काठमाडौँ । कैलालीका किसानले यस वर्ष गहुँको उचित मूल्य पाएका छैनन् । गत वर्ष प्रतिक्विन्टल रु चार हजारमा गहुँ बेचेका किसान यस वर्ष करिब रु दुई सय कम मूल्यमा बिक्री गर्न बाध्य छन् । हाल गहुँ प्रतिक्विन्टल रु तीन हजार ८०० को हाराहारीमा बिक्री भइरहेको छ । यसैबीच केही दिनअघि परेको वर्षा र हुरीबतासले उत्पादनमा समेत क्षति पुगेको छ ।
किसान रुपलाल चौधरीले धेरै मेहनत गरेर खेती गरे पनि उत्पादनको उचित मूल्य नपाउँदा मर्का परेको बताए । ‘गत वर्षभन्दा कम मूल्यमा गहुँ बिक्री गर्नुपरेको छ, थोरै भए पनि बढी मूल्य पाउनुपर्ने थियो, समयमै मल र बीउ नपाउने, दुःख गरेर खेती गर्दा पनि उचित मूल्य नपाउने समस्या छ’, उनले भने ।
टीकापुरका मञ्जित रावलले सरकारले गहुँको समर्थन मूल्य समयमै नतोकेका कारण किसानले उचित मूल्य पाउन नसकेको बताए । उनका अनुसार किसानले समयमै मल, बीउ नपाउने र बिक्रीका बेला पनि उचित मूल्य नपाउने समस्या झेलिरहेका छन् । केही दिनअघि हुरीबताससहितको वर्षाले गहुँ उत्पादनमा कमी आएको छ । अहिले सङ्कलन केन्द्रमा पनि उचित मूल्य पाइँदैन, किसानलाई जताबाट पनि घाटा भएको छ ।
टीकापुरका पहलमान साउदले भने प्रतिक्विन्टल रु चार हजार २०० का दरले चार क्विन्टल गहुँ खरिद गरेका छन् । गत वर्ष पनि यही मूल्यमा गहुँ खरिद गरेका उनलाई यस वर्षको मूल्य ठीकै लागेको बताए । ‘गत वर्ष पनि यही मूल्यमा किनेको थिएँ, यस वर्ष मूल्य बढ्ला भनेर समयमै किन्न आएको थिएँ, पोहोरकै मूल्यमा पाएँ’, उनले भने ।
टीकापुरस्थित भीम खाद्यान्न खरिदबिक्री केन्द्रका भीमबहादुर ठकुल्लाले राम्रो (केलाउन नपर्ने) गहुँ प्रतिक्विन्टल रु तीन हजार ८०० सम्ममा खरिद गर्ने गरेको बताए । ‘राम्ररी सफा नगरेको गहुँ रु तीन हजार ६०० मा खरिद गर्छौँ, गुणस्तर हेरेर रु तीन हजार ९०० सम्म पनि दिन्छौँ’, उनले भने ।
खाद्यान्न व्यवसायीका अनुसार कैलालीमा खरिद गरिएको गहुँ नेपालगन्ज र धनगढीका मैदा मिलमा प्रतिक्विन्टल करिब रु चार हजारमा बिक्री हुने गरेको छ । ठकुल्लाले हालसम्म चार सय क्विन्टल गहुँ प्रतिक्विन्टल रु चार हजारका दरले बिक्रीका लागि नेपालगन्ज पठाइसकेका छन् ।
पौडेल राइस मिलका सञ्चालक रामहरि पौडेलले किसानले अहिले गहुँ बिक्रीका लागि ल्याउन थालेको बताए । ‘यस वर्ष पानी र हुरीबतासले नपाक्दै गहुँ ढालेकाले सानो दाना र माटो मिसिएको गहुँ बिक्रीका लागि आएको छ’, उनले भने, ‘गत वर्ष प्रतिक्विन्टल रु चार हजार २०० सम्ममा खरिद गरेको थिएँ । यस वर्ष रु तीन हजार ८५० देखि रु तीन हजार ९०० सम्ममा खरिद गरिरहेको छु ।’
यस वर्ष सरकारले गहुँको समर्थन मूल्य तोकेको छैन । समर्थन मूल्य नतोकिँदा खाद्यान्न खरिदबिक्री केन्द्रहरूले मिलसँगको समन्वयमा खरिदबिक्री दर निर्धारण गरिरहेका छन् ।
गत वर्ष सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ८६७ रुपैयाँ ३८ पैसा निर्धारण गरेको थियो । विगतमा हरेक वर्ष वृद्धि गर्दै आएको समर्थन मूल्य यस वर्ष नतोकिँदा किसानले उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन् । कृषि मन्त्रालयले समर्थन मूल्य निर्धारणका लागि अध्ययन गरी प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइसकेको जनाएको छ ।
टीकापुर नगरपालिका कृषि विकास शाखाका कृषि प्राविधिक मोतिसिंह विकका अनुसार गहुँको समर्थन मूल्य समयमै तोकिएमा किसानलाई राहत मिल्नेछ । ‘समयमै समर्थन मूल्य तोकिएमा किसानले घाटामा बिक्री गर्नुपर्दैन र बिचौलियाबाट ठगिने सम्भावना पनि कम हुन्छ’, उनले भने, ‘यस वर्ष भने मिल सञ्चालक र खरिदकर्ताले आफैँ मूल्य निर्धारण गरेका कारण किसानले उचित मूल्य पाउन सकेका छैनन् ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्