Skip to content
LAXMI SUNRISE BANK

ठगीधन्दा चलाउँदै नेपाल इन्भेष्टमेन्ट बैंक !

अर्थ सरोकार

तस्विर : गुगल 
काठमाण्डौ – राजधानीको पुतलीसडकस्थित नेपाल इन्भेष्टमेन्ट बैंकमा काम परेर मंगलबार पुगेका अनामनगर डेरा गरी बस्ने झापाका शम्भु उप्रेतीले त्यहाँको पार्किङस्थलमा मोटरसाइकल पार्क गरे । बैंककै पार्किङस्थल भएको र त्यहाँ बैंकबाट खटाइएका सुरक्षागार्ड समेत तैनाथ भएकोले उनले ढुक्कले काम सके र २ घण्टापछि पार्किङ स्थलमा पुगे । त्यहाँबाट हिँड्नै लाग्दा बैंकका सुरक्षागार्डले एउटा चिट थमाए र दुईघण्टाको पार्किङ शुल्क भन्दै ५० रुपैयाँ दिन आग्रह गरे । 
बैंकको सेवाग्राही भएको नाताले बैंकमै काम गर्न आउँदा बैंककै  पार्किङमा मोटरसाइकल राखेको पैसा किन तिर्नुपर्ने भन्ने उनले प्रश्न गरे । जवाफमा ती सुरक्षा गार्डले भने–‘तपाई सेवाग्राही हो या होइन प्रमाणसहित बैंकमा पुग्नुहोस्, त्यहाँबाट लेखेर ल्याएपछि मात्र पार्किङ शुल्क छुट गर्न मिल्छ ।’ ५० रुपैयाँ पार्किङ शुल्कका लागि फेरि बैंकमा जान, त्यहाँबाट लेखेर ल्याउन उनका लागि झञ्झट मात्र थियो । बैंकको लुटधन्दाको कुरा बुझेपछि उनी ५० रुपैयाँ दिए र घरतर्फ लागे ।
‘ठूला र धेरै कमाउने बैंकहरुले सेवाग्राहीलाई सुविधा दिनका साटो यो वा त्यो नाममा लुट्दा रहेछन् ।’ शम्भूले बिजशालासँग प्रमाण पेश गर्दै भने–‘इन्भेष्टमेन्ट बैंकले पार्किङ शुल्कको नाममा समेत सर्वसाधारणबाट रकम असूलेको देख्दा लाज लागेर आयो ।’
इजाजत लिएर पार्किङ संचालन गर्नेको हकमा समेत महनगरपालिकाले मोटरसाइकलको प्रति घण्टा ५ रुपैयाँ र कार तथा जिपको प्रति घण्टा २० रुपैयाँ दर तोकेको छ । पार्किङ संचालनको अनुमति लिएकाहरुले समेत यो भन्दा धेरै दररेट असूल्नु गैरकानूनी असूली हो ।
उनी मात्र होइन, पुतलीसडकस्थित इन्भेष्टमेन्ट बैंक गएका अधिकांश सेवाग्राही बैंकका सुरक्षागार्डबाट लुटिने गरेका छन् । कसैलाई पार्किङ शुल्क लिएको रसिद दिइन्छ भने कतिपयलाई दिइनन । नेपाल इन्भेष्टमेन्ट बैंकले ‘एनआइबिएल पार्किङ एट पुतली सडक’ नामको रसिद नै बनाएर सर्वसाधारणबाट गैरकानूनी ढंगले रकम असूल्ने गरेको छ । रसिदमा मोटरसाइकलको प्रति घण्टा २५ रुपैयाँ र कार तथा जीपको प्रतिघण्टा ५० रुपैयाँ शुल्क लाग्ने प्रष्ट लेखिएको छ । 
यो दर पनि औधी महंगो र काठमाण्डौ महानगरपालिकाको नियमविपरीतको असूली हो । रसिदमा यस बैंकको कारोबार गर्न आउने ग्राहकका लागि मात्र निःशुल्क भनिएको छ, तर सँगै कारोबार गरिसकेपछि सम्बन्धित विभागबाट छाप लगाएर ल्याउनुपर्ने भनिएको छ । २५ रुपैयाँ वा ५० रुपैयाँका लागि सम्बन्धित विभागमा छाप लगाउने झञ्झट कसैले स्वीकार्दैन र बैंकका लागि पैसा चढाएर हिँड्नुपर्ने बाध्यता रहेको पीडित सेवाग्राही बताउँछन् ।
पैसा गैरकानूनी ढंगले असूले पनि बैंकको निजी पार्किङमा समेत सेवाग्राहीको सवारी साधनको सुरक्षामा बैंक पन्छिएको छ । ‘नोट’ शीर्षकको ३ नम्बर बुँदा आफ्नो साधनको जिम्मा स्वयम् आफैं लिनुपर्नेछ लेखिएको छ । ‘आफैं जिम्मा लिने हो भने फेरि उनीहरुलाई किन महंगो रकम किन पार्किंग शुल्कको रुपमा तिर्नुपर्ने ?’ शम्भुले भने–‘महानगरपालिकाले काठमाण्डौका यस्ता धेरै ठाउँका पार्किङमा भइरहेको लुटको बिषयमा खोजबिन गरोस्।’
के भन्छ महानगरपालिका ?
काठमाण्डौ महानगरपालिकाका संचार अधिकृत महेश काफ्लेका अनुसार बैंकहरुले बिना इजाजत पार्किङ स्थल संचालन गर्नु नै गैरकानूनी काम हो । ‘इजाजत लिएर पार्किङ संचालन गर्नेको हकमा समेत महनगरपालिकाले मोटरसाइकलको प्रति घण्टा ५ रुपैयाँ र कार तथा जिपको प्रति घण्टा २० रुपैयाँ दर तोकेको छ ।’ उनले भने–‘पार्किङ संचालनको अनुमति लिएकाहरुले समेत यो भन्दा धेरै दररेट असूल्नु गैरकानूनी असूली हो ।’ 
उनका अनुसार घर निर्माणका लागि घरनक्सा पास गर्नु परे झै काठमाण्डौ महानगरपालिकाभित्र पार्किङ संचालन गर्दा पार्किङस्थलको नक्सा पास गर्नु अनिवार्य हुन्छ । नक्सापास भएपछि सम्बन्धित निकायबाट पार्किङको स्वीकृति प्रदान गरिन्छ । त्यसपछि आधिकारिक बिलहरु छापेर पार्किङ शुल्क उठाउन पाइन्छ र उठेको रकमबाट सरकारलाई कर समेत तिर्नुपर्छ । तर इन्भेष्टेमन्ट बैंक र हिमालयन बैंकको हकमा उनीहरुले पार्किङ स्थल संचालनका लागि अनुमति नलिएका, आधिकारिक बिल समेत प्रयोग नगरेका, पार्किङबापत संकलन हुने रकमबाट कर नतिरिएको र काठमाण्डौ महानगरपालिकाको रेट भन्दा औधी असूलेर गैरकानूनी धन्दा संचालन गरिरहेका पाइएको छ । बिजशालामा खबर छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK