणनीतिक वस्तुमाथि पनि राजनीतिकरण भएको छ । सुरुवातमा ४०–५० प्रतिशत जलाशययुक्त जलविद्युत् आयोजनाको परिकल्पना गरे पनि स्वार्थसमूहको दबाबमा सरकारले २५–३० प्रतिशतमा सीमित ग¥यो । जलाशययुक्त आयोजनाहरू घटाई आरओआर प्रकृतिका आयोजनाहरूको अनुपात बढाउँदै लगियो । अहिले पनि ५० प्रतिशतभन्दा बढी जलविद्युत् आयोजनाहरू आरओआर प्रकृतिका छन् । विद्युत् खरिद सम्झौता (पीपीए) गरेका र निर्माणचरणमा रहेका करिब २० हजार मेगावाट क्षमताका आयोजनाहरू आरओआर प्रकृतिका छन् । यसले इनर्जी मिश्रणको चिन्तालाई बढाइरहेको छ ।
पहिचान गरिएका कुनै पनि जलाशययुक्त विद्युत् आयोजना विकास हुनसकेको छैन । कर्णाली चिसापानी, कोशी उच्च बाँधजस्ता ठूला प्रकृतिका जलविद्युत् आयोजनाहरू अन्य देशसँगको सहकार्यमा कसरी अघि बढाउने भनेर विगतमा छलफलहरू भए । खासगरी भारतसँगको सहकार्यमा ती जलविद्युत् आयोजना विकास गर्न सकिन्छ कि भनेर वर्षौँदेखि छलफल भए तर कुनै टुंगोमा पुग्न सकिएन ।
अर्कोतिर, आन्तरिक स्रोत परिचालन गर्दै कतिपय जलविद्युत् आयोजनाहरू निर्माणमा लैजान सकिने खालका थिए । बूढीगण्डकी, दूधकोशी, माथिल्लो अरुण, तमोर र उत्तरगंगाजस्ता महत्वपूर्ण ठूला तथा जलाशययुक्त जलविद्युत् आयोजनाहरू स्वदेशी पुँजीमा बनाउने भने पनि अहिलेसम्म प्रगति भइरहेको छैन ।
शक्तिशाली निजी क्षेत्र, निरीह सरकार
विद्युत् उत्पादनमा अहिले पनि निजी क्षेत्र सरकारभन्दा अघि छ । विद्युत् वितरणलाई पनि भारतमा जस्तो कम्पनी बनाएर जिम्मा दिने र विद्युत् व्यापार गर्न निजी क्षेत्रलाई खुला गरिदिनुपर्छ भन्ने आवाज उठिरहेको छ । निजी क्षेत्रले आफ्नो बजार आफैँ खोजेर विद्युत् व्यापार गर्छ भन्ने भनाइ छ । प्रतिस्पर्धी बजारमा निजी क्षेत्रलाई बन्देज लगाएर ऊर्जा क्षेत्रलाई संकुचनमा राख्नुहुँदैन । सरकारले खासगरी नीति बनाइदिने र मुख्य समस्या आउँदा हस्तक्षेप गरेर समाधान खोजिदिने मात्र हो ।
जलविद्युत्मार्फत देशको गरिबी न्यूनीकरण गर्ने र देशको आर्थिक वृद्धि हासिल गर्ने उद्देश्यमा सरकार केन्द्रीकृत हुनुपर्छ । तर, सरकार उद्देश्यलाई पन्छाएर खालि घरघरमा बिजुली पु¥याउने विषयमा ध्यान दिइरहेको छ । कुनै बेला एक चरणमा त्यो काम पनि महत्वपूर्ण कामभित्र पथ्र्यो तर अहिले त्यसतर्फ लागिरहनु आवश्यक छैन । आज कुनै एक जलविद्युत् आयोजना निर्माण सुरु गरियो भने सम्पन्न हुन झण्डै अर्को १० वर्ष लाग्छ । त्यसकारण विगतको लोकरिझ्याइँले समग्र ऊर्जा क्षेत्र अर्को एक दशक पछाडि धकेलिएको छ ।
अबको एक दशकपछि निजी क्षेत्र आन्तरिक रुपमा धेरै शक्तिशाली हुने देखिन्छ । त्यो बेला निजी क्षेत्रकै दबाबमा नीति बनाउनुपर्ने खतरा हुनसक्छ । चालू बजेटमा ल्याइएको ‘टेक एन्ड पे’को व्यवस्थालाई यसको ‘ट्रेलर’का रुपमा लिन सकिन्छ । समग्र ऊर्जा क्षेत्रका समस्या समाधान गर्र्न सरकार हिच्किचाइरहेको वा निरीह देखिएको छ । निजी क्षेत्र बलियो हुँदैमा डराउनुपर्छ भन्ने होइन । तर, जलविद्युत् क्षेत्रको विकास