काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने सञ्जीवनी बुटी बन्नुपर्ने बताएका छन् । मंगलवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग महासंघले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा बोल्दै अध्यक्ष ढकालले यस्तो सुझाव दिएका हुन् ।
उनले आगामी आर्थिक वर्षको मौद्रिक नीति व्यवसायी तथा वित्तीय क्षेत्रलाई बचाउने गरी सञ्जीवनी बुटी बन्नेगरी आउनुपर्ने बताए ।
‘सहकारी र लघुवित्तमा आएको समस्यापछिपछी गाउँगाउँमा कर्जा प्रवाह साँघुरिएको अवस्था छ । बैंक तथा वित्तीय संस्थासँगै व्यवसायलाई माथि उठाउने हिसाबले मौद्रिक नीति सञ्जीवनि बुटी बन्नुपर्छ ।’, अध्यक्ष ढकालले भने, ‘सबै व्यवसायीहरु खराब छैनन् । सबै ऋणी नियतबस डिफल्ट भएका होइनन् । वास्तवमै समस्यामा परेर कर्जाको सावाँ ब्याज तिर्न नसकेका हुन् ।’
त्यस्तै, उनले उत्पादनमूलक उद्योगको क्षमता बढाउँदै बैंकको ब्याजदर विगतको भन्दा कम गर्ने विषय नीतिले बोल्नुपर्ने बताएका छन् । मागमा आएको संकुचनको कारण उद्योगीहरुको ऋण तिर्ने नसकेको भन्दै मौद्रिक नीतिले त्यसलाई सम्बोधन गर्नुपर्नेमा ढकालले जोड दिएका छन् । उनले राष्ट्र बैंकले लगानीलाई प्रोत्साहन, पर्यटन पूर्वाधार र व्यवसायलाई प्रवर्द्धन गर्ने विषयमा मौद्रिक नीतिले केही सोच्नुपर्ने उल्लेख गरेका छन् ।
यस्तै, निजी क्षेत्रमा प्रवाह हुने कर्जालाई सहज र सुलभ गरिनुपर्ने ढकालको भनाई छ । उनले निक्षेपको तुलनामा कर्जा प्रवाह आधा मात्रै बढेको उल्लेख गर्दै नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन र निजी क्षेत्रको गिर्दो मनोबलका कारण नयाँ लगानीका योजना समेत स्थगन भइरहेकाले मनोबल उच्च बनाउने मौद्रिक नीति अहिलेको आवश्यकता भएको बताएका छन् । साथै ढकालले सबै ऋणीले नियतबस कर्जा नतिरेको नभइ वास्तविक रुपमै समस्यामा परेर बैंकको ऋण तिर्न नसकेको पनि उल्लेख गरेका छन् । कर्जा चुक्ता गरेलगत्तै व्यवसायी तथा कम्पनीलाई कालोसूचीबाट हटाउने व्यवस्था गर्न पनि ढकालले राष्ट्र बैंकलाई सुझाव दिएका छन् ।