काठमाडौं । चीनतर्फको व्यापारमा गिरावट आएको छ । नेपालको वैदेशिक व्यापारअन्तर्गतको चीनतर्फको व्यापारमा गिरावट आएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ५ महिना साउन-मंसिरसम्मको आर्थिक स्थितिअनुसार नेपालको वैदेशिक व्यापारअन्तर्गत चीनतर्फको व्यापारमा गिरावट आएको हो । राष्ट्र बैंकका अनुसार नेपालबाट चीनतर्फ हुने निर्यातमा ५५.२ प्रतिशतले गिरावट आएको छ भने चीनबाट हुने आयातमा २४.४ प्रतिशतले गिरावट आएको छ । चीनले सीमा क्षेत्रमा कडाइ गरेका कारण चीनतर्फको व्यापारमा निर्भर रहेका व्यापारीहरु भने तनावमा छन् ।
चीनले दैनिक सीमा पार हुने कन्टेनरको संख्या बढाउने बताए पनि कार्यान्वयन नगरेका कारण लामो समयदेखि चीनबाट खरिद गरेर ल्याइएको सामान चीनतर्फकै सीमा नाकामा अलपत्र परेको छ । यसले गर्दा नेपालको मुद्रास्फितिमा पनि बढेको छ । ल्हासाका लागि नेपाली प्रतिनिधि नवराज ढकालले चिनियाँ अधिकारीहरुसँग वार्ता गरेर सीमा क्षेत्रमा खुकुलो पार्ने र दैनिक पास हुने कन्टेनरको संख्या बढाउने सहमति भएको बताए । तर चिनियाँ पक्षले भने दैनिक १० कन्टेनरमात्रै पास हुन दिइरहेको छ । जसका कारण चीनबाट सामान खरिद गरेर सीमा क्षेत्रमा पुगेका व्यापारीहरु निराश हुनुपर्ने अवस्था रहेको छ ।
गत वैशाखमा गर्मी मौसमका लागि खरिद गरेर ल्याइएको सामानहरुसमेत जाडो मौसम सुरु भइसक्दासमेत पुगेका छैनन् । गत आर्थिक वर्षको सोही तुलनामा निर्यातमा ५.१ प्रतिशतले वृद्धि भई ५० अर्ब ६ करोड रुपैयाँ बराबरको भएको छ । चालू आर्थिक वर्षको पाँच महिनामा नेपालमा कुल ५ खर्ब २५ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको र सो आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.६ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।