काठमाडौँ । नेपालमा १५औँ र १६औँ योजनाको प्रस्तुति फरक छ । १५औँ योजनाअघि राजनीतिक र राज्य संरचनाको हिसाबले ठूलो उपलब्धि भएको समय थियो । त्यसआधारमा राजनीतिक परिवर्तनको झल्को दिने गरी लक्ष्य राखियो । तर, दुर्भाग्य कोभिड–१९ महामारी र राजनीतिक अस्थिरताका कारण प्रभावित बन्न पुग्यो । सरकार बलियो भएकाले योजना कार्यान्वयन हुन्छ भन्ने अपेक्षा थियो । तर, अपेक्षाको प्रतिकूल परिस्थिति बनिदियो र १५औँ योजना आर्थिक वृद्धिको हिसाबले सोचेअनुरूप फलदायी भएन । तथापि, सामाजिक र अन्य क्षेत्रमा भने राम्रै प्रगति भएको छ ।
१५औँ योजनामा १० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य पूरा भएन । वृद्धिका हिसाबले असफल देखिए पनि १५औँ योजनाले ‘पोलिसीमा डिपार्चर’ गरेको छ र त्यसलाई आत्मसात् गर्नुपर्छ । उपलब्धि केवल आर्थिक वृद्धिलाई मात्र हेरेर हुँदैन, अन्य सूचकहरूलाई पनि हेर्नुपर्छ ।
१६औँ योजनाको रोडम्याप
१६औँ योजनाको प्रारम्भ हुने समय मुलुक निकै जटिल अवस्थामा थियो । त्यसैले १६औँ योजनामा धेरै महत्वाकांक्षाभन्दा वास्तविक धरातलमा उभिने कोशिस भएको छ । त्यसैले १६औँ योजनामा औसत ७.३ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य छ । योजना बनाउँदा अलिकति महत्वाकांक्षी, सम्भावित (पस्र्पेक्टिभ) र प्रेरणा दिने (मोटिभेसन गर्ने) खालको कार्यक्रमहरू राख्नुपर्छ । त्यसैअनुरूप १५औँ योजनामा आर्थिक वृद्धिको लक्ष्य उच्च राखिएको थियो । तर, कोभिड महामारीको असर लामो समयसम्म देखिँदा समस्या भयो । नेपालमा कोभिड ‘रिकभरी’ छिटो भयो, तर असर लामो समय रह्यो । आर्थिक वृद्धि एक वर्षबाहेक ऋणात्मक रहेन । अर्थतन्त्र विस्तारै अगाडि त बढ्यो तर अन्य धेरै क्षेत्रमा भने असर परिराख्यो । जसले गर्दा नेपालको औसत आर्थिक वृद्धि ४ प्रतिशत हाराहारीमा रह्यो ।
गत वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धि रहेको प्रक्षेपण भएको छ । सबै क्षेत्रको आर्थिक सूचकहरू सकारात्मक नहुँदा आर्थिक वृद्धिमा सकारात्मक प्रभाव परेको थियो । तर, चालू वर्षको सुरुवातबाटै सबै क्षेत्रमा सूचकहरू सकारात्मक छन् । सबै क्षेत्रका सूचकहरू सकारात्मक हुनु नै आर्थिक सुधारको बलियो आधार हो । गत वर्ष अर्थतन्त्रमा निर्माण क्षेत्रको योगदान १३ प्रतिशतसम्म ऋणात्मक थियो । अर्थतन्त्र विस्तारमा निर्माण क्षेत्रले पनि ठूलो असर पार्छ । अहिले निर्माण क्षेत्रमा निकै सुधार देखिएको छ ।
