
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतबाट प्रधानमन्त्री निर्वाचित गर्न आह्वान गरेपछि प्रतिपक्षमा बस्न लागेको नेकपा एमालेले पुष्पकमल दाहालसँग स्पर्धाका लागि अर्का झापाली नेतालाई अगाडि सारेको छ ।
एमाले गठबन्धनमा उपप्रधान तथा महिला, बालबालिका र समाजकल्याणमन्त्री रहेका सिपी मैनालीलाई हार्ने प्रधानमन्त्री उम्मेदवारका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेका छन् ।
प्रचण्डलाई सर्वसम्मत प्रधानमन्त्रीबाट रोक्न ओलीले अर्का उम्मेदबार खोजिरहेका थिए । प्रधानमन्त्री बन्दा ओलीले संसदीय दलको नेता बनाउने आश्वास दिएका वामदेव गौतमले ओलीको प्रस्ताव ठाडै अस्विकार गरेका थिए । उता, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई प्रस्ताव गरे पनि उनले त्यति रुचि नदेखाएपछि ओलीले विकल्पमा अन्य उम्मेदवार खोजेका थिए ।
पहिलो चरणमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई पनि प्रचण्डसँग प्रधानमन्त्री निर्वाचनमा भाग लिन ओलीले आग्रह गरेका थिए । तर, केसीले पनि त्यसलाई स्वीकारेनन् भने मधेसको पहिलो प्रधानमन्त्रीको उम्मेदवाकार लागि फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छादारसँग पनि परामर्श भएको थियो । संयुक्त लोकतान्त्रिक गठबन्धन र संयुक्त मधेसी मोर्चाको मत नआउने भए पनि गच्छादारले पनि प्रधानमन्त्रीमा उम्मेदवारी दिनु उचित ठानेनन् ।
सरकार अपदस्त गर्ने प्रचण्डलाई कुनै पनि हालतमा सर्वसम्मत हुन नदिने नीतिमा पुगेका ओलीले सकभर एमालेमा प्रभाव राख्ने नेतालाई नै प्रधानमन्त्रीका लागि अफर गरेका थिए । तर, एमालेभित्रमा प्रभाव राख्ने नेताहरू नै उनको विरोधमा लागेर सरकार गिराउनसम्मको खेल खेलेका कारणले उनले अन्य दलबाटै भए पनि उम्मेदवारका लागि मैनालीलाई तयार पारेका हुन् । मैनाली झापाको कम्युनिस्ट आन्दोलनका नेता मात्र नभएर ओलीका मित्र पनि हुन् । आन्दोलनका समयमा मैनालीले ओलीसँग सहकार्य गरेका थिए, जो ओली क्याबिनेटमा उपप्रधानमन्त्रीसम्म भए ।
‘लगभग उहाँ तयार भइसक्नु भएको छ, अब प्रचण्डसँग सिपी मैनाली प्रधानमन्त्रीमा उठ्नुहुन्छ ।’, स्रोतले भन्यो, ‘एमाले र एमालेलाई समर्थन गर्ने सबै दलको मत उहाँलाई जान्छ ।’
एमालेसँग १ सय ९९ मत अहिले कायम रहेको छ । राप्रपा नेपालले कांग्रेस–माओवादीलाई सहयोग नगरेको खण्डमा कम्तीमा २ सय २४ मतसहित फोरम लोकतान्त्रिकको सहयोग हुँदा २ सय ३८ मतसम्म प्रतिपक्षी गठजोडमा पुग्ने अनुमान गरिएको छ ।