Skip to content
LAXMI SUNRISE BANK

अनुदानको करोडौं रकममा विदेशमा मस्ती अख्तियारले कृषिको भ्रष्टाचार किन हेर्दैन ?

अर्थ सरोकार

काठमाडौं । गरीब तथा विपन्न किसानहरूको जीविकोपार्जनका लागि कृषि विकास मन्त्रालय मातहतमा विभिन्न नामधारी आयोजनाहरू सञ्चालन भइरहेका छन् । ती विभिन्न नामधारी आयोजनाका कर्मचारीहरू आसारै महिनामा बजेट स्वाहा पार्न जन्ती लागेजस्तै गरी विदेश शयर गरी मस्ती गरिरहेका भेटिन्छन्/देखिन्छन् । दातृराष्ट्र र निकायहरूबाट किसानहरूलाई आएको अनुदानको रकममा मनपरी खर्च गर्दा, कृषि विकास मन्त्रालयका जिम्मेवार कर्मचारीहरू विदेशमा मस्ती गरिरहँदा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग एक नजर पनि लगाउन नसकेकोमा किसानहरूले गुनासो गरेका छन् ।
कृषि विकास मन्त्रालय मातहतमा रहेको व्यवसायि कृषि तथा व्यापार आयोजना, कृषि तथा खाद्य सुरक्षा आयोजना, उच्च मूल्य कृषि बस्तु विकास आयोजना, हिमाली आयोजना, जलवायु प्रकोप तथा समुत्थान निर्माण आयोजनालगायतका आयोजनाको काम यतिखेर थाइल्याडको फुकेट जस्तो अति महँगो पर्यटनस्थलमा मोजमस्ती गर्ने काम मात्र भएको छ ।
कृषि विकास मन्त्रालयका करीव एक सय भन्दा बढी कर्मचारी यतिखेर थाईल्याण्डमा मस्तीमा डुबुल्की मारिरहेका छन् । केही साता अगाडि मात्र कृषि तथा खाद्य सुरक्षा आयोजनाका कर्मचारीहरू फुकेटमा मस्ती गरिरहेको समाचार साँघु साप्ताहिकले प्रकाशन गरेको थियो । अहिले फेरि त्यही फुकेटमा कृषि विकास मन्त्रालयकै मातहतमा रहेको जलवायु प्रकोप तथा समुत्थान निर्माण आयोजनाबाट ३१ जना टोली २०७३ साउन ४ गते मंगलबार र पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको हिमाली आयोजनबाट २० जनाको टोली २०७३ साउन ८ गते शनिबार थाइल्याण्ड पुगेका छन् ।
यी दुवै आयोजना कृषि उत्पादन बृद्धि गर्नका लागि किसानहरूलाई अनुदान बाँड्ने आयोजनाहरू हुन् । यी दुवै आयोजनाबाट थाइल्याण्ड भ्रमणमा जाने कर्मचारीहरूले न त कुनै तालिम हासिल गरेर किसानलाई प्रशिक्षण गराउँछन् न त आयोजनालाई भविष्यमा काम लाग्ने प्रशिक्षण नै लिएर आउनेछन् । यिनीहरू त केवल तालिम तथा अध्ययन भ्रमणका नाममा आव २०७२/७३ को करोडौं बजेट झ्वाम पार्न मात्र विदेश भ्रमणमा निस्किएका हुन् ।
यस असार महिनामा मात्र कृषि विकास मन्त्रालयका विभिन्न आयोजनाबाट करीव ढेड सय भन्दा बढी कर्मचारी न्यूनतम सात दिने अध्ययन भ्रमणको नाममा थाइल्याण्ड पुगेर कोही फर्किसकेका छन् । कोही भर्खरै थाइल्याण्ड पुगेका छन् ।
थाईल्याड जाने यी अनुदाने कर्मचारीहरूले दैनिक १५०। यूएस डलर भत्ता पाउने मन्त्रालय स्रोतले बताएको छ । साधारण हिसाव गर्ने हो भने २०७३ असार महिनामा मात्र कृषि विकास मन्त्रालय तथा आयोजनाहरूबाट अध्ययन भ्रमणमा गएका कर्मचारीलहरूले राज्यको दुई करोड भन्दा बढी रकम दोहन गरिसकेका छन् । यसरी किसानहरूका लागि आएको अनुदानको बजेटमा कर्मचारीहरूले अनावश्यक रुपमा विदेश भ्रमण गरेर मस्ती गर्दा पनि टंगालको रातो घर(अख्तियार) भने बेखवर जस्तै बनिरहेको गुनासो कृषकहरूको रहेको छ ।
गत साता जलवायु प्रकोप समुत्थान निर्माण आयोजनबाट विदेश जाने ३० जना कर्मचारीहरू मन्त्रालयका बढी र जिल्लामा काम गर्ने थोरै कर्मचारी परेका छन् भने अहिले थाईल्याड जाने हिमाली आयोजनाका टोलीमा पशुपन्छी विकास मन्त्री शान्ता मानवीका दुई सचिवालयका पीए, सचिव डा. कृष्णचन्द्र पौडेलका पीए सहित पशुपन्छी विकास मन्त्रालय कर्मचारी र हिमाली आयोजनाका कर्मचारी सहित रहेको पशुपन्छी विकास मन्त्रालयले स्रोतले बताएको छ । -साँघु साप्ताहिकमा खबर छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK