
एभेरेष्ट बैंक लिमिटेड । नेपालका चर्चित बैंकहरु मध्येको एक । काठमाडौँ लामिम्पाटमा मुख्य कार्यालय रहेको यो बैंकमा देशका सानादेखि ठूला व्यापारीसम्मले कारोबार गर्ने गरेका छन् । व्यापारी मात्र होइन देशको राजनीतिमा महत्वपूर्ण भूमिका खेल्ने नेताहरुले पनि यहि बैंकमार्फत आर्थिक कारोबार गर्ने गरेका छन् । तर नेपालमा धेरै जनताको मन जित्न सफल समेत भएको यो बैंकले देशलाइ भने धोका दिइरहेको छ । स्रोतका अनुसार नेपालमा रहेको एभेरेष्ट बैंकले नेपालमा हुने विभिन्न व्यापार, राजनीतिक व्यक्तित्वका कारोबार लगायत धेरै कुराको भारतमा सुराकी गर्ने गरेको पाइएको छ ।
बैंकिङ कारोबारका नाममा बैंकले नेपालका विभिन्न व्यापारीको खाताको विवरण भारतमा सुराकी गर्ने गरेको पाइएको छ । यहि बैंक हो, जहाँबाट देशका उच्चपदस्ठ अधिकारीहरुले मासिक तलव थाप्ने गरेका छन् । देशका राष्ट्रपतिदेखि विभिन्न दलका प्रमुख नेताहरुको खातापनि यहि बैंकमा रहेको छ । नियमत स् गोप्य राखिनुपर्ने ग्राहकको खाताको विवरण भारतस्थित एभेरेष्ट बैंकको जोइन्ट भेन्चर पार्टनर बैंक पन्जाव नेश्नल बैंकमार्फत भारतका गुप्तचरहरुले हेर्ने र त्यहि अनुसारको विभिन्न योजना बनाउने गरेको स्रोतको दावी छ ।
यसरी गर्छ एभेरेष्ट बैंकले सुराकी
एभेरेष्ट बैंकले आफ्ना ग्राहकको विवरण उसको जोइन्ट भेन्चर पार्टनर रहेको पन्जाव नेश्नल बैकले मागेको खण्डमा सजिलै दिने गरेको छ । पन्जाव नेश्नल बैंक आफैंले पनि ती विवरण हेर्ने गरेको छ । स्रोतका अनुसार पन्जाव नेश्नल बैंकले नेपालका ठुला व्यापारी नेता तथा ठुला कर्मचारीहरुको खाताबाट उनीहरुका आर्थिक तथा पारिवारिक विवरण खिच्ने र त्यसलाई भारतीय गुप्तचरसम्म पुर्याउने गरेको छ । बैंकमा खाता रहेका आफ्ना ग्राहकका सम्पूर्ण विवरण पन्जाव नेश्नल बैंकले मागेको खण्डमा दिने गरेको स्रोतको दावी छ । स्रोतका अनुसार विशेषगरी बैंकमा धेरै पैसा राख्ने वा धेरै कारोबार गर्ने व्यापारी, देशका सरकारी कर्मचारी र नेताहरुको खाताको विवरण बैंकले भारतमा सुराकी गर्ने गरेको छ ।
पन्जाव नेश्नल बैंकसँगको करारका नाममा सुराकी
पन्जाव नेश्नल बैंक (पीएनबि) ले एभेरेष्ट बैंकको २० प्रतिशत ’इक्वीटी’ होल्ड गरेको छ । यो बैंक भारतमा पनि देशभर शाखा भएको बैंक हो । पन्जाव नेश्नल बैंकको ६६३५ बढी शाखाहरु रहेका छन् । यो बैंकले नेपालको एभेरेष्ट बैंकलाइ प्राविधिक सहयोग गर्छ । यस्तो सहयोग गर्नका लागि एभेरेष्ट बैंक र पन्जाव नेश्नल बैंक बीच ’टेक्निकल सर्भिस अग्रीमेन्ट’ नामक करार समेत भएको छ । यो करारका अनुसार पन्जाव नेश्नल बैंकले एभेरेष्ट बैंकलाइ सम्पूर्ण प्राविधिक सुविधा दिने गरेको छ । स्रोतका अनुसार यहि करारका आधारमा पन्जाव नेश्नल बैंकले एभेरेष्ट बैंकका कुनै पनि खाता र तिनका विवरणहरु हेर्न सक्छ । तीनै विवरणहरु बैंकले भारतीय गुप्तचरहरुलाई पठाएर बैंकले देशका नागरिकहरुको गोपनियताको हक विपरित काम गरेको छ ।
कस कसको विवरणमाथि सुराकी हुन्छ ?
एभेरेष्ट बैंकमा नेपालका चर्चित व्यापारीदेखि नेताहरुसम्मको खाता छ । स्रोतले दिएको जानकारी अनुसार एभेरेष्ट बैंकमा पूर्वराष्ट्रपति राम वरण यादव, हालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी वली, उपप्रधानमंत्री विजय कुमार गक्षदार, नेपाली सेनाका उच्च पदस्थ अधिकारी, देशका अन्य मन्त्रीहरु, पूर्व मन्त्रीहरु, सचिव लगायतकाका खाता छन् । यस अतिरिक्त देशका ठुला व्यापारी, उच्च घरानाका व्यक्तिहरुको खाता समेत यो बैंकमा छ, जुन खाताका आधारमा विभिन्न जानकारीहरु सुराकी हुने गरेको छ । स्रोतका अनुसार विशेषगरी नेपाली सेनासँग सम्बन्धित जानकारीहरु र तिनका विवरणहरु पन्जाव नेश्नल बैंकले सुराकी गर्ने गरेको छ । स्रोत भन्छ, ’हाम्रो देशका प्रमुख नेताहरुको आर्थिक विवरण पन्जाव नेश्नल बैंकमार्फत भारतले प्रयोग गरीरहेको छ ।’
के के जानकारी सुराकी हुन्छ ?
