काठमाडौँ — डिजिटल कारोबारलाई निरुत्साहित गर्ने गरी राष्ट्र बैंकले नयाँ नियम जारी गरेको छ । डिजिटल कारोबारको सीमा साँघुरो पारेको नियमले मोबाइल बैंकिङ र अन्य सेवा प्रदायकबाट सञ्चालित भुक्तानी सेवाबाट हुने कारोबारको सीमा अस्वाभाविकरूपमा खुम्च्याएको छ ।
राष्ट्र बैंकले यसै साता जारी गरेको विद्युतीय कारोबार सीमासम्बन्धी परिपत्रमा मोबाइल बैंकिङबाट हुने कारोबार एक पटकमा ५ हजार वा प्रतिदिन १० हजारसम्म मात्रै गर्न पाइने व्यवस्था छ । परिपत्रमा भुक्तानी सेवा प्रदायकबाट सञ्चालित ई–वालेट, मोबाइल वालेट वा डिजिटल वालेटको माध्यमबाट हुने कारोबारलाई पनि सोही दायरामा खुम्च्याइएको छ ।
पछिल्लो समय मोबाइल वालेट वा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी र आर्थिक कारोबार गर्ने चलन बढ्दै गएको अवस्थामा राष्ट्र बैंकले लागू गरेको साँघुरो दायराका कारण नगद कारोबार नै प्रोत्साहित हुने देखिन्छ । डिजिटल कारोबारको सेवा दिइरहेका सेवा प्रदायक र उपभोक्ताले राष्ट्र बैंकको पछिल्लो नियमप्रति आपत्ति जनाएका छन् । सजिलै निगरानी गर्न मिल्ने र कारोबारको अवस्था थाहा पाउन मिल्ने इन्टरनेट र मोबाइल बैंकिङलाई अंकुश लगाउने राष्ट्र बैंकको नयाँ नियम समयानुकूल नभएको उनीहरूको भनाइ छ ।
डिजिटल कारोबारको सुविधा दिने ई–सेवा सञ्चालन गरेको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्मा राष्ट्र बैंकको पछिल्लो परिपत्रले डिजिटल कारोबारलाई ढुंगे युगमा फर्काएको टिप्पणी गर्छन् ।
‘राष्ट्र बैंकले तोकेको सीमाले मोबाइल रिचार्ज र अन्य सामान्य कारोबार गर्न मात्रै मिल्छ,’ उनको तर्क छ, ‘एक पटकमा ५ हजारसम्मको कारोबार गर्न पाउने सीमाले नगद कारोबारलाई नै बढावा दिन्छ ।’
परिपत्रमा डिजिटल माध्यमबाट एक पटकमा ५ हजारसम्मको मात्रै कारोबार गर्न पाउने नियम भए पनि सरकारी अन्य केही कारोबारमा सीमा नलगाइएको उल्लेख छ ।
‘नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक संस्थाहरू, खानेपानी सेवा, शिक्षण संस्था, स्वास्थ्य संस्था, यातायात सेवा, होटल, सामाजिक सुरक्षा भत्ताजस्ता सेवाहरूमा सीमा तोकिएको छैन,’ परिपत्रमा भनिएको छ । परिपत्रको यो बुँदाले ठूला रकम कारोबारमा अंकुश नलगाएको जस्तो देखिए पनि अर्को बुँदामा मोबाइल वालेटमा बैंक तथा वित्तीय संस्थाबाट सीमाभन्दा बढी रकम ट्रान्सफर गर्न बन्देज लगाइएको छ ।
‘बैंक तथा वित्तीय संस्थाहरूमा रहेको खाताबाट भुक्तानी सेवा प्रदायक संस्थाहरूले सञ्चालन गरेका वालेटमा सोही दिन भुक्तानी गर्ने प्रयोजनको लागि एक पटकमा ५० हजारसम्म ट्रान्सफर गर्न पाइनेछ,’ परिपत्रमा भनिएको छ, ‘उक्त रकम ट्रान्सफर गरिएकै दिन जुन प्रयोजनको लागि ट्रान्सफर गरिएको हो सोही प्रयोजनको लागि भुक्तानी गर्नु पर्नेछ ।’
परिपत्रमा रहेको यो बुँदा अमिल्दो छ । यसले प्रयोगकर्ताले मोबाइलबाट सहजै तिर्नसक्ने कारोबारलाई पनि अप्ठेरो बनाएको छ । कसैले ५० हजारसम्मको रकम मोबाइल वालेटबाट तिर्न चाहन्छ भने पनि बैंकमा पुगेर सोही दिन पैसा ट्रान्सफर गरी सोही दिन तिर्नुपर्ने हुन्छ । ५० हजारभन्दा बढी कारोबार गर्न भने पाइने छैन । यसले रकम कारोबारको परम्परागत तरिका चेक वा नगदलाई नै प्रोत्साहित गर्नेछ ।
बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट भुक्तानी सेवा प्रदायक संस्थाले सञ्चालन गरेको वालेटमा वा वालेटबाट अर्को वालेटमा रकम ट्रान्सफर गर्दा प्रतिकारोबार ५ हजार र प्रतिदिन १५ हजारसम्म मात्रै ट्रान्सफर गर्न सकिने नियममा उल्लेख छ ।
राष्ट्र बैंकको यो नियमले आफ्ना एजेन्टहरूलाई समेत समस्या पर्ने डिजिटल वालेट खल्तीका संस्थापक मनिश मोदी बताउँछन् । खल्तीले खल्ती पसल नाम दिएर डिजिटल कारोबारमा सघाउने एजेन्टको संरचना बनाएको छ । यस्ता एजेन्ट विभिन्न स्थानमा ३ हजारभन्दा बढी भएको मोदी बताउँछन् । आफैंले डिजिटल वालेट प्रयोग नगर्ने उपभोक्ताले यस्ता एजेन्टमार्फत रिचार्ज गराउने, कुनै महसुल तिराउनेजस्ता सेवा लिन पाउँछन् । एजेन्टमार्फत कसैले आफ्नो वालेटमा रकम ट्रान्सफर गर्नपनि पाउँछ ।
यस्ता एजेन्टले कतिसम्म कारोबार गर्न पाउँछन् भन्ने विषयमा नियममा उल्लेख छैन । परिपत्रमा बैंक तथा वित्तीय संस्थाबाट वालेटमा एक पटकमा ५ हजारसम्म र एक दिनमा १५ हजारसम्म मात्रै ट्रान्सफर गर्न मिल्ने भनिएकाले यसको असर धेरै कारोबार गर्नुपर्ने एजेन्टहरूलाई पनि पर्ने देखिन्छ । ई–सेवा, खल्तीसहित अन्य डिजिटल वालेट सेवा प्रदायकले एजेन्टहरू परिचालन
गरेका छन् ।
परिपत्रमा इन्टरनेट बैंकिङमार्फत हुने कारोबारलाई पनि सीमा तोकिएको छ । इन्टरनेट बैंकिङबाट भुक्तानी कारोबार गर्दा दैनिक अधिकतम १ लाखसम्मको कारोबार मात्रै गर्न पाइने नियम उल्लेख छ । इन्टरनेट बैंकिङको कारोबारलाई मासिकरूपमा ५ लाखको सीमा तोकिएको छ । इन्टरनेट बैंकिङमार्फत एक खाताबाट अर्को खातामा रकम ट्रान्सफर गर्न पनि एक पटकमा एक लाख र मासिक १० लाखसम्म मात्रै मिल्ने बनाइएको छ । – कान्तिपुर दैनिकबाट