काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा.एस जयशङ्कर र मधेस केन्द्रित तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।
बिहीबार भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा अन्तरक्रिया भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । भेटमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सहभागी रहेका थिए ।
यसअघि भारतीय विदेशमन्त्री डा.जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए । उनी भ्रमण सम्पन्न गरी पुस २० गते स्वदेश फर्किनेछन् ।