पन्जाव नेश्नल बैंकले आवश्यकता अनुसार आफ्ना ग्राहकहरुको खातामा रहेको आर्थिक कारोबार र तीनका व्यक्तिगत विवरणहरु जासुसी गर्ने गरेको छ । नेपालका कुन नेताले कति रकमको कारोबार गरेको छ, कति पैसा कुन मितिमा बैंकमा राखेको छ, कति पैसा कुन मितिमा झिकेको छ, कति पैसा कसलाई दिएको छ, कुन नेताको कति पैसाको स्रोत के हो लगायत विभिन्न विवरणहरु भारतस्थित पन्जाव नेश्नल बैंकमार्फत भारतका गुप्तचरहरुसम्म पुग्ने गरेको छ । स्रोतका अनुसार कुन नेताले भारत आउँदा कति पैसा खर्च गर्यो, कति पैसा बैंकबाट झिक्यो, कति पैसा कसका नाममा खर्च गर्यो, भारत आएका बेला आफ्नो खातामा कुन स्रोतबाट आएको पैसा झिक्यो लगायतका विवरणहरु पनि खिच्ने गरेको छ । एभेरेष्ट बैंकमा भारतीय दुतावासका उच्च अधिकारीहरुको समेत खाता रहेकाले नेपालमा दुतावास र नेपालका केहि नेताहरु बीच आर्थिक कारोबार भएको तथ्य पनि पन्जाव नेश्नल बैंकले भारतीय गुप्तचरहरुलाई दिने गरेको स्रोतको दावी छ ।
करको विवरण पनि सीधै भारतमा जासुसी
नेपालमा आन्तरिक राजश्व विभागले विभिन्न शिर्षकका कर तिर्न तोकेको विभिन्न बैंकहरुमध्ये एभेरेष्ट बैंक पनि एक हो । अन्य बैंकहरु सरकारी स्वामित्वका छन् भने एभेरेष्ट बैंक भारतीय बैंकको ’जोइन्ट भेन्चर’ पार्टनर हो । एभेरेष्ट बैंकले देशका विभिन्न करदाता सेवा कार्यालयमा आफ्नै काउन्टर राखेर कर उठाउने गरेको छ । यसरी ठुला व्यापारीहरुले एभेरेष्ट बैंकमार्फत सरकारलाइ बुझाएको करको विवरण पनि भारतमा जासुसी हुने गरेको स्रोतको दावी छ । एभेरेष्ट बैंकमार्फत देशका कुन ठुला संस्थाहरुले कति कारोबार गरे, कति कर तिरे, देशका कुन नेताले कति कर तिरे, कुन व्यापारीले कति कर बुझाए लगायतका गोप्य विवरणहरु पनि भारतमा पुग्ने गरेको छ । यसरी कर संकलनका नाममा एभरेष्ट बैंकले विभिन्न व्यापारी तथा नेताहरुको विवरण भारत पठाउने गरेको वा भारतले नेपालको बैंकबाट खिच्ने गरेको छ ।
बैंककै कर्मचारी भन्छन्, ’बर्षौं देखि यस्तै भइरहेको छ’
यता एभेरेष्ट बैंककै केहि कर्मचारीले बर्षौंदेखि यस्तो भइआएको बताएका छन् । आफ्नो नाम उल्लेख नगर्ने सर्तमा रातोपाटीसँग कुराकानी गर्दै बैंककै केहि कर्मचारीले अहिले मात्र होइन बर्षौंदेखि यस्तो हुने गरेको बताएका छन् । ’संविधान सभाको निर्वाचन देखि यस्तो खेल बढी हुन थालेको हो । एभरेष्ट बैंकमा जसजसको खाता छ, उनीहरुको विवरण कहिले यहाँ बैंकलाइ सोधेर त कहिले नसोधी पन्जाव नेश्नल बैंकले खिच्ने गरेका छन् । ’ बैंकका एक कर्मचारीले रातोपाटीलाई बताए । उनका अनुसार सरकार परीवर्तनको समय वा देशमा महत्वपूर्ण उथल पुथल हुने समयमा यस्तो जासुसी बढी हुने गरेको छ ।
सरकार परीवर्तनको हल्लासँगै बढ्यो जासुसी
केही समय अगाडी रातारात केपी वली सरकार ढल्ने हल्ला चलेसँगै बैंकका विवरणहरु भारतबाट खिचिएको स्रोतको दावी छ । स्रोत भन्छ, ’ सरकार परिवर्तनको हल्ला सँगै यहाँका विभिन्न नेताहरुको विवरण भारतमा जासुसी भएको थियो । एभरेष्ट बैंकमा कुन नेताको खातामा कति पैसा छ लगायतका विवरणहरु भारतमा एभरेष्ट बैंकमार्फत पन्जाव नेश्नल बैंक हुँदै जासुसी भएको स्रोतको दावी छ ।
यस बिषयमा बैंकका कर्मचारीहरुले समेत जानकारी दिएपनि बैंकका उच्च अधिकारी हरु भने सम्पर्कमा आएनन् । यस बिषयमा राटोपाटीले एभेरेष्ट बैंकका अनुसन्धान विभागका प्रमुख पूर्ण बहादुर श्रेष्ठ र आइटी विभागका प्रमुख बिजय कुमार गौतमलाइ सम्पर्क गर्न खोदा दुवै सम्पर्कमा आएनन् ।
- अर्थ सरोकार डटकमका प्रधान सम्पादक सुरज प्याकुरेलले जनआह्वान साप्ताहिकमा लेखेको समाचार ।