काठमाडौँ । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा लुम्बिनीमा एक बृहत् योग प्रदर्शनको आयोजना गरेको छ । अन्तर्राष्ट्रिय योग दिवसको विषय (थिम) ‘स्वयम् र समाजका लागि योग’ रहेको भारतीय राजदूतावासले जनाएको छ ।
लुम्बिनीमा आयोजना गरिएको उक्त प्रदर्शनका प्रमुख अतिथि लुम्बिनीका मुख्यमन्त्री जोख बहादुर महरा रहेका थिए । भगवान् बुद्धको पवित्र जन्मस्थलमा यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा र नेपाल-भारत सांस्कृतिक सम्बन्धलाई बलियो बनाएकोमा भारतीय राजदूतावासलाई धन्यवाद ज्ञापन गरेका थिए ।
त्यस्तै, मुख्यमन्त्री महराले अझ स्वस्थ र सन्तुलित समाजको निर्माण गर्न अन्तर्राष्ट्रिय योग दिवसले योगबारे अझ बढी चेतना जगाउन मद्दत गर्ने पनि बताएका छन् । लुम्बिनी विकास कोषका वरिष्ठ अधिकारी र त्यसै क्षेत्रका ९०० जना भन्दा बढी योगमा अभिरुचि राख्नेहरुले कार्यक्रममा सहभागिता जनाएका थिए ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले गरेको प्रस्तावका आधारमा संयुक्त राष्ट्रसंघले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा तोकेपछि योग एउटा ग्लोबल फेनोमेनन बन्न पुगेको बताए । उनले शान्ति र सद्भावको प्रतीक लुम्बिनीको पवित्र भूमिले योगको अनन्त अभ्यासलाई उत्सवको रुपमा मनाउनका लागि उपयुक्त वातावरण प्रदान गरेको बताए । उनले भारतीय राजदूतावासले हरेक वर्ष लुम्बिनी विकास कोषसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय योग दिवस लुम्बिनीमा मनाउने पनि बताएका छन् ।
उक्त कार्यक्रम भारतीय राजदूतावासले १०औं अन्तर्राष्ट्रिय योग दिवस मनाउन नेपालका विभिन्न सहरमा आयोजना गरेको कार्यक्रमहरुको शृङ्खलाको एक हिस्सा रहेको भारतीय राजदूतावासले जनाएको छ ।