काठमाडौँ – नेपाली सेनाका बलाधिकृत रथी (लेफ्टिनेन्ट जनरल) बलदेवराज महतको अवकाससँगै अर्का रथी पूर्णचन्द्र थापा आगामी प्रधानसेनापति बन्ने पक्का भएको छ । जंगी अड्डामा प्रधानसेनापति राजेन्द्र क्षत्रीपछिको मर्यादाक्रममा रहेका रथी महतले विहीबार ९१६ कार्तिक० मा अवकास पाएका हुन् ।
जंगी अड्डाको मर्यादाक्रममा तेस्रो स्थानमा रहेका थापा रथी महतको अवकाससँगै दोस्रो मर्यादाक्रममा उक्लेकामात्र छैनन्, प्रधानसेनापति क्षत्रीको अवकासपछि प्रधानसेनापति हुने लाइनमा समेत चढेका छन् । प्रधानसेनापति क्षत्रीले २४ भदौ २०७५ मा अवकास पाउँदैछन् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री छँदा तत्कालिन सरकारले रथी थापाको प्रधानसेनापति बन्ने बाटो खुला गरिसकेको थियो । १५ असोज (०७४) मा रथीको थापाको पदावधि दुई वर्ष सकिने भएपनि उमेर बाँकी रहेको हुँदा प्रचण्ड नेतृत्वको सरकारले उनको एक वर्षे पदावधि थप गर्ने निर्णय गरेको थियो ।
४ जेठमा थापासँगै हिजो अवकास पाएका रथी महतको पनि पदावधि थप गरिएको थियो । किनभने, उनको दुई वर्षे पदावधि साउन ८ मा सकिँदै थियो । पदावधि नथपिएको भए उनी त्यसैदिन अवकास पाउने थिए । ५८ वर्ष उमेर नपुगेका रथीको पदावधि थप गर्न सकिने व्यवस्था सैनिक ऐनमा छ ।
तर, १६ कार्तिकमा ५८ वर्ष उमेर पुगेपछि महतले अवकास पाएका छन्, जसले गर्दा रथी थापा जंगी अड्डामा दोस्रो बरियतामा पुगेका छन् । थप गरिएको रथीको बाँकी अवधि १५ असोज ०७४ सम्म भएपनि प्रधानसेनापति क्षत्रीले २४ भदौ ०७५ मा अवकास पाउने भएकाले त्यस अगावै उनी प्रधानसेनापति हुनेछन् ।
प्रधानसेनापतिको पदावधि तीन वर्षको हुन्छ भने उमेर हद ६१ वर्षको हुनेछ । त्यस आधारमा थापा २४ भदौ २०७८ सम्म प्रधानसेनापतिको पदमा रहनेछन् ।