काठमाडौं । लुम्बिनीमा हुने भनिएको चौथो इन्टरनेशनल लुरिएट्स एण्ड लिडर्स समिटको समय छोट्याइएको छ । फागुन २७ गतेदेखि २९ गते (मार्च १० देखि १२) सम्म हुने भनिएको समिटको समय एक दिन छोट्याइएको हो ।
चिनियाँ कूटनीतिक दबाबका कारण समिट छोट्याइएको जनाईएको छ । चीनले मार्च १० अर्थात् फागुन २९ गतेलाई अत्यन्तै संवेदनशीलरूपमा लिने गर्छ । किनभने सोहिदिन तिब्बतीहरूले चीनविरुद्ध विद्रोह सुरु गरेका थिए । सोहि कारण विश्वका ९० जना नोबेल शान्ति पुरस्कार विजेतासहित विशिष्ट व्यक्ति सहभागी हुने कार्यक्रम एक दिन पछि सारिएको स्रोतले जनाएको छ ।
लुम्बिनीमा हुने नोबेल पुरस्कार विजेताहरूको भेलाले नेपालमा पश्चिमा मुलुकको स्वार्थ हाबी हुन मद्दत पुग्ने र तिब्बतीहरूप्रति सहानुभूति जाने विश्लेषण चिनियाँ पक्षले गरेपछि कार्यक्रम एक दिन छोट्याउनु परेको हो ।
एक दिन छोट्याएसँगै कार्यक्रम अब दुई दिने मात्रै अर्थात् मार्च ११ र १२ मा मात्रै हुने भएको छ । कार्यक्रमको तयारी प्रदेश सरकारका मुख्यमन्त्री डिल्ली चौधरीको नेतृत्वमा चलिरहेको छ ।
आयोजकका अनुसार नोबेल शान्ति पुरस्कार विजेता अब्देसातार बेन मुसा र ओउडेड बोचामाउई (२०१५), भारतका कैलाश सत्यार्थी (२०१४), एरिह वार्शेल (२०१३), नोबेल शान्ति पुरस्कार विजेता लेमाह गोबोवी र तावाक्कोल करमान (२०११), जोडी विलियम्स (१९९७), जोडी विलियम्स (१९९७), होर्टा (१९९६), र रिचर्ड जे रोबर्ट्स (१९९३) नेपाल आउँदैछन् ।
सम्मेलनमा सहभागी हुनका लागि जोर्डनका राजकुमार अली बिन अल हुसेन, अर्थशास्त्री जेफ्री साक्स, पानामाकी पूर्वप्रथम महिला लोरेना कास्टिलो गार्सिया डे भारेला, अन्तर्संसदीय सङ्घका महासचिव मार्टिन चुङगोङ र स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटका अध्यक्ष स्टेफान लोफभेन पनि आउने जनाईएको छ ।