
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो पहिलो महिनाको तलब धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने घोषणा गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)सँगको भेटमा प्रधानमन्त्री प्रचण्डले साउन महिनाको तलब धुर्मुस–सुन्तली फाउन्डेसनलाई दिने बताएका हुन् ।
कति हुन्छ प्रधानमन्त्रीको तलव ?
प्रधानमन्त्रीको तलब एक महिनाको एक लाख बढी हुन्छ । प्रचण्डले आफुले पाउने करिव एक लाखभन्दा बढी रकम भूकम्पपिडितहरुको घर बनाइरहेका धुर्मुस सुन्तलीलाई दिने भएका हुन् । उनले आफ्नो तलव आउने बित्तिकै उक्त रकम दिने बताएका छन् ।
के गर्दैछ फाउन्डेशन ?
सीताराम केट्टेल र कुन्जना घिमिरेले खोलेको धुर्मुस–सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा एकीकृत नमुना बस्ती बनाउन लागिरहेको छ । फाउन्डेसनले दसैंअगावै ६५ वटा घर निर्माण गरी भूकम्पपीडितहरूलाई दिने घोषणा गरिसकेको छ ।
के भने प्रचण्डले ?
‘भूकम्पपछि आएको मानवीय बिपत्तिलाई राहत दिन तपाईहरूले चलाएको अभियान प्रशंसनीय छ । यसले देशैभरि सकारात्मक सन्देश गएको छ, यसले एउटा संस्कारकै रूपमा विकास गर्दैछ । म तपाईहरूको अभियानमा सँगै छु । अहिले तत्कालका लागि मेरो पहिलो महिनाको व्यक्तिगत तलव तपाईहरूको फाउण्डेसनलाई सहयोग गर्नेछु,’ उनले भने ।