काठमाडौं । सिभिल बैंकले ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले मंसिर २४ गते शुक्रबारबाट ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो । जसमध्ये ६० हजार इकाई म्युचुअल फण्डहरुलाई छुट्याइएको छ भने ११ लाख ४० हजार इकाईमा सर्वसाधारणले आवेदन दिन सक्ने भएका छन् । बाँकी १८ लाख इकाई प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गर्ने भएको छ । यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाइनेछ ।
सिभिलले १० वर्ष अवधिको ‘सिभिल बैंक डिबेन्चर २०८८’ जारी गरेको हो । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम सबै इकाईका लागि आवेदन दिन सकिनेछ । उक्त ऋणपत्रमा मंसिर २८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै इकाई बिक्री नभएमा भने पुस ९ गतेसम्म खुला रहने बैंकले जनाएको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।