काठमाडौं । नेपाली बैंकका एटिएम ह्याक गर्ने चिनियाँ नागरिकलाई कार्वाही नुहँदा नेपाली बैंकिङ सिस्टम जोखिममा परेको छ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)मा आबद्ध सयौँ एटिएम ह्याक गरी करोडौँ रुपैयाँ चोरी गर्नेहरुलाई कार्वाही हुन नसक्दा नेपाली बैंकिङ सिस्टम थप जोखिममा देखिएको हो ।
१४ भदौ २०७६ मा नेप्समा आबद्ध सबै एटिएम मेशिनहरु बैंकको सिस्टमबाट टुटाएर १८ बैंकबाट करोडौं रुपैयाँ चोरी गरेको आरोपमा प्रहरीले आधा दर्जन बढी चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको थियो । तर, सो प्रकरणका मुख्य अभियुक्तलाई प्रहरीले अझै पनि पक्राउ गर्न सकेको छैन ।
घटनामा संलग्न आठ जना मध्ये दुई जना चिनियाँ नागरिक पक्राउ परेका थिएनन् । सो घटनामा बाहिरबाट देखिएको एक करोड ८९ लाख रुपैयाँ निकालिएको थियो । सबै सिष्टमको गेटवे ह्याक गरेर १८ वटा बैंकका एटिएम बुथबाट फ्रि बनाइदिएर जति रकम पनि निकाल्न मिल्ने बनाइएको थियो ।
सो घटनाको सम्बन्धमा नेप्सेले सिंगापुरस्थित भेरी जोन कम्पनीबाट फरेन्सिक टोली मगाएर अनुसन्धान गरिएको थियो । सो अनुसन्धान प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन ।
नेपालको बैंकिङ इतिहासकै सबैभन्दा ठूलो घोटाला काण्डको छानविन अपुरो नै रहेको छ । सो काण्डका मुख्य अभियुक्तहरु अझै खुलमखुल्ला हिडिरहेका छन् । एटिएमको सिष्टम ह्याक गरी करोडौं लुटिएको काण्डमा छानविनको निरन्तर फलो गर्न नसक्दा हाल नेपाली बैंकिङ सिस्टम नै थप जोखिममा परेको छ ।