काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत कर्मचारीको तलब बढाउने तयारी गरेको छ । बजेटको अन्तिम तयारीमा रहेको सरकारले सरकारी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गर्नेगरी तयारी गरेको अर्थ मन्त्रालय स्रोतको दाबी छ ।
स्रोतका अनुसार सरकारले स्थायी र अस्थाई सबै कर्मचारीको तलब बढाउने तयारी गरेको छ । सो का लागि ‘ड्राफ्ट’ समेत तयार पारिसकिएको स्रोतले बताएको छ ।
बजेटमार्फत कर्मचारीको तलब वृद्धि भए अवकासप्राप्त कर्मचारीहरुले पाउने पेन्सन रकम पनि बढ्नेछ । हाल कर्मचारीको तलबमा वार्षिक एक खर्ब २५ अर्ब र पेन्सनमा वार्षिक करिब साढे ८८ अर्ब रुपैयाँ खर्च हुँदै आएको छ ।
अर्कोतर्फ तलब बढे पनि कर्मचारीहरुको महँगी भत्ता भने अहिलेकैलाई निरन्तरता दिइने स्रोतले बताएको छ । हाल बहालवाला कर्मचारीहरुलाई तलब बाहेक मासिक २ हजार रुपैयाँका दरले महँगी भत्ता र वार्षिक १० हजार रुपैयाँका दरले पोशाक भत्ता उपलब्ध गराइँदै आएको छ । बजेटमार्फत तलब बढाउने सरकारले तयारी गरेपछि कर्मचारीहरु खुसी भएका छन् ।