काठमाडौं। महालक्ष्मी विकास बैंक ३०औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय साक्षरता र्याली तथा आफ्ना ८ वटा शाखाहरू मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
स्वास्थ्य तथा आँखा शिविर, महालक्ष्मी कर्पोरेट क्रिकेट लिग- २०२४, शृङ्खला ३ लगायत विभिन्न कार्यक्रमहरू गरी ३० औँ वार्षिकोत्सव सम्पन्न गरिने बैंकले जनाएको छ ।
बैंकले वार्षिकोत्सवको अवसरमा आठ शाखा कार्यालयहरू मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरी कुल २९५ पिन्ट रगत संकलन गरेको छ । स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गरेको हो ।
केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालयहरू तथा शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा जेठ ५ गते, शनिबार बिहान ७ः३० देखि ८ः३० बजेसम्म वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ । उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ सेवाहरूः जस्तै मोबाइल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डको प्रयोग गरिएको थियो ।
बैंकले जेठ ७ गते, सोमबार केन्द्रिय, प्रादेशिक तथा शाखा कार्यालयहरू मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरूलाई स्थानीय भेषभुषामा बैंकमा उपस्थित गराएर सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
त्यसैगरी बैंकको केन्द्रिय कार्यालय दरबारमार्गमा जेठ ८ गते स्वास्थ्य शिविर र जेठ ९ गते आँखा शिविर सञ्चालन गरिनेछ । विगत २ वर्षदेखि सुरुवात गरिएको महालक्ष्मी कर्पोरेट क्रिकेटको तेस्रो शृङ्खला (महालक्ष्मी कर्पोरेट क्रिकेट लिग -२०२४, शृङ्खला ३) १६ टिमको सहभागितामा बैंकले जेठ २२, २३ र २४ गते सञ्चालन गरिने बैंकले जनाएको छ ।