१६औँ योजनालाई १५औँ योजनाकै रूपमा हेर्नुहुँदैन । यसरी हेरियो भने अर्को गल्ती हुन्छ । नेपाल छिट्टै विकासोन्मुख मुलुकबाट विकासशील देशमा स्तरोन्नति हुँदै छ । आर्थिक वृद्धि ५ प्रतिशतभन्दा माथि हुने अवस्था छ । चालू वर्ष ६ प्रतिशतको लक्ष्य छ । तर, पनि हामी अर्थतन्त्र केही सुस्त छ भनिरहेका छौँ । सुस्त अर्थतन्त्र कस्तोलाई भन्ने ? कुनै सूचक सुस्त हुँदैमा त्यही शब्दलाई निरन्तरता दिन मिल्दैन ।
अर्थतन्त्र त गतिशील हुन्छ । एक पटक माथि पुगेको वृद्धि अर्को वर्ष तल झर्न पनि सक्छ । आर्थिक वृद्धि समयअनुसार परिवर्तन हुन्छ भन्ने बुझ्नुपर्छ र त्यहीअनुरूप विश्लेषण गर्न सक्नुपर्छ । सदावहार राजनीतिजस्तै एउटै शब्द प्रयोग गरिनुहुँदैन । समृद्धि हासिल गर्न गफमा अल्झिने होइन, आर्थिक सूचकहरूलाई गम्भीरताका साथ हेर्ने गर्नुपर्छ । सूचकहरू तलमाथि भइरहन्छन् र त्यसबाट आत्तिनुपर्ने अवस्था पनि हुँदैन ।
कमजोरी र सुधारका प्रयास
नेपालमा योजना बनाउने र कार्यान्वयन गर्ने प्रक्रियामा कहीँ न कहीँ कमजोरी छ । विगतमा भएका कमी–कमजोरीहरूलाई मध्यनजर गरेर मध्यकालीन खर्च संरचना (एमटीईएफ)मा हामीले राम्रोसँग विश्लेषण गरेका छौँ । त्यसमा हाम्रो वस्तुस्थिति कस्तो छ ? भनेर सबै हेर्न सकिन्छ ।
हाम्रा योजना र ती योजनाहरूको कार्यान्वयनमा ठूलो अन्तर छ । यो असमान अन्तर हटाउनुपर्छ अनि मात्र अघि बढ्न सकिन्छ भनेर राष्ट्रिय योजना आयोग अहिले त्यही ‘रिफर्म’को काममा लागिरहेको छ । कतिपय रिफर्मका आयोजनाहरूलाई ‘फास्ट ट्रयाक’मा लगिरहेका छौँ । २५ देखि ३० वर्ष लाग्ने आयोजनाहरूलाई दुई वर्षमा सक्ने भनेर अनुगमनमा भइरहेको छ । अब अन्तर्विरोध सदावहार रहनेछैन, अधिक क्षेत्रमा तीव्र रिफर्म गर्ने काम भइरहेको छ ।
आयोगले तीन करोड रूपैयाँभन्दा माथिका आयोजना मात्रै हेरिरहेको छ । सुन्नमा त एक हजार रूपैयाँ पनि विनियोजन भयो भन्ने आइरहेका छन् । तर, कार्यान्वयनमा तीन करोडभन्दा कमका जाँदैनन् । विनियोजन ऐनको दफा १२ मा प्रोजेक्ट बैंकमा समावेश नभएका योजना कार्यान्वनमा जाँदैनन् भनेर स्पष्ट व्यवस्था गरिएको छ । यसले आयोजनालाई ठीक तवरमा प्रयोग गर्न सघाउ पुग्छ ।
एफडीआई आकर्षण नहुनुका कारणहरू
समृद्धिका लागि लगानी चाहिन्छ । तर, लगानी कति बेला कस्तो चाहिन्छ भन्ने विषयले फरक पार्छ । देशभित्रको स्रोत पर्याप्त छैनन् भने बाहिरबाट लगानी ल्याउने हो । अहिले देशभित्रकै स्रोत प्रयोग गर्न सकिएको छैन । बैंकिङ प्रणालीमा अधिक तरलता छ । तसर्थ यसपटक डोमेस्टिक डाइरेक्ट इन्भेस्टमेन्ट (डीडीआई) लगानीको पहिलो प्राथमिकतामा छ ।
