काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १६औँ वार्षिक साधारणसभा भोलि बिहिबार हुने भएको छ कम्पनीको सभा आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे हुने भएको हो ।
कम्पनीको सभाले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगदसहित कुल १०.५२ प्रतिशत लाभांश पारित गर्नेछ । साथै बोनस सेयर जारीपश्चात् कम्पनीको चुक्ता पूँजी वृद्धि भई १ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ पुग्ने हुँदा सो सम्बन्धि संशोधन गर्न स्वीकृत गर्ने सभाको एजेण्डा रहेको छ ।
उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आव २०७७/०७८ को नाफा नोक्सान हिसाब, वासलात, नगद प्रवाह विवरणका अनुसूचीहरुमाथी छलफल गरी पारित गर्नेछ । साथै आव २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेसमेत सो सभाको विषयसूची रहेको छ ।
कम्पनीले सभाको लागि चैत १ गते बुक क्लोज गरेको छ । फागुन ३० गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रस्तावित लाभांश पाउनेछन् ।