काठमाडौँ – चर्चित उद्योगी तुल्सीराम अग्रवाल अपहरण काण्डका योजनाकार उमेश गिरीलाई एमाले अध्यक्ष केपी ओलीले फूलमाला लगाएर पार्टीमा प्रवेश गराएका छन् ।
नेपाली कांग्रेसको संरक्षणमा अपहरण, फिरौती काण्ड एवं बुथ कब्जा लगायतका क्रियाकलापमा विवादित गिरीलाई एमाले अध्यक्ष ओलीले सोमबार बिराटनगरमा आयोजित एक कार्यक्रममा टीका र माला लगाएका हुन् ।
उमेश गिरीसँगै पूर्वगृहराज्यमन्त्री भीमलाल राजवंशी पनि एमालेमा प्रवेश गरेका छन् । सोमबार बिराटनगरको शान्तिचोकमा आयोजित चुनावीसभाका क्रममा गिरी र राजवंशीसहित अन्य केही व्यक्तिहरु एमालेमा प्रवेश गरेका हुन् ।
चुनावी अभियानमा ओलीसँगै रहेकी गायिका कोमल ओलीसमेत नवप्रवेशीलाई अबीर लगाएर स्वागत गरिन् । पार्टी प्रवेश कार्यक्रममा एमालेका मोरङे नेताहरु गुरु बराल, माओवादी नेता गोपी अछामेसमेतको उपस्थिति देखिन्थ्यो ।