Skip to content
LAXMI SUNRISE BANK

अर्थतन्त्र विस्तारै सकारात्मक दिशामा गइरहेको छ: अर्थमन्त्री महत

अर्थ सरोकार

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अघिल्ला दिनमा जग्गा र सेयरमा धेरै ऋण प्रवाह हुँदा समस्या देखिएको अर्थतन्त्र अहिले विस्तारै सकारात्मक दिशामा गइरहेको बताएका छन् । मध्यपुर थिमि नगरपालिकाले शंखधर साख्वा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।अघिल्ला दिनमा जग्गा र सेयरमा बढी ऋण प्रवाह भएकाले त्यसबाट प्रतिफल नआउँदा अर्थतन्त्रमा समस्या आएको उनको भनाई छ । उनले कार्यक्रममा बोल्दै भने, ‘हिजोको दिनमा धेरै ऋण प्रवाह गरियो, धेरै मानिसले जग्गा र सेयरमा लगानी गरे । यसैको प्रतिफल हो, हातमा नगद छैन, ऋण तिर्न धौधौ परेको छ, जसले धेरै ऋण लिएका थिए, ऊ नै किन तिर्ने ऋण भन्दै हिडिरहेका छन् । दुरुपयोग गर्नेको कुरा छाडौं, तर कोही गर्दागर्दै पनि साँच्चिकै समस्यामा परेका छन् ।’

काम गर्न खोज्दाखोज्दै विविध परिस्थितिले अप्ठ्यारोमा परेकालाई राज्यले हेर्ने उनको भनाइ छ । महतले भने, ‘ऋण लिने, दस ठाउँमा लगानी गर्ने र खाने तर तिर्दिन भन्न चाहिँ पाइँदैन , हाम्रो अर्थतन्त्र विस्तारै सकारात्मक दिशामा गइरहेको छ । विप्रेषण आइरहेको छ, अहिले पर्यटक सबैभन्दा धेरै आइरहेका छन् । सरकारले सडक सञ्जाल विस्तार गरेको छ, यसले आर्थिक रुपान्तरणमा ठूलो सहयोग पुग्नेछ ।’नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई स्मरण गर्दै अर्थमन्त्री महतले सत्यको मुख बन्द हुँदा झुट कुरा प्रवाह भइरहेको बताएका छन् । उनले भने, ‘बीपी कोइरालाले भन्नुभएको थियो जब सत्यको मुख बन्द हुन्छ त्यसपछि झुटोको थुतुनो चल्छ । थुतुनो चलाउनेसँग किन बोल्ने भनेर चुप बस्यो भने बोल्नेको साम्राज्य चल्छ । बोल्ने मान्छेको कुरा सत्य रहेछ भनेर मानिसहरु पछि लाग्छन् । हामीले सत्य बोल्न छाड्नु भएन । सत्यको मुख खोल्न थालेपछि झुटो थुतुनो बन्द हुन्छ । झुटहरूको मुख बन्द गर्न जरुरी छ ।’

अर्थमन्त्री महतले जनताले संघर्ष, मिहिनेत र योगदानबाट लोकतन्त्र स्थापना गरेको बताएका छन् । उनले भने, ‘विगतमा मुलुकको अवस्था दयनीय रहेको तर त्यसको भ्रमपूर्ण प्रचार अहिले भइरहेको उनको भनाई थियो । हिजोको समय सुनौलो युग थियो भन्नु गलत हो । त्यो बेला आधा मानिसहरू खाली खुट्टा हिँड्ने गर्थे । तर अहिलेको व्यवस्थाले धेरै परिवर्तन आएको छ । अझै धेरै गर्नुपर्ने हो तर भएको छैन ,अहिलेसम्म भएको उपलब्धि यही लोकतान्त्रिक पद्धतिमार्फत सम्भव छ । आज जुन प्रवृत्तिले बोलिरहेको छ यो प्रवृत्तिले हिजो बोल्न दिएका थिएनन् । अहिलेको व्यवस्थाले बोल्न सबैलाई दियो । अहिलेको व्यवस्थालाई खोस्ने सोच कसैले बनाएको छ भने त्यो गलत हुन्छ, सफल हुँदैन ।’

पछिल्लो समय विश्व अर्थतन्त्र नै शिथिल भएर मन्दीमा गएको बताउँदै त्यसको प्रभाव नेपालमा पनि परेको अर्थमन्त्री  महतको भनाइ थियो । उनले नेपालको अर्थतन्त्र सकारात्मक दिशामा रहेको पनि बताए । साथै,  कोभिड महामारी, भूकम्प लगायतका असर भोगेर पनि नेपालको अर्थतन्त्र सकारात्मक रहेकोसमेत बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK