काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा गम्भीर बन्न सरकारलाई सुझाव दिएका छन् । आर्थिक वर्ष २०८१/८२ को बजेटका विषयमा बोल्दै ओलीले बजेट कार्यान्वयनमा गम्भीर बन्न सरकारलाई सुझाव दिएका हुन् ।
ओलीले बजेट निर्माण गर्ने क्रममा सरकारले उद्यमशीलतालाई प्रोत्साहन गर्न कच्चा पदार्थको आयात सहज हुनुपर्ने र करका दर कम गर्ने विषयमा ध्यान दिन नसकेको बताएका छन् ।
त्यस्तै, उनले आगामी आर्थिक वर्षको बजेटलाई प्रभावकारी कार्यान्वयनका लागि बजेटमा गर्नुपर्ने करेक्सनका विषयमा पनि छलफल भइरहेको बताएका छन् ।
हाल नेपालले विदेशबाट थुप्रै लगानी भित्र्याइरहेको भए पनि सदुपयोग गर्न नसकेको भन्दै लगानी सदुपयोग गरेर मुलुकमा उत्पादन र रोजगारी बढाउनेतर्फ ध्यान दिन पनि ओलीले सुझाव दिएका छन् । साथै अध्यक्ष ओलीले उद्योगमा प्रविधिको प्रयोगले औद्योगिकीकरणको भविष्य निर्धारण गर्ने भन्दै कृषिको आधुनिकीकरण र औद्योगिकीकरण गर्न नसके देशको अवस्था नबदलिने बताएका छन् ।