काठमाडौँ । चालु आर्थिक वर्षको समाप्तिमा पनि पाउनुपर्ने रकम भुक्तानी नभएको निर्माण व्यवसायीले गुनासो गरेका छन् । चालु आर्थिक वर्षका लागि भुक्तानी दिने अन्तिम दिन (सोमबार) पनि पाउनुपर्ने रकम नपाएको व्यवसायीहरुले गुनासो गरेका हुन् । व्यवसायीहरुका अनुसार नयाँ र पुरानो गरेर करिब ६० अर्ब रुपैयाँ भुक्तानी लिन बाँकी देखिएको छ ।
तर, भुक्तानीको दिने अन्तिम दिन सरकारी अधिकारीहरुले आफू निकटलाई मात्रै रकम भुक्तानी गरेको निर्माण व्यवसायीहरुको आरोप छ । भुक्तानी पाएकाहरुले पनि सबै रकम भने पाएका छैनन् ।
भुक्तानी दिनुपर्ने रकम पनि सरकारले स्रोत सुनिश्चितताको बाहनामा रोक्दै आएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । उनले निर्माण व्यवसायीको भुक्तानीका सवालमा मन्त्रीले सचिव र सचिवले कर्मचारीलाई देखाउँदै पन्छिने गरेको आरोप लगाएका छन् । ‘केही भुक्तानी भएको छ तर सरकार निकट वा कर्मचारी निकटका व्यवसायीहरुको न्यून रकम मात्र भुक्तानी भएको छ । मन्त्रीज्यूले मैले काम रोकेको छैन भन्नुहुन्छ, मन्त्रालयका सचिवज्यूले कर्मचारीलाई काम लगाउन सकिएन भन्नुहुन्छ ।’, उनले भने, ‘हामीलाई अलमल्याउने काम भइरहेको छ ।’
सिंहका अनुसार निर्माण व्यवसायीहरुको एउटा टोली सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्न गएको थियो । प्रधानमन्त्री दाहालले अर्थसचिव मधुकुमार मरासिनीलाई फोन गरेरै भुक्तानीको व्यवस्था गर्न निर्देशन दिएका थिए । तर, सचिव मरासिनीले स्रोत सुनिश्चितता र कर्मचारीलाई काम लगाउन नसकेको जवाफ फर्काएको सिंहले बताएका छन् ।
सार्वजनिक खरिद नियमावलीको १३औं संशोधन भएर म्याद थप भएपछि राज्यले निर्माण व्यवसायीलाई नयाँ-पुरानो गरी ६० अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी रहेको सिंहको दाबी छ ।