गर्न राज्य वा सरकार आफैँ बलियो हुनुपर्छ । जलविद्युत्को विकास गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ । मेरो कार्यकालमै १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा लगिएको थियो । त्यसबाहेक अन्य जलाशययुक्त आयोजना निर्माण प्रक्रिया अघि बढ्नसकेको छैन । समग्रतामा अहिले जलविद्युत् क्षेत्र पूर्ण रूपमा ‘कन्स्ट्रक्सन एन्ड जेनेरेसन होलिडे’को अवस्थामा पुगेको छ । तर, सरकारले ठोस योजना ल्याउन सकेको छैन ।
अहिले प्राधिकरणले निजी क्षेत्रद्वारा उत्पादित विद्युत्को तथ्यांक देखाएर वर्षैपिच्छे प्रगति विवरण देखाइरहेको छ । सरकारले सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । सपना देख्नु र योजना बनाउनु आफैँमा राम्रो हो, त्यसको विरोध गर्नु आवश्यक छैन । अब त पछिल्लो दश वर्षमा भएको जलविद्युत् क्षेत्रमा भएको कामको पुनरवलोकन (रिभ्यु) गर्नुपर्ने बेला भएको छ ।
पहिचान भएका तर निर्माणकार्य सुरु हुन नसकेका जलविद्युत् परियोजनाहरू:

स्रोत: ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र सरोकारवाला निकाय
अस्थिर विकास नीति र ऊर्जा सुरक्षामा चुनौती
अहिलेसम्म जलविद्युत् क्षेत्रमा खर्बौँ लगानी भइसकेको छ । ऊर्जा विकास मार्गचित्र–२०२५ को कार्यान्वयन गर्न अझै ६१ खर्ब चाहिने आकलन छ । त्यो पुँजी लगानी कहाँबाट जुटाउने भन्ने चुनौती कायमै छ ।
राज्यका नीतिहरू जस्तै ः परराष्ट्र नीति, जलस्रोत र विकाससम्बन्धी नीतिहरू त स्थिर हुनुपर्ने हो । तर, अस्थिर राजनीतिकै कारणले नयाँ मन्त्री आउनेबित्तिकै नयाँ नीति र कार्ययोजना बनाउने परिपाटीले निरन्तरता पाइरहेको छ, जुन गलत छ । हामीले कागजमा धेरै नीतिहरू बनायौँ तर कार्यान्वयनका क्रममा नीतिहरू परिवर्तन हुँदै गएका कारण अहिले समस्या निम्तिएको छ ।
राज्यले प्रसारण तथा वितरण प्रणालीलाई आफ्नो पहुँचमा राख्नुपर्छ । रणनीतिक महत्व र ऊर्जा सुरक्षाका हिसाबले संवेदनशील विषयका रुपमा रहेका प्रसारणलाइन निर्माण र विकास गर्दै सरकारमातहत राख्ने व्यवस्था हुनुपर्छ । २०७२ मा २०८२ सम्म दश हजार मेगावाट विद्युत् उत्पादनको प्रक्षेपण भए पनि अहिले मुस्किलले ३ हजार ६ सय मेगावाट मात्र उत्पादन भएको छ । राज्यका नीतिहरू यो दश वर्षमा विकासमैत्री हुन सके कि सकेनन् ? र, अर्को दश वर्षमा ती नीतिहरू विकासमैत्री हुन्छन भन्ने ग्यारेन्टी के ? त्यो कुरा सरकारले प्रस्ट पार्नुपर्छ ।
विद्युत् खपत र त्यसका फाइदा
पछिल्लो समय नेपालमा ऊर्जा खपतको विषयले निकै ठाउँ पाइरहेको छ । २०३५ सम्म १३ हजार ५ सय मेगावाट आन्तरिक खपत गर्ने, १० हजार मेगावाट भारतलाई बेच्ने र ५ हजार मेगावाट बंगलादेशलाई बेच्ने भनिएको छ । तर, ५ हजार मेगावाट बंगलादेशलाई बेच्न कसरी सम्भव होला ? त्यसको ‘जस्टिफाइ’ सरकारले गर्नसकेको छैन । अहिले मुस्किलले पनि १ हजार मेगावाट बिजुली भारतलाई बेच्न सकिएको छैन भने अबको १० वर्षमा १० हजार मेगावाट निर्यातको सपना कसरी पूरा होला ?
