काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ८ .५९ प्रतिशतले घटेको हो । असार मसान्तसम्म बैंकले २ अर्ब ३८ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा २ अर्ब ६० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज बढ्दा नाफा प्रभावित भएको हो । बैंकको इम्पेयमेन्ट चार्ज ४१.९० प्रतिशत बढेर १ अर्ब ४९ करोड ४३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सानिमाको खुद ब्याज आम्दानी पनि ४.६४ प्रतिशत घटेर ६ अर्ब १७ करोड रुपैयाँ कायम भएको छ । बैंकको सञ्चालन नाफा पनि ८.७३ प्रतिशतले घटेको छ ।
यता, बैंकको प्रतिसेयर आम्दानी १७.५४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने १५४.३५ रुपैयाँ छ । एनपीएल १.७३ प्रतिशत कायम भएको छ ।
चक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ रहेको सानिमाको जगेडा कोषमा ५ अर्ब ९६ करोड रुपैयाँ जम्मा रहेको छ । यस्तै, बैंकको वितरणयोग्य नाफा १ अर्ब ४१ करोड रुपैयाँ देखिएको छ ।