काठमाडौं । रुखको जराको प्रयोगबारे सुन्नु भएको छ ? सामान्यतयाः गाँउघरमा ढलेका रुखका जरा केवल दाउराको रुपमा मात्रै प्रयोग गरिन्छ । तर रूखको जराबाट सुन्दर कलाकृति पनि सृजना गर्न सकिन्छ भन्ने खबर उत्साहजनक हुन सक्छ । सिन्धुलीका विश्वम्भर लामिछाने पेशाले वकिल र रहरले कलाकार हुन् । रुखको जराबाट विभिन्न किसिमका मुर्ति, आकृति निर्माण गर्ने कलाकार । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका ४ स्थित आफ्नै निवासमा लामिछानेले जर्बुट्टा कला केन्द्र सञ्चालन गरेका छन्, जहाँ रुखका जराबाट मात्र बनाइएका तीन सय ५० भन्दा बढि किसिमका आकृतिहरुको सङ्ग्रहालय छ । सौखका रुपमा २०४८ सालदेखि रुखका जराबाट विभिन्न किसिमका मुर्ति तथा आकृति बनाउन सुरु गरेका लामिछानेले अहिले आफ्नै निवासमा ती आकृतिका सङ्ग्रहालय नै तयार गरेका छन्।
३५ वर्षको उमेरमा एकदिन बाटोमा हिडिरहँदा उनले एउटा रुखको जरा फेला पारे । त्यस जरामा एक बिम्ब देखे, त्यस जरालाई धोइपखालि गरिसकेपछि उनले त्यस बिम्बमा साहित्य भएको महशुस गरेपछि उनले त्यसलाई आकृतिमा ढालेर त्यस बेलादेखि जर्बुट्टा कलाको सुरुवात गरेका बताउछन् । आफु पुगेका देशका विभिन्न ठाउँबाट विभिन्न किसिमका रुखका जरा ल्याएर त्यसबाट विभिन्न आकृति तथा मुर्ति बनाउने गरेका लामिछानेले यससम्बन्धी प्रशिक्षणसमेत दिएका छन् । २०७४ सालमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा लामिछानेले आफ्नै निवासमा १३ जिल्लाका १८ जना विद्यार्थीहरुलाई तीन दिने प्रशिक्षण दिएका थिए । तर यस किसिमका प्रशिक्षण खासै उपलब्धिमुलक भने नहुने उनको अनुभव छ । ‘यस किसिमका आकृर्ति बनाउदा रुखका जराको आकार-प्रकार जानेर त्यसको आकृति तयार हुँदै जाने भएकाले प्रशिक्षणमा आकृति कसरी तयार पार्ने भन्ने कुरा सिकाउन मुश्किल छ।’ लामिछाने भन्छन्, ‘एउटा आकृति बनाएपछि फेरी त्यस्तै बनाउन सकिँदैन, त्यसैले प्रशिक्षणमा विधि सिकाउने नमिल्ने, कलामा साहित्य हुने भएकाले जरामा पनि कथा खोज्न सके सुन्दर आकृति तयार हुने कुरा सिकाउछु।’
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल आर्ट काउन्सिल ग्यालरिमा पनि कला प्रदर्शनी गरिसकेका लामिछानेले जर्बुट्टा कला केन्द्र नेपालको पहिलो जर्बुट्टा सङग्रहालय भएको दाबी गर्छन् । यस कला केन्द्रको नाम पहिले जर्बुट्टा कला सङग्रहालय थियो । कानुनी रुपमा जाने प्रकियामा संस्था दर्ता गर्न खोज्दा जिल्ला प्रशासन कार्यालयले जर्बुट्टाको सङग्रहालय दर्ता गर्ने कानुन नहुदा संस्था दर्ता गर्न नसक्ने बताएको थियो । त्यसपछि सहयोगको लागि गृह मन्त्रालयमा बुझ्दा कानुन अभावका कारण सङग्रहालय भनि दर्ता गर्न