भारतले किन्छु भने पनि प्रसारण तथा वितरणलाइन स्थिर हुँदा पर्याप्त बिजुली निर्यात गर्न सक्ने अवस्था छैन । सरकार र नेतृत्वमा बस्नेहरूमा दीर्घकालीन दृष्टिकोण नहुँदा एक कदमअघिको विकासको गति देख्न पाइएन । अस्थिर राजनीतिका कारण मन्त्रिपिच्छेका नीति तथा योजनाहरू (मुलुक र देशका लागि भन्दा पनि आफू र आफ्नो स्वार्थपूर्ति)को भारी मुलुकले बोक्नु परिरहेको छ ।
सरकार घरमा बिजुली बाल्ने विषयमा मात्रै केन्द्रित हुने हो भने अरु आयोजनाहरू नबनाए पनि हुन्छ । उद्योग तथा कलकारखानाले मागेजति बिजुली पाउनसकेका छैनन् । तसर्थ, सरकारले उत्पादित बिजुलीलाई विविधीकृत (डाइभर्सिफाइड) गर्नुपर्छ । जलविद्युत्मार्फत नै मुलुकले रोजगारीको अवसर सिर्जना गर्ने हो र उत्पादकत्व बढाउने हो । कृषि क्षेत्रका लागि सिँचाइ र पम्प बोरिङजस्ता प्रविधिको उपयोग बढाउँदै आन्तरिक रुपमा विद्युत्को खपत बढाउन सकिने धेरै क्षेत्रहरू छन् । यसपालि तराईमा धेरै सुख्खा भयो । कतिपय क्षेत्रमा विद्युतीकरण नभएकाले सिँचाइ भएन । विद्युतीकरण नहुँदा कृषिको उत्पादन र उत्पादकत्वमा समेत प्रभाव परिरहेको छ ।
एक अध्ययनअनुसार नेपालले ९ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको खण्डमा सन् २०४० सम्ममा ४२ हजार मेगावाट बिजुली आन्तरिक रुपमा नै खपत हुने देखिएको छ । त्यसैले मुलुकको पहिलो प्राथमिकता विद्युत्को आन्तरिक खपतमै केन्द्रित हुनुपर्छ । एक युनिट बिजुली आन्तरिक बजारमा बेच्न सकियो भने पनि त्यसले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ३९ सेन्ट अर्थात् ५५ देखि ६० रुपैयाँबराबरको योगदान दिन्छ । त्यही एक युनिट बिजुली भारतमा बेच्दा ४ रुपैयाँ प्राप्त हुने हो । नेपालमा भने भारतलाई यति अर्बको बिजुली बेचेको भनेर हल्ला गरिन्छ । तर, त्यतिबेला सोही परिमाणको बिजुली आयात भइरहेको छ भन्ने बिर्सिन्छौँ ।
विद्युत् प्राधिकरण कहाँ चुक्यो ?