स्वदेशी लगानीलाई वास्ता गर्न छाडेर बाहिर भौँतारिँदा खासै अर्थ हुँदैन । नेपालमै भएको लगानी संकलन गरेर प्रयोग गर्न सकिरहेको अवस्था छैन । यदि स्थानीय तहमा उपलब्ध निजी क्षेत्रको लगानीबाटै परियोजनाहरू अघि बढाउन सकिन्छ, विकास निर्माणका कार्यहरू गर्न सकिन्छ भने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) कुर्नै पर्दैन । त्यसैले पछिल्लो समय हामीले लगानीको मोडालिटी बनाउँदा डीडीआईलाई बढी प्राथमिकता दिइएको छ ।
निजी क्षेत्रले व्यापारमा मात्र लगानी गरिरहेका छन् । उद्योगमा निजी क्षेत्रको लगानी रूपान्तरित हुनसकेको छैन । त्यही भएर उद्योग कम भएको हो । अहिले उद्योगमा स्वदेशी लगानी बढाउन के–कस्ता प्रोत्साहन आवश्यक छ भनेर काम गरिरहेको स्थिति हो । सँगसँगै स्वदेशी लगानीमा विदेशी लगानी पनि भित्र्याउने हो । लगानी बजारलाई अझ परिष्कृत र समुन्नत बनाउने हो ।
लगानीका स्रोतमा पहिलो निजी क्षेत्र नै हो । विकल्पमा विदेशी लगानी ल्याउने हो भने कतिपय आयोजनाहरू सरकारले पनि लगानी गर्नुपर्ने हुन्छ । सरकारले लगानीयोग्य वातावरण बनाउनुपर्छ । स्रोत कसरी जुटाउने भन्ने विषयमा अन्तक्र्रिया, छलफल र बहस गर्नुपर्छ । कानुन बनाउँदैमा तत्काल परिणाम आउने होइन । परिणाम देखिन लामो समय लाग्छ । बनिरहेका नीतिलाई कसरी छिटोछरितो र परिणाम देखिने गरी कार्यान्वयनमा लैजाने भन्ने विषयले अर्थ राख्छ । हिजोभन्दा आज लगानीमा केही आकर्षण बढेको महशुस भइरहेको छ र त्यसको परिणाम आर्थिक वृद्धिको तथ्यांकले पनि देखाएको छ ।
विगतमा निजी क्षेत्रले गरेका गुनासाहरू क्रमशः कानुनले सहजीकरण गरिरहेको छ । अप्ठ्यारो परेका गाँठाहरू फुकाउँदै जाने निरन्तर प्रक्रिया पनि हो । कानुनले अप्ठ्यारो पारेका विषयहरूलाई सम्बोधन गर्दै लानुपर्छ । कानुनहरू निरन्तर सुधार हुँदै जाँदा लगानीकर्ता पनि प्रोत्साहित हुँदै जान्छन् र सोहीअनुरूप लगानी पनि बढाउँदै लग्छन् ।
हामीले पनि गल्तीबाट सिक्दै/सुधार गर्दै जाने हो । कतिपय नीतिहरूमा उच्च आर्थिक वृद्धिको लक्ष्य राखियो । हामीलाई उफ्रिने आर्थिक वृद्धि (डबल डिजिट ग्रोथ) चाहिन्छ भन्यौँ । डबल डिजिट ग्रोथमा अरु खालका असरहरू आउने रहेछन् । डबल डिजिट (दोहोरो अंक)को वृद्धिले व्यापारघाटा उच्च हुन्छ । ऋण धेरै बढ्छ । यसले वैदेशिक मुद्रा सञ्चितिमा ठूलो असर पु¥याउन सक्छ । तसर्थ आर्थिक वृद्धिसँगै अरु धेरै विषयहरूलाई व्यवस्थापन गरेर अघि बढ्नुपर्ने आवश्यकता छ ।
