काठमाडौँ । नेपाली पक्षलाई सूचना वा जानकारी नै नदिई चीनले नेपालतर्फका दुवै स्थल नाका बन्द गरेको छ ।
त्यहाँस्थित नेपाली भन्सार कार्यालयहरुले नाका बन्द भएको पुष्टी गरेका छन् ।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नारद गौतमका अनुसार अहिले चीनबाट नेपाल आउने समान नआएको र नाका ठप्प छ । उनले आफुहरुलाई औपचारिक जानकारी नभएकोसमेत बताएका छन् । ‘औपचारिक कुनै जानकारी छैन, बुधबारदेखि नाका बन्द भएको छ,’ गौतमले भने ।
यता रसुवाको रसुवागढी नाका पनि बन्द भएको रसुवागढी भन्सार प्रशासक डा. रामप्रसाद मैनालीले बताएका छन् । ‘तिब्बततर्फ लकडाउन भएको अपुष्ट जानकारी आएको छ । शनिबारदेखि रसुवागढी नाका ठप्प छ।’

त्यहाँका स्थानीयले भने चीनले गरेको अघोसित नाकाबन्दीले निरन्तरता पाएको र नेपाल पक्षले सो अघोसित नाकाबन्दी खोल्न पहल नै नगरेको गुनासो गरेका छन् । ‘बर्षौं भयो चीनले एकतर्फी अघोसित नाकाबन्दी गरेको छ । उसले बेच्न चाहेको सामान मात्र अलिअलि आईरहेको छ ।’ एक स्थानीयबासीले भने- ‘यहाँको अर्थतन्त्र बर्षौंदेखि चीनले अघोसित नाकाबन्दीका कारण चौपट भइसक्यो । बोलिदिने कोहि छैन।’