काठमाडौं । चैत ३ गते बिहिबार काठमाडौं उपत्यकालगायत पहाडी जिल्लामा होली मनाइने भएको छ । सो होलीलाई दुर्घटनारहित बनाउनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ सय ट्राफिक प्रहरी परिचालन गर्ने भएको छ ।
होलीका समयमा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी चलाउने र दुर्घटनाको जोखिम बढी हुने भएकाले बाक्लो सङ्ख्यामा ट्राफिक प्रहरी परिचालन गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाले ६८ ठाउँमा चेक प्वाइन्ट राख्ने भएको छ । त्यहाँ मापसेदेखि सवारीको कागजपत्रलगायत चेक गरिनेछ ।
मापसे गरी सवारी चलाउने, ओभर लोड तथा मोटरसाइकलमा तीन जना राखेर चलाउने र तीव्र गतिमा सवारी चलाउने चालकलाई कारबाही गरिने महाशाखाले जनाएको छ ।