काठमाडौं । संखुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पसको क्याम्पस भवनको उद्घाटन गरिएको छ । भवनको परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उक्त भवन ‘नेपाल–भारत विकास सहयोग’अन्तर्गत भारत र नेपाल सरकारबीच भएको सम्झौताअनुसार तीन करोड ७४ लाख रुपैयाँको लागतमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा निर्माण गरिएको हो । नवनिर्मित तीनतल्ले क्याम्पस भवनमा कक्षाकोठा, विज्ञान प्रयोगशाला, कम्प्युटर, पुस्तकालय, बैठक हल आदि रहेका छन् । जिल्ला समन्वय समिति संखुवासभाले यस परियोजनाको कार्यान्वयन गरेको हो ।
परराष्ट्रमन्त्री साउदले भारतले नेपाल र नेपाली जनताको विकासमा योगदान पुर्याएको र भारत जस्तो छिमेकी पाउनु नेपालको लागि गर्वको विषय भएको बताए । उनले यो विकास परियोजनाले आउँदो पुस्ताका लागि शिक्षा सुनिश्चित गर्ने र उनीहरुको करियरमा सहयोग पुर्याउने भएकाले विशेष महत्व रहेको बताएका छन् । त्यस्तै, भारतीय राजदूत श्रीवास्तवले यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको बताएका छन् ।
हिमालय मिडिल स्कुलको रुपमा सन् १९४९ मा हिमालय किरण पब्लिक क्याम्पसको स्थापना भएको हो । सन् २००५ मा स्नातकोत्तर तहका कोर्ष सञ्चालन गर्न यस विद्यालयको स्तरोन्नति गरी हिमालय किरण पब्लिक क्याम्पस नाम राखियो । क्याम्पसमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्, जसमा ६० प्रतिशत छात्रा रहेका छन् ।
सन् २००३ यता भारतले नेपालमा ५५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएकोमा ४८३ वटा सम्पन्न भइसकेका छन् । तीमध्ये कोसी प्रदेशमा विभिन्न क्षेत्रका गरी ८४ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना रहेका छन् ।