जाजरकोट – जाजरकोटका वडाध्यक्ष र उनका छोरामाथि स्थानीयवासी युवाहरुद्वारा कुटपिट भएको छ । सडक निर्माणको विषयमा विवाद हुँदा स्थानीयवासी युवाको कुटाइबाट भेरी नगरपालिका–७ का वडाध्यक्ष चन्द्रबहादुर शाही र उनका छोरा महेन्द्र शाही घाइते भएका छन् ।
स्याउलीबजारदेखि पुन्मासम्म सडक निर्माण गर्ने जिम्मा डिलबहादुर शाहीलाई दिएपछि दीपेन्द्र शाहीलगायतका युवाले सो सडक आफूले निर्माण गर्न पाउनुपर्ने माग राखेर विवाद गरेका थिए ।
एक हप्तादेखि बढेको विवादले शनिबार वडाध्यक्ष चन्द्रबहादुर शाही र उनका छोरामाथि दीपेन्द्र शाहीको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।
भेरी नगरपालिकाबाट २८ लाख रूपैयाँमा स्याउलीबजारदेखि पुन्मासम्म सडक निर्माणका लागि बजेट विनियोजन गरिएको थियो । घाइते वडाध्यक्षको उपचारका लागि अहिले नेपालगञ्ज ल्याइएको छ । उनको अवस्था अझै सामान्य बनेको छैन र आक्रमणकारी समूह फरार भएको प्रहरीले बताएको छ ।
वडाध्यक्ष शाहीको शरीरका विभिन्न भागमा चोट लागेको छ ।