विद्युत् प्राधिकरणले बिजुली बेचेर आम्दानी गर्ने र नाफा कमाउने हो । प्राधिकरणले जति धेरै बिजुली बेच्न सक्छ, त्यति धेरै आम्दानी गर्ने हो । हिजो प्राधिकरणले ५० अर्बको बिजुली बेच्दा जति फाइदा गथ्र्यो । अहिले एक खर्बको बिजुली बेच्दा आम्दानी स्वतः बढ्ने अवस्था बनेको छ ।
प्राधिकरणले विद्युत् चुहावट घटाउनुपर्नेछ । अनुत्पादक क्षेत्रमा खर्च घटाउनुपर्नेछ । एकातिर प्राधिकरण नाफामा छ भनिएको छ । तर, अर्कोतिर ५० अर्ब रुपैयाँ बक्यौता छ । प्राधिकरणको वासलातमा नाफा देखिन्छ । तर, बक्यौता उठाइएको छैन । सम्पूर्ण करकट्टी गरेपछि मात्र बाँकी रहेको रकम नाफा हुने हो । सार्वजनिक खपतका लागि र सस्तो लोकप्रियताका लागि जे पनि भनिदिने प्रवृत्ति बढेको छ । भित्र–भित्र प्राधिकरण कतै खोक्रो भइसकेको त छैन भन्ने आशंका जन्माएको छ ।
अझै पाँच वर्ष भारतबाट बिजुली आयात नगरी नहुने स्थिति छ । हिउँदमा अपुग हुने बिजुलीका लागि स्टोरेज परियोजना बनाएर स्वदेशमै विद्युत् खपत गर्नुपर्छ । हुन त पहिल्यै १÷२ वटा स्टोरेज प्रोजेक्टहरू निर्माण सुरु गरेको भए अहिलेको अवस्था आउने थिएन । त्यतिबेला नै ढल्केबर मुजफ्फरपुर ४०० केभी प्रसारणलाइन दीर्घकालीन सोचसहित निर्माण सुरु नगरेको भए अहिले पनि नेपालमा लोडसेडिङ कायमै रहन्थ्यो । विद्युत् निर्यात त कल्पनाबाहिरको कुरा हो ।
राज्यको लगानीमा ढल्केबर प्रसारणलाइन बनेपछि मात्र बिजुली आयात र निर्यात गर्न सम्भव भएको हो । स्पष्ट दृष्टिकोण र भिजनका कारण ढल्केबर प्रसारणलाइनले आगामी ५०औँ वर्षका लागि नेपालको ऊर्जा क्षेत्रमा सकारात्मक नतिजा दिनेछ । यसबाट कम्तीमा एक हजार मेगावाट बिजुली आयातनिर्यात गर्न कुनै समस्या आउनेछैन ।
‘टेक एन्ड पे’को बहस र दीर्घकालीन प्रभाव
अहिले ‘टेक एन्ड पे’ र ‘टेक अर पे’का विषयमा बहस भइरहेको छ । यी विषय बजेटमा कहिले आएको थियो ? जलविद्युत् नीतिमा कहाँ ‘टेक एन्ड पे’ गर्ने व्यवस्था आयो ? यो त विद्युत् प्राधिकरण ऐन २०४१ ले प्राधिकरणको सञ्चालक समितिलाई दिएको अधिकार हो । बरु बढीभन्दा बढी मन्त्रिपरिषद्का निर्णयहरू यसमा जोडिएलान् । यो व्यवस्था बजेटमा आएपछि त कानुनसरह नै भयो नि ! त्यो प्रावधान ल्याएको किन ? यस्तो खालको दिव्यदृष्टि कसको आएको हो ? त्यसकारण ‘टेक एन्ड पेलाई सकारात्मक हिसाबले हेर्न सकिने ठाउँ छैन ।
अब ‘टेक एन्ड पे’को व्यवस्था सच्याइयो भनिएको छ । तर, त्यो भाषणमा मात्र सच्याइएको छ । कागजी रूपमा त्यो सच्चिएन किन कि बजेट सच्चिँदैन । बजेट भाषण त रेकर्डमा पनि रहँदैन । सच्याउँदा पनि कसरी सच्याइयो भने आयात र निर्यातको विषय जोडेर निर्यातमूलक जलविद्युत् आयोजना वा आन्तरिक खपत हुन सक्ने आयोजनाले मात्र पीपीए गर्ने भनिएको छ । यो व्यवस्थाको दीर्घकालीन प्रभावको कुनै ख्याल गरिएन ।