यसअवधिमा ‘ट्रेड अफ’लाई व्यवस्थापन गर्नुपर्छ भनेर पाठ सिकिएको छ र हिजोको सोचाइलाई परिवर्तन गरिएको छ । १६औँ योजनामा ट्रेड अफ र ‘सिनर्जी’ले ठाउँ पाएका छन् । सिनर्जीले वृद्धिलाई सहयोग गर्छ भने ट्रेड अफले कहाँनिर घटाउने र हटाउने भनेर सहयोग गर्छ । पहिलेभन्दा काम गर्ने तौरतरिकालाई फरक बनाइएको छ । सामाजिक र आर्थिक व्यवहार रातारात परिवर्तन हुँदैन र त्यसका लागि समय लाग्छ । जस्तो, पहिले–पहिले संसद् विकास कोषको खुबै बहस हुन्थ्यो । तर, पछिल्लो समय यसले ठाउँ पाउन छोडेको छ । सुधार एउटा निरन्तर प्रक्रिया हो र यो कहिल्यै अन्त हुँदैन । नेपाल अन्ततः ५५ वर्षपछि एलडीसी ग्राजुएसन (स्तरोन्नति)मा जाँदै छ । सबै सूचकहरू पूरा भएका छन् । सम्पत्ति र जोखिममा सबै मापदण्डहरू पूरा भएका छन् । यो पनि अर्को ‘लेसन लर्न’ हो ।
लगानीको विविधीकरण एवं श्रेणीकरण
हिजोका दिनमा आयोजना के हो र कार्यान्वयन कसरी गर्ने भन्ने विषयमै स्पष्टता थिएन । अहिले कम्तीमा यसको परिभाषा गरिएको छ । आयोजना हुनलाई प्रतिफल (रिटर्न) नै हुनुपर्छ र रिटर्न दिने आयोजनामै लगानी गर्नुपर्छ भनिरहेका छौँ । सरकारले कहाँ लगानी गर्ने र कहाँ नगर्ने भन्ने विषयलाई लिएर अघि बढेका छौँ । प्रतिफल नदिने आयोजनाहरू अघि बढाउँदा धेरै पटक सोचविचार गर्ने र सकेसम्म पराम्परागत अवधारणाभन्दा बाहिर निस्केर यथार्थ धरातलमा आयोजना छनोट गर्नुपर्छ ठाउँमा पुर्याएका छौँ ।
राष्ट्रिय गौरवका आयोजनाहरू चाँडै सम्पन्न गर्नेतर्फ ध्यान केन्द्रित भएको छ । कतिपय राष्ट्रिय गौरवका आयोजनाको गौरव नै नभएको पाइएको छ । त्यस्ता आयोजनाहरूलाई पनि सुधार गर्न खोजिएको छ । लेसन एन्ड लर्न, इन्भेस्टमेन्ट, इकोसिस्टम, मन्त्रालयगत समन्वयका काम तीव्रतासाथ अघि बढिरहेको छ ।
विगतमा आयोजना बनाउने प्रक्रियामै खाडल (ग्याप) थियो । आयोजनाहरू कार्यान्वयन गर्छौँ भन्थ्यौँ तर तयारी नै अघि बढेको हुँदैनथ्यो । आयोजना निर्माण र कार्यान्वयनको तयारी नपुग्दा समय र लागत धेरै लाग्ने गरेको थियो । जसले गर्दा आम्दानी पनि गुम्दै गएको थियो ।
आयोेगले कार्यविधि परिवर्तन गरेको छ । आयोजना बैंक बनाएको छ । वित्तीय उत्तर दायित्व ऐनले नै सबै आयोजनाहरू आयोजना बैंकमा समावेश (इन्ट्री) गर्नुपर्ने व्यवस्था गरेको छ । आयोजना बैंकमा अब विगतजस्तो एकैपटक ११ हजार आयोजना थपिँदैनन् । किनभने जथाभावी आयोजना थप्ने प्रवृत्ति आयोगले सुधार गरिसकेको छ ।
कस्ता आयोजना तथा परियोजनाहरू खारेजीमा परे ?
