काठमाडौं । नेपालको अग्रणी राइड-सेयरिङ सेवा प्रदायक पठाओ नेपालले यात्रु तथा चालकको सुरक्षालाई प्राथमिकता दिँदै ‘क्विक रिस्पोन्स टिम’ (क्यूआरटी) सञ्चालन गरिरहेको छ ।
अनलाइन राइडको क्रममा हुन सक्ने दुर्घटना, विवाद, दुर्व्यवहार वा शंकास्पद गतिविधि भएमा क्यूआरटी टिम तत्काल घटनास्थल पुगेर विवरण संकलन गर्ने, आवश्यक समन्वय गरि सहयोग उपलब्ध गराउने गर्दै आइरहेको छ ।
पठाओकी निर्देशक सुरक्षा हमालका अनुसार, पछिल्लो तीन वर्षदेखि सञ्चालनमा रहेको क्यूआरटीको मुख्य उद्देश्य यात्राको क्रममा हुने दुर्घटनापछि आवश्यक पर्ने पुलिस रिपोर्ट, मिलापत्र तथा अन्य कागजात बनाउनको लागि चालक वा यात्रुलाई सहज बनाउने हो ।
त्यस्तै, दुर्व्यवहार सम्बन्धी कुनै पनि घटनामा शून्य सहनशीलता नीति अवलम्बन गर्ने, अनलाइन यात्राका क्रममा ग्राहक वा चालकबाट देखापर्ने अभद्र व्यवहार तथा संवेदनशील गुनासोमा तत्काल हस्तक्षेप गर्ने तथा हराएको वा चोरीको सामानसम्बन्धी विवादमा छिटो प्रतिक्रिया दिने काम क्यूआरटीले गर्दछ ।
समस्या वा दुर्घटनाबारे सूचना आएको खण्डमा क्वीक रेस्पोन्स टीमले कल सेन्टर वा सामाजिक सञ्जालमार्फत प्राप्त तथ्यलाई पठाओको सिस्टममा पहिचान गरी प्रारम्भिक छानबिन गर्छ । फोनकल, जीपीएस डेटा, राइड हिस्ट्री तथा उपलब्ध विवरणका आधारमा समस्या पुष्टि भएपछि क्विक रेस्पोन्स टीमले सम्बन्धित चालक वा यात्रुसँग कुराकानी गर्ने र आवश्यक परेको खण्डमा घटनास्थलमै पुगेर आवश्यक सहयोग जुटाउने र स्थानीय प्रहरी प्रशासन र अन्य आवश्यक सम्बन्धित निकायसँग समन्वय गर्ने काम समेत गर्दछ ।
पठाओले बिमा कम्पनीसँग प्रारम्भिक प्रयोजनका लागि आवश्यक समन्वय गर्दै बिमा दाबी प्रक्रियालाई सरल बनाउन क्विक रेस्पोन्स टीमले निरन्तर सहयोग पुर्याउने हमालले बताइन् । यस क्रममा चालक वा यात्रुलाई कागजी प्रक्रिया, डाक्टरको रिपोर्ट, दुर्घटनाका फोटो वा प्रमाण सुरक्षित गर्ने लगायतका काममा पनि सहयोग गर्दछ । परिस्थिति अनुसार ग्राहक वा चालकले अस्पताल खर्चका लागि १ लाख रुपैयाँसम्म तथा दुर्घटनाका घटनामा १० लाख रुपैयाँसम्मको बिमा दाबी गर्न सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ। दाबी स्वीकृत नभएसम्म क्यूआरटीले निरन्तर फलो–अप तथा आवश्यक सहयोग प्रदान गर्ने गर्छ ।
यात्राका क्रममा भएको कुनै पनि विवाद वा घटनाको टुंगो नलागेसम्म क्यूआर टिम सक्रिय रहने पठाओले जनाएको छ । कम्पनीका अनुसार क्यूआरटीमा कानुनसँग सम्बन्धित कर्मचारी, वकिल, भूपू प्रहरी तथा कल सेन्टरका सदस्यहरुद्वारा सञ्चालन गरिन्छ, जसले पठाओको आन्तरिक सुरक्षा संयन्त्रलाई अझ प्रभावकारी बनाएको छ ।
‘क्यूआरटीले दुर्घटना तथा यात्रु र राइडर बीचको कुनै पनि विवादको समाधान, बिमा दाबी प्रक्रियामा सहजीकरणका साथै कम्पनीको सेवाको गुणस्तर कस्तो छ भन्नेबारे प्रत्यक्ष निगरानी राख्दछ,’ हमालले भनिन् ।








प्रतिक्रिया दिनुहोस्