विद्युत् व्यापारमा भारत र चीन नीति
नेपाली बिजुलीको मुख्य बजार भारत नै हो । चीनसँग हामी विद्युत् व्यापारका दृष्टिले सुरुवाती अवस्थामा छौँ । तत्काल व्यापार गर्न सकिने अवस्था छैन । अर्को दश वर्ष चीनसँग विद्युत् व्यापार सुरु गर्न लाग्छ । हाम्रा दुवै छिमेकी मुलुकसँग परराष्ट्र नीति र व्यापार नीति सन्तुलित रुपबाट अघि बढ्नुपर्छ ।
भारतले पनि नेपालको बिजुली आयातमा कटौती गरेको छ । भारतले खुला बजारमा प्रतिस्पर्धा गर्न अनुमति दिएको छैन । र, भारतको अघोषित नीति चिनियाँ संलग्न कुनै पनि आयोजनाको बिजुली नकिन्ने भन्ने छ । चिनियाँ संलग्नताको लगानीमात्र होइन, निर्माण कम्पनी, ठेकेदार र कामदार भएका कुनै पनि जलविद्युत् आयोजनाको बिजुली भारतले नकिन्ने नीति लिएको देखिन्छ । यसको ज्वलन्त उदाहरण ४५६ मेगावाटको माथिल्लो तामाकोशीलाई लिन सकिन्छ । त्यसकारण, सरकारले कानुन र बजेटमा दीर्घकालीन प्रभाव पार्ने कुनै पनि प्रावधान र व्यवस्था राख्नुहुँदैन ।
सर्वोच्चको आदेश र जलविद्युत्मा त्यसको प्रभाव
विकास दीर्घकालीन र दिगो हुनुपर्छ । नेपाललाई दिगो रुपमा बिजुली चाहिन्छ । नेपालमा केही संरक्षित क्षेत्रहरू छन् । डल्फिन एउटा प्राणी हो । नेपालको कानुनले पनि डल्फिनलाई एउटा संरक्षित वन्यजन्तुअन्तर्गत राखेको छ ।
वातावरणीय प्रभावका विषयलाई बेवास्ता गरेर विकास सम्भव छैन । संरक्षित क्षेत्र किन घोषणा गरियो ? मध्यवर्ती क्षेत्रहरू किन घोषणा गरियो ? त्यसको आफ्नै महत्व छ नि ! सगरमाथाको आफ्नै महत्व छ । सगरमाथामा केबलकार बनाउँछु भनेर पाइन्छ त ? पक्कै पाइँदैन होला । त्यसकारण सर्वोच्च अदालतको निर्णयले ५ हजार मेगावाटका प्रस्तावित जलविद्युत् आयोजनालाई प्रभाव पर्ने देखिन्छ । त्यस्ता संरक्षित क्षेत्रमा जलविद्युत् आयोजना विकास गरिँदै छ भने त्यसको ईआईए र वातावरणीय प्रभावजस्ता विषयमा किन सूक्ष्म रूपले अध्ययन गरिएन ? लगानीकर्ताहरूको लगानी त डुब्ने भयो नि ! फेरि त्यहाँ जलविद्युत्लाई मात्र भनिएको छैन । जुनसुकै पूर्वाधारका आयोजना पनि संरक्षित क्षेत्रमा बनाउन नपाउने गरी अदालतले आदेश दिएको छ । अदालतको आदेश विकास गर्ने नाममा वातावरणको विनाश गर्नुहुँदैन भन्ने मान्यतामा आएको छ । विकास गर्न वातावरणको विनाशै नगर्ने, रुख नै नकाट्ने भन्ने कुरा होइन तर न्यून क्षति वा विनाश गरेर अधिकतम विकासका काम गर्नुपर्छ ।
बनेन लगानीमैत्री वातावरण, आगामी कार्यदिशा के ?
