
नेपाल आयल निगमको भलबारी डिपोको महत्वपूर्ण कागजात अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । तेल वितरणमा चरम लापरबाही गरेको भन्ने विभिन्न गुनासो तथा अख्तियारले नै गरेको अध्ययनमा समेत अनियमितताको आशंका भएपछि अख्तियारको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको सम्पर्क कार्यालय बुटवलले डिपोका कागजातहरू नियन्त्रणमा लिएको हो । अख्तियारले इन्धन आपूर्ति तथा वितरणसँग सम्बन्धित कागजत्रपत्रहरूसँगै अन्य महत्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको जनाएको छ । अख्तियारको टोलीले भलबारी डिपोको लेखा शाखालगायत विभिन्न शाखा अनुगमन तथा निरीक्षण गरी कार्यालयको विभिन्न रबरस्ट्याम्प, प्याड र केही कर्मचारीको व्यक्तिगत फाइल समेत नियन्त्रणमा लिएको छ । सो डिपो निगमका अन्य डिपोमध्ये बढी विवादमा आइरहने डिपो हो भने त्यहाँ व्यापक अनियमितता भएको प्रमाणसहित विभिन्न समयमा पत्रपत्रिकामा समेत समाचार आउनथालेपछि अख्तियारले पनि आफ्नो कारबाहीलाई अगाडि बढाएको हो ।
निजी कार तथा जिपलाई लटअनुसार तीन दिन पेट्रोल
काठमाडौं । नेपाल आयल निगमले निजी कार तथा जिपलाई तीन दिन पेट्रोल वितरण गर्ने भएको छ । बुधबारदेखि पुस २७ गतेसम्म वितरण गरिने पेट्रोलको लागि कार तथा जिपले मोटरसाइकललाई जस्तै लटअनुसार दिने तयारी गरिएको निगमले जनाएको छ । निगमले दिएको जानकारीअनुसार पुस २२, २४ र २७ गते निजी कार तथा जिपलाई १५ लिटरका दरले तेल वितरण गर्नलागिएको हो । यसरी निजी सवारीको लागि तीन दिनमा झण्डै १३ लाख लिटर पेट्रोल वितरण गरिने निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । तीन तहमा छुट्याइएको सवारीहरूमध्ये सुरूका ६ लटसम्म पहिलो दिन अर्थात् २२ पुसमा, दोस्रो दिन अर्थात् २४ गते शुक्रबार ७ देखि १० नम्बर लटका र अन्तिम दिन २७ गते सोमबार ११ भन्दा माथिका लटका कारले तेल भर्न पाउने निगमले जनाएको छ । वितरण गर्नुभन्दा एक दिनअघि नै पम्पमा तेल पु¥याइने निगमले जनाएको छ भने बिहान ९ बजेदेखि पम्पमा तेल वितरण सुरु हुनेछ । तेल भर्न नवीकरण भएको ब्लु–बुक अनिवार्य गरिएको आयल निगमले जनाएको छ ।