नमिल्ने तर अन्य नाम भएको खण्डमा मिल्ने भनेको हुदा यस संस्थाको नाम जर्बुट्टा कला सङग्रहालयबाट जर्बुट्टा कला केन्द्र राखि २०७८ साल श्रावण २० गते कानुनी रुपमा दर्ता भएको हो । कला केन्द्रको रुपमा सञ्चालनमा रहेतापनि लामिछानेले यसलाई सङग्रहालय मानेर सञ्चालन गरिरहेका छन् । अहिले लामिछाने संयोजकत्वको ११ सदस्यीय समिति केन्द्र र त्यहाँ संग्रहित आकृतिको संरक्षणमा जुटेको छ । तीन सय ५० भन्दा बढि किसिमका आकृतिहरुको सङग्रहालय बनाएका लामिछानेले ति आकृतिहरुको बिक्रि भने गर्दैनन् । आकृति विक्री गर्दा आफ्नो अस्तित्व र कला मरेर जाने लामिछानेको बुझाई छ । ‘किन्छु भनेर स्वदेशी, विदेशी धेरै आए तर यो कला मैले बेचे भने कला त मरेर जाने भयो नि’, उनी थप भन्छन, ‘एउटा जस्तै अर्को बनाउन सकिदैन, अनि बेच्दै जाँदा कला त सधैका लागि लोप हुन्छ।’
जर्बुट्टा कला रुट आर्ट तथा रुट कार्भिङको रुपमा विश्वभर परिचित छ। रुट कार्भिङलाई परम्परागत चाइनिज कलाको रुपमा लिइन्छ। चिनको रुट कार्भिङको इतिहास हेर्ने हो भने, किङ्ग राजवंशको पालामा ९सन १६४४(१९११० सम्राटहरुका लागि जनावर तथा ड्रयागनको आकार–प्रकारमा रुखका जराका विभिन्न कलाकृतिहरु बनाउने गरेको मानिन्छ । जसमध्ये ‘जेड ड्रयागन’ अहिलेपनि सांघाइको सङग्रहालयमा राखिएको छ। यसमा चार खुट्टा भएको जनावरमा बाघको टाउको, ड्रयागनको शरिर तथा खरायोको पुच्छर जस्तो आकार देखिन्छ। पहिले आदिम मानवहरुले गहनाको रुपमापनि रुखका जरा लगाउथे । लामिछानेलाई साहित्यकलामा रुची रहेकी उनकी श्रीमती प्रशिद्धा शर्माको पनि साथ छ । शर्माको हालसम्म दुईवटा कविता संग्रह प्रकाशित छन, बुढो रुखको प्रतिबिम्ब र अन्तिम रातको घोषणा । साहित्यमा रुचि रहेकी शर्मा पेशाले शिक्षिका हुन् ।
वर्षौदेखि घरमा नै सङग्रहालय सञ्चालन गर्दै आएको यस कला केन्द्रलाई अहिले भने बाग्मति प्रदेश सरकारले भवन निर्माणका लागि ५० लाख आर्थिक सहयोग गरेको छ । लामिछाने स्वयमले केन्द्रका लागि आफ्नो १ कठ्ठा व्यक्तिगत जग्गा भवन निर्माणका लागि सहयोग गरेका छन् । अहिले केन्द्रको भवन निर्माणकार्य सम्पन्न भइसक्दा फिनिसिङगको केहि काम बाँकि छ । तर २९ फुट लम्बाई र १४ फुट चौडाईको एकतले नयाँ भवन बनेपनि आफ्ना सबै मुर्ति तथा आकृतिहरु यस भवनमा नअट्ने हुदा लामिछाने यसबारे चिन्तित छन्। हालसम्म बनाएका आकृति मिलाएर राख्न भवनभित्र उपयुक्त फर्निचर नहुँदा आकृति सबै नअट्ने भएको हो । उपयुक्त फर्निचरको लागि लामिछाने अहिले सहयोगित हात खोजिरहेका छन् । त्यतिनजेल नयाँ भवनलाई निकट भविष्यमा केन्द्रसँग उपलब्ध फर्निचरको क्षमता अनुसार नै आकृतिहरु राखेर सञ्चालनमा ल्याउने उनको योजना छ ।