जलविद्युत्का लागि सबैभन्दा चिन्ताको विषय नै विद्युत्को बजार हो । जलविद्युत्मा बाह्य क्षेत्रले किन लगानी गर्छ ? विद्युत् उत्पादन गरेर बेचेपछि फाइदा हुने भएर नै बाह्य क्षेत्रले लगानी गर्ने हो अर्थात् लगानीकर्ताको एउटै उद्देश्य हो– कमाउने । तर, नेपालको सन्दर्भमा विद्युत् बजार निकै सानो छ । अहिले पनि देशभर ‘पिक आवर’मा २१/२२ सय हाराहारीमा विद्युत्को खपत हुन्छ । अरु बेला औसतमा १४÷१५ सय हाराहारीमा विद्युत्को लोड खपत छ । हिउँदयाममा त उत्पादन घट्ने कारणले भारतबाट आयात गर्नुपर्ने बाध्यता छ ।
७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना कहिले चीनले त कहिले स्मेकले बनाउने भनेर लामो समय ‘होल्ड’ भयो । अन्ततः सरकारले भारतीय कम्पनीलाई परियोजना सुम्पेको छ । भारतीय लगानीकर्तालाई नेपालमा विद्युत् व्यापार गर्न सहज छ किन कि उनीहरूको बजार सुनिश्चित छ । तर, चिनियाँ लगानीकर्ताले लगानी गर्न नचाहनुको पछाडि उनीहरूले विद्युत् बजारको सुनिश्चितता देख्दैनन् । अझ भारतले आफूबाहेकका चीनसहितका अन्य मुलुकहरू संलग्न परियोजनाको बिजुली नकिन्ने अघोषित नीति लिएका कारण बाह्य लगानीकर्ताले जलविद्युत्मा रुचि देखाएका छैनन् । सरकारले जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण बनाउन सकिएको छैन । लगानी गरिसकेपछि त्यसको प्रतिफलको ग्यारेन्टी भएमा लगानीकर्ता पक्कै आउँछन् ।
नेपालले जलविद्युत् क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गर्दै आएको छ । तीन पटकसम्म लगानी सम्मेलन भयो । तर, कुनै पनि परियोजनामा लगानी आएको छैन । लगानी सम्मेलन गर्दैमा लगानीकर्ता आकर्षित हुन्छन् भन्ने पनि होइन । प्रचलित नियम, कानुनले लगानीको वातावरण बनाउन सहजीकरण गरिदिनुपर्छ । लगानीकर्तालाई सुविधा र सहुलियत पनि दिनुपर्छ ।
निष्कर्ष
लगानीको प्रतिफलको सुनिश्चितता गरिदिएको खण्डमा स्वदेशी मात्र होइन, विदेशी लगानी पनि आउने अवस्था बन्छ । निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, सरकारी नीतिनियममा सहजीकरण गर्ने र बाह्य लगानी भित्र्याउने वातावरण सिर्जना गर्नुपर्छ ।
सन् २०१६ मा ०.४३ प्रतिशत रहेको नेपालको आर्थिक वृद्धिदर सन् २०१७ मा ह्वात्तै बढेर ९ प्रतिशत पुगेको थियो । जुन दक्षिण एसियाका मुलुकमै दोस्रो स्थानको आर्थिक वृद्धि नेपालले हासिल गरेको थियो । त्यो वर्ष विश्वमै आर्थिक वृद्धिदर बढी हुनेमा नेपाल छैठौँ मुलुकमा परेको थियो । सन् २०२० मा विश्वव्यापी कोरोना महामारीले नेपालको आर्थिक वृद्धिदर नेगेटिभ (ऋणात्मक) बनायो । त्यसयता शिथिल बनेको नेपालको अर्थतन्त्र अहिलेसम्म पनि बौरिन सकेको छैन ।
आन्तरिक खपत गरेर बाँकी रहेको बिजुली मात्र बेच्नुपर्छ । पहिला त उद्योगहरूमा बिजुली पुर्याउनुपर्यो । कृषि र सिँचाइका लागि बिजुली चाहिएको छ । तराइमा डिप बोरिङ खनेर मात्र हुँदैन, विद्युत् अभावका कारण सञ्चालनमा नआउँदा सिँचाइ भइरहेको छैन । त्यसैले तराईमा विद्युतीकरणमा ध्यान दिनुपर्छ । आन्तरिक खपतका क्षेत्रहरूमा विद्युतीकरण गर्ने, निर्माणप्रक्रियामा आइपर्ने प्रक्रियागत झन्झटमा सरकारले सहजीकरण गर्ने, पुँजी व्यवस्थापन गर्ने र प्रसारण र वितरण प्रणालीको सुधार गर्दै गुणस्तरीय बिजुली उत्पादन गर्नसकेमा मुलुकले आर्थिक विकासको कोल्टे फेर्न सक्छ ।
-मुकेशराज काफ्ले (काफ्ले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन्)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्