कानुन अनुसारआयोजना बैंकमा भएका ४ हजार ४ सय ५६ आयोजनाहरू फालिएको छ र अहिले १ हजार १ सय आयोजनाहरू मात्र छन् । कतिपय ‘इन्ट्री’ हुँदै छन् । प्रतिफल नै नआउने रुग्ण र काम नलाग्ने आयोजनाहरू कटौती गरिएको छ ।
विगतमा आयोजना यसरी थपियो कि सबैको काम आयोजना थप्ने जस्तो भयो अर्थात् आयोजनामा मात्रै धेरैको ध्यान गयो । आयोजना सम्पन्न गर्नेतर्फ कुनै राजनीतिक दलको ध्यान गएन । कसैले पनि हामीले यति काम सम्पन्न गर्यौँ भन्ने अवस्था रहेन । तर, बजेटमा यति आयोजना प¥यो, हामीले यति आयोजना पा¥यौँ भनेर लेखिरह्यौँ । अब यस्तो गल्ती दोहोरिनेछैन भन्ने अपेक्षा गर्न सकिन्छ ।
सरकारले कति आयोजना कति समयमा सम्पन्न गर्ने भनेर नीति तथा कार्यक्रममा भनेको हुन्छ । त्यही हिसाबले आयोग अघि बढ्ने हो । फेरि एकैपटक ठूलो परिवर्तन हुन्छ, सबै व्यवस्थाहरू परिवर्तन हुन्छन् भन्ने पनि सोच्नु हुँदैन र त्यो सम्भव पनि छैन । सुरुवात गरेका आयोजनालाई खारेजीमा लैजान पनि मिल्दैन । अब आयोजना थप्ने होइन, सुरु गरिसकेका आयोजना तथा परियोजनाहरूलाई सम्पन्न गर्ने गरी अघि बढ्ने हो ।
एलडीसी ग्र्याजुएसनको तयारी
१६औँ योजनामा एलडीसीमा कसरी जाने भनेर स्पष्ट पारिएको छ । १६औँ योजना, एलडीसी स्तरोन्नति र दिगो विकासका लक्ष्यहरू सबैलाई एकै ठाउँमा राखेर कार्यान्वयन भइरहेको छ । यसले आम्दानीको मापदण्ड पु¥याउन सहयोग ग¥यो । कार्यान्वयनमा तीव्रता दिएका कारण हामीले लिएका लक्ष्यहरू पूरा हुन्छन् भन्ने अपेक्षा गर्न सकिन्छ ।
हामीसँग भएको स्रोतलाई कसरी कार्यान्वयन गर्ने भन्नेतिर सबैको ध्यान जानुपर्छ । स्वदेशी लगानी परिचालनमा केन्द्रित हुुनुपर्छ । कानुनमा भएका अप्ठ्याराहरूलाई हटाउँदै र परिमार्जन गर्दै जानुपर्छ र त्यो काम भइरहेको पनि छ । लगानीलाई व्यापारमा मात्रै होइन, उत्पादनमा लगाउनुपर्छ भन्नेसम्मको स्थितिमा अहिले पुगिएको छ । ‘पहिला उत्पादन गरौैँ, अनि व्यापार गरौैैँला’ गरौँ भन्ने सोचले काम गर्नुपर्ने आवश्यकता छ । अर्थतन्त्र सधैँ सुस्त छ भनेर हल्ला गर्नुभन्दा पनि यथार्थपरक सूचकहरू लिएर अघि बढ्नुपर्छ । तथ्यमा आधारित भएर अघि बढ्दा अवश्य पनि परिवर्तन ल्याउँछ ।
आयोगको भूमिका
हिजोभन्दा आज आयोग सुनिने भएको छ । आयोगलाई अहिले सुनिन्छ र बुझिन्छ पनि । हिजोका दिनमाभन्दा आज आयोग नीति निर्माणमा, नीतिगत छलफलम र सुधारमा निकै अग्रसर छ । आयोगको औचित्य छ कि छैन भन्नेहरूलाई पनि आयोगकै कामले यसको औचित्य पुष्टि गर्नेछ ।
आयोगले विकाससम्बन्धी छलफल चलाइरहेको छ । नेपालमा विकास के हो र कस्तो हुनुपर्छ भनेर छलफल गरिहेको छ । आयोगले ‘इक्विटी बेस्ड’ विकासका लागि समपूरक काम ग¥यो । विकास नभएको र कम बजेट पाउने गरेका ठाउँहरूमा बढी बजेट विनियोजन गर्ने गरी अझ समानुपातिक बजेट बाँडफाँटका लागि यसपटक काम ग¥यो । अब कार्यान्वयनको चरणमा पनि आयोगले विशेष भूमिका खेल्ने नै छ ।
प्रा.डा. शिवराज अधिकारी (प्रा.डा. अधिकार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष हुन् ।)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्