
काठमाण्डौ – नेपालमा पढेको मान्छेले वा ठुला पदका आफन्त वा छोराछोरी भनेपछि सरकारी काम वा यस्तै ठुला काम गर्नुपर्छ भन्ने गलत मानसिकता छ । तर काम भनेको सानो ठुलो हुँदैन भन्ने अर्को उदाहरण बनेकी छिन राष्ट्रपति ओबामाकी छोरी । अमेरिकी राष्ट्रपति बाराक ओबामाकी छोरी साशा ओबामा ह्वाइट हाउसको ऐस आरामलाई छाडेर एक अमेरिकी रेष्टुराँमा वेटरको काम गर्न थालेकी छिन् ।
बीबीसीका अनुसार १५ वर्षकी साशा गर्मीको विदालाई उपयोग गर्दै मेराचुसेट्सको मार्था वाइनयार्डस्थित एक रेष्टुराँमा काम गरिरहेकी छिन् । जहाँ उनको काम भोजन सेवा ग्राहकमाझ टक्र्याउनु हो ।
ह्वाइट हाउसले साशाको कामको बिषयमा कुनै पनि आधिकारिक टिप्पणी गरेको छैन । साशाले रेष्टुराका टेबलमा ग्राहकलाई खाना लगिदिनु र लञ्चको समयमा रेष्टुरालाई चुस्त बनाउने कार्यमा सहयोग गर्नु अर्को काम हो ।
साशाभन्दा अघि उनकी दिदी मालियाले पनि फिल्मको सेटमा दुईपटक इन्टर्नसीपको काम गरेकी थिइन । पश्चिमा देशमा ठूलो हस्ती तथा नेताका छोराछोरीहरुले यस्तो काम गर्नु नौलो कुरा मानिदैन । डेविड र भिक्टोरिया बेकहमका छोरा ब्रुकलिन बेकहम पनि केही समयअघि लण्डनमा एक फिल्ममेकरको कार्यालयमा काम गर्थे ।
हामीले पनि कामलाई सम्मान गर्न सिक्ने कि ?
- बीबीसीको सहयोगमा