
काठमाडौं – धादिङ जिल्लामा सुपर आँखुखोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । धादिङको लापा र सेर्तुङ गाविसमा उक्त आयोजना निर्माण हुन लागेको हो । तातोपानी खोला र म्यानचेट खोलालाई मिलाएर २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत आयोजना निर्माण गर्न लागिएको बताइएको छ ।
को को छन् लगानीकर्ता ?
उक्त परियोजनाका प्रवन्ध निर्देशक विश्वनाथ कंडेलका अनुसार परियोजनाको वातावरणीय मुल्याङ्कन गर्ने काम सम्पन्न भइसकेको छ । उक्त परियोजनाका अन्य लगानीकर्तामा धादिङका भोलानाथ पाण्डे, काठमाडौका केशवराज अधिकारी र जर्मनमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली निलब वराल छन् ।
सन् २०२० सम्म सकिनेछ परियोजना
७५ जनालाई रोजगारी दिने यो आयोजनाले भौतिक पूर्वाधारको काम यहि बर्षबाट थाल्ने जनाएको छ । सन् २०२० सम्म विद्युत उत्पादन गरेर नेपाल विद्युत प्राधिकरणको प्रशारण लाइनमा जोड्ने योजना कम्पनीको छ । सडक निर्माण सकिएपछि भौतिक पुर्वाधारका अन्य काम गर्न सजिलो हुनेछ । जिल्ला विकास समितिको सहयोगमा आयोजनासम्म पुग्ने सडक निर्माण भइरहेको हो ।
कति छ लगानी ?
यो आयोजना निर्माणका लागि कुल चार अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताइएको छ । चालु पुँजी एक करोड १२ लाख रुपैयाँ र स्थिर पूँजी चार अर्ब ३६ करोड ३६ लाख रुपैयाँ गरी कुल ४ अर्ब ३७ करोड ४९ लाख रहने गरि कम्पनी दर्ता गरिएको छ ।