काठमाडौँ । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको जाहेरी झिकाउन आदेश दिएको छ ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले पोखराका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अपचलनमा गृहमन्त्रीको संलग्नताको विषयमा परेको उजुरी झिकाउन आदेश दिएको हो ।
सूर्यदर्शन सहकारीका बचतकर्ताहरुले २०८० माघ २२ गते रवि लामिछाने, दीपेश पुनसहित विभिन्न १८ व्यक्ति तथा संस्थाविरुद्ध पूरक जाहेरी दिएका थिए । अदालतले सोही पूरक जाहेरीको प्रमाणित प्रतिलिपि झिकाउन आदेश दिएको हो ।
यसअघि महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीमा कुनै उजुरी नपरेको र अभियोजन नभएको पत्र लेखेको थियो । तर, सो पत्र गैरकानूनी भएको भन्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले जाहेरीको प्रतिलिपि झिकाउन आदेश दिएको छ ।
योसँगै अदालतले महान्यायाधिवक्ता कार्यालयलले गृहमन्त्री लामिछानेको नाममा कुनै उजुरी नपरेको भन्दै लेखेको पत्रको प्रतिलिपि झिकाउन पनि आदेश दिएको छ ।