काठमाडौँ । पछिल्लो समय संसदमा सेयर बजारका विषयमासमेत सांसदहरुले विभिन्न खालका टिकाटिप्पणी गरिरहेका छन् । कतिपय संसदले सेयर बजारका बारेमा सरकार सचेत हुनुपर्ने बताईरहेका छन् भने कतिपयले सेयर बजारका बारेमा नकारात्मक टिप्पणी गरिरहेका छन् । यसैबीच केहि दिनअघि सांसद गजेन्द्र बहादुर महतले सेयर बजारलाई लेयर्स कुखुराको संज्ञा दिएपछि यतिबेला यो विषय चर्चाको विषय बनेको छ । संसदमा बोल्दै उनले सेयर बजार लेयर्स कुखुराजस्तै भएको र घाटा लाग्यो भन्न नपाइने अभिव्यक्ति दिएपछि उनले संसदमा दिएको अभिव्यक्तिबारे विभिन्न खालका टिकाटिप्पणी सुरु भईरहेका छन् । विशेषगरी सेयर लगानीकर्ताहरुले उनको टिप्पणी ‘हचुवाको भरमा’ आएको बताईरहेका छन् ।
आखिर उनले किन यस्तो भने त ? हाम्रो प्रश्नमा उनी भन्छन्- ‘त्यो त भन्नै पर्यो नि । लगानी भनेको कुरा बुझेर गर्नुपर्यो नि । एउटाले फाइदा गर्यो भन्दैमा नबुझी लगानी गर्नु भएन नि ।लगानी गर्नेले सहि ठाउँमा लगानी गर्नुपर्छ । सेयर बजारका ठुला खेलाडीले बजारबाट पहिला नै फाइदा लिईसकेका हुन्छन् ।सेयरको भाउ भनेको बढीराख्ने सुन वा चाँदी होइन ।सेयर बजारका लगानीकर्ताले बुझ्नुपर्छ- सेयरको भाउको पनि एउटा सिमा हुन्छ ।बजार भनेको सधैं फाइदा भईराख्ने वा दुईचार जनालाई फाइदा भयो भन्दैमा सबैलाई फाइदा हुने क्षेत्र होइन ।’
सामाजिक संजालमा यतिबेला सेयर बजारका बारेमा टिप्पणी गर्ने महतको लगानी छ कि छैन भन्ने प्रश्न पनि उठेको छ । यहि प्रश्न हामीले उनलाई गर्दा उनले हाँस्दै भने- ‘ अहँ ! सेयर बजारमा मेरो लगानी छैन ।’
‘अनि लगानी नै नभएको यति जिम्मेवार मान्छेले यस्तो कुरा गर्न सुहाउँछ त ?’ भन्ने हाम्रो प्रतिप्रश्नमा उनको जवाफ थियो- ‘ कुरा त्यस्तो होइन । सेयर बजारमा लगानी नभएपनि हामी व्यापार बुझेका मान्छे हौँ ।हामी व्यवसायिक मान्छे भएकाले सेयर बजार भनेको के हो भन्ने कुरा त बुझिहाल्छौं नि । कुन कम्पनीको सेयर कसरि घटिरहेको छ र कुन कम्पनीको सेयर कसरि बढीरहेको छ भन्ने कुरा हामीलाई पनि त अलिअलि त थाहा भैहाल्छ नि । सबैले बुझ्नुपर्ने मुख्य कुरा के हो भने सेयर बजार भनेको सधैं आम्दानी भईराख्ने वा बढीराख्ने चीज होइन । अझ कसले के बोल्यो भन्ने कुराले सेयर बजारमा असर गर्यो भन्ने कुरा वेतुकको कुरा हो । कसैले केहि बोलेर सेयर बजार घट्ने वा बढ्ने विषय होइन ।’
आफ्नो भनाईको तात्पर्य सेयरमा लगानी नगर्नु भन्ने नभएको तर बुझेर मात्र सेयरमा लगानी गर्नुपर्छ भन्ने बुझाई आफुले बुझाउन खोजेको उनको भनाइ छ । ‘लगानी गर्न नै हुन्न भनेको होइन ।तर सो सेयरको प्रतिफल त्यहि अनुसार नै लिनुपर्छ । तर बढेको बढ्यै गर्छ, भाउले आकासै छुन्छ भन्ने सोचेर सेयर बजारमा लगानी गर्नु ठिक होइन भन्ने मेरो भनाई हो । कतिपय मान्छेले कोठामा बसेर सेयर कारोबार गर्ने अनि मैले यति फाइदा गरें र उति फाइदा गरें भनिरहेका छन् । बाँकी अरुले त्यहि कुरा सुनेर लगानी गरिरहेका छन् । योचाहिं गलत हो भन्ने मेरो तर्क हो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने- ‘देखासिखी गरेर त्यसरी लगानी गर्नुभन्दा उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्यो भन्ने मेरो कुरा हो । कतिपयले सेयर बजारलाई एक खालको जुवा घर हो पनि भन्छन् । हुन पनि नबुझ्नेका लागि यो एक खालको जुवा घर नै हो । खेल्नेले हार्न सक्ने सम्भावना बढी हुन्छ, खेलाउनेले खेलेरै जित्छन् । भाल उठाउने मान्छेले फाइदा उठाईरहेको हुन्छ । त्यहाँ पनि सबैले फाइदा लिने होइन नि । बुझेर मात्र, चीज चिनेर मात्रै लगानी गर्नु भन्ने मेरो कुरा हो ।’
यसअघि उनले संसदमा कुखुराले फुल पारुन्जेल किसानले नाफा कमाउने र फुल पार्न छोडेपछि लेयर्स कुखुराले फुल पार्छ भनेर कसैले सो कुखुरा किन्नु गलत भएको टिप्पणी गरेका थिए । ‘कुखुराले जहिलेसम्म फुल पार्छ, किसानले नाफा कमाउँछ । अनि त्यहि लेयर्स कुखुरा किनेर सेयर बजारमा मलाई घाटा भयो, मलाई राहत चाहियो, म मर्छु, यावत कुराहरु गर्ने गर्छन् । यो ख्याल पुर्याउनुपर्यो ।’ संसदमा उनले भनेका छन्, ‘लेयर्स कुखुराको त बीमा गर्नुपर्यो । नत्र लेयर्स कुखुरा किन्ने, अण्डा सकिएको कुखुरा किन्ने, अनि त्यसको फाइदा खोज्न भएन । यो हरेक सेयर बजारको साथीहरुले बुझ्नुपर्ने कुरा हो । म यो सबै साथीहरुलाई भन्न चाहान्छु ।’ संसदमा बोल्दै उनले भनेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्