Skip to content
LAXMI SUNRISE BANK

जयनगर-कुर्था-बिजलपुरा रेलसेवा सञ्चालन

अर्थ सरोकार

काठमाडौं । भारतको जयनगरदेखि महत्तरीको बिजलपुरासम्म रेलसेवा संचालनमा आएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बिजलपुरामा आयोजित एक समारोहबीच जयनगर–बिजलपुरा–बर्दिवास अन्तरदेशीय रेलमार्ग अन्तर्गतको कुर्था–बिजलपुरा रेल खण्डको आइतबार शुभारम्भ गर्नुभयो । उक्त समारोहमा भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव, मधेस प्रदेशका राजनीतिक नेता, नेपाल सरकारका प्रतिनिधि लगायत अन्यको उपस्थिति थियो ।

समारोहमा बोल्दै मन्त्री ज्वालाले रेल क्षेत्रसहित नेपालका पूर्वाधारको विकासमा भारत सरकारको निरन्तर सहयोगका लागि आभार व्यक्त गरेका छन् । उनले रेल कनेक्टिभिटीले दुई देशका जनताबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै नेपालको व्यापार र पर्यटन प्रवर्धन गर्न मद्दत गर्ने बताएका छन् ।

सोही समारोहमा बोल्दै नियोग उप–प्रमुख श्रीवास्तवले दुवै देशका जनताको फाइदाका लागि दुई देशबीच कायम विकास साझेदारीलाई थप बलियो बनाउन भारत सरकार सदैव प्रतिबध्द रहेको बताए।

प्रधानमन्त्री प्रचण्डको गत महिना सम्पन्न भारत भ्रमणका क्रममा सरकारलाई यो खण्ड हस्तान्तरण गरिएको थियो । कूल १७.३ किलोमिटर लम्बाई रहेको यस कुर्था–बिजलपुरा खण्डमा कुर्था, पिपराडी, लोहारपट्टी, सिंग्याही र बिजलपुरा गरी ५ वटा स्टेसनहरु रहेका छन् । भारु ७८३.८३ करोड लागतमा भारत सरकारको अनुदान सहयोग अन्तर्गत निर्माण गरिएको यो खण्ड जयनगर–बिजलपुरा–बर्दिवास अन्तरदेशीय रेलमार्ग परियोजनाको दोस्रो चरण रहेको छ ।

जयनगरदेखि कुर्थासम्मको पहिलो चरणको गत वर्ष अप्रिलमा उद्घाटन भई त्यसयता सञ्चालनमा रहेको छ । बिजलपुरादेखि बर्दिवास जोड्ने तेस्रो चरणका लागि हाल जग्गा अधिग्रहणको काम भइरहेको विज्ञप्ति मार्फत  जनाइएको छ।

‘यस परियोजनाको कार्यान्वयनले नेपालका नयाँ क्षेत्रमा भरपर्दो, किफायती र द्रुत यातायातको व्यवस्था हुनेछ । यो परियोजना हाल भारतद्वारा नेपालमा कार्यान्वयन भइरहेका कैयौं कनेक्टिभिटी परियोजनाहरुकैै एक भाग हो । यसले भारत र नेपालबीचको भौतिक सम्पर्कलाई थप अभिवृद्धि गर्नेछ, जुन भारत सरकारको छिमेकी पहिलो नीतिको महत्वपूर्ण अंश हो ।’ दूतावासको भनाइ छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK