खानेतेलमा कालोबजारी गर्दै उपभोक्ता ठगेको आरोपमा पक्राउ परेका केएल दुगडका दुई कर्मचारी जेल चलान भएका छन् । अघोषित नाकाबन्दीको फाइदा उठाउँदै खानेतेलमा अस्वाभाविक तरिकाले मूल्यवृद्धि गरेर कालोबजारी तथा उपभोक्ता ठगी गरेको अभियोगमा नेपालको शक्तिशाली व्यापारिक घरानाको रुपमा परिचित केएल दुगडका सञ्चालक तथा कर्मचारीविरुद्ध प्रहरीले दायर गरेको कालोबजारी र ठगी मुद्दामा सोमबार थुनछेक आदेश गर्दै काठमाडौं जिल्ला अदालतले पक्राउ परेका कर्मचारीद्वय प्रमोदराज अधिकारी र अमन जैनलाई मुद्दा पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिँदै फरार रहेका सञ्चालक तथा कर्मचारीसहित नौ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासले पक्राउ परेकालाई थुनामा राख्ने आदेश दिँदै फरार रहेकाहरुको नाममा पक्राउ पुर्जी जारी गरेको हो ।
अदालतमा दुगडको तर्फबाट अधिवक्ताहरु शम्भु थापा, रमणकुमार श्रेष्ठलगायतले बहस गरेका थिए भने सरकारी तर्फबाट जिल्ला सहन्यायाधिवक्ता लोकराज पराजुली र उपभोक्ता हितमा सक्रिय अधिवक्ताहरुले बहस गरेका थिए । अदालतको आदेशबमोजिम पक्राउ परेका अधिकारी र जैनलाई केन्द्रीय कारागार चलान गरिएको महानगरीय प्रहरीपरिसर काठमाडौंका प्रवक्ता एसपी विश्वराज पोखरेलले बताए । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको रायबमोजिम जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ठगी मुद्दामा नौ करोड ९६ लाख १३ हजार चार सय २० रुपैयाँ र कालोबजारी मुद्दामा तीन करोड ९२ लाख ८७ हजार चार सय ४० रुपैयाँ गरी करिब १४ करोड रुपैयाँ बिगो र पाँचदेखि दश वर्षसम्मको कैद मागदाबीसहित गत १३ गते काठमाडौं जिल्ला अदालतमा दुगड ग्रुपविरुद्ध मुद्दा दायर गरेको थियो । प्रहरीले उक्त मुद्दामा केएल दुगड समूहमा आबद्ध ११ जनालार्ई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
प्रहरीले केएल दुगडको स्वस्तिक आयल इन्डष्ट्रिजका सञ्चालकहरु किशनलाल दुगड, विकास दुगड, नरेश दुगड, कुमुद कुमार दुगड, प्रबन्धक चण्डिका प्रसाद कुशवाहा, मेनेजर प्रदिप कुमार छजेण, बारास्थित स्वस्तिक आयलका प्रबन्धक धर्मचन्द्र दुगड, लेखापाल रमाकान्त दुगड, गौतम दुगडलाई फरार प्रतिवादी बनाउँदै प्रहरी हिरासतमा रहेका जैन र अधिकारीलार्ई प्रतिवादी बनाएको थियो । नेपालको शक्तिशाली व्यापारिक घरानाको रुपमा परिचित केएल दुगड ग्रुपबाट उत्पादित विभिन्न ब्राण्डका खानेतेल तथा अन्य खाद्य सामग्रीहरुको कृत्रिम अभाव सिर्जना गरेर अस्वाभाविक तरिकाले मूल्यवृद्धि गर्दै कालोबजारीलार्र्ई प्रश्रय दिएको आरोपमा उक्त ग्रुपको काठमाडौं जडीबुटीस्थित बिक्रीकेन्द्रमा महानगरीय प्रहरीपरिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले छापा मारेर लुकाइराखेको अवस्थामा करिब डेढ लाख लिटर खानेतेलसहित दुई कर्मचारीलार्र्ई पक्राउ गरेको थियो । उक्त कालोबजारी मुद्दा कमजोर बनाउन नेपाल प्रहरी तथा गृह प्रशासनको माथिल्लो निकायबाट व्यापक दबाब आए पनि काठमाडौं प्रहरी प्रमुख विक्रम सिंह थापा र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख डीएसपी दान बहादुर कार्कीको अडानका कारण दुगड ग्रुपका सञ्चालकलगायतका व्यक्तिहरु कानुनी कारबाहीको दायरामा आएका हुन् ।
दुगड ग्रुपका प्रतिवादीहरुलार्ई थुनामा पठाउने अदालतको आदेश सम्बन्धमा खुसी व्यक्त गर्दै काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रम सिंह थापाले सम्मानित काठमाडौं जिल्ला अदालतको उक्त आदेशले कानुन कार्यान्वयन गर्ने र गराउने र मुद्दा अभियोजन गर्ने नेपाल प्रहरीको मनोबल उच्च भएको प्रतिक्रिया दिए । “दुगड ग्रुपलाई कारबाहीको दायरामा ल्याउन म तथा मेरो टिमले निकै ठूलो संघर्ष गरेको छ, जतिसुकै दबाब आए पनि त्यसको प्रतिकार गर्दै व्यापारिक आवरणमा जनताको रगत पसिना चुसेर किर्नाजस्तै मोटाएका उनीहरुलार्ई कानुनी कारबाहीको दायरामा ल्याउन हामी सफल भएका छौँ, हाम्रो यस अभियानमा हरेक तह र तप्काबाट प्रत्यक्ष/परोक्ष सहयोग पु-याउने सबैप्रति आभारी छु’, एसएसपी थापाले भने ।
त्यसो त विगतमा व्यापक दबाबका बीच युनिटी ठगीकाण्ड तथा नेपाल आयल निगमको इन्धन डिपो भलबारी रुपन्देहीको तेल चोरीकाण्डका आरोपीहरुलार्र्ई कानुनी कारबाहीमा ल्याउन कुनै कसर बाँकी नराखेका एसएसपी थापाको दुगड ग्रुपको उक्त मुद्दामा समेत सफलता हासिल गर्ने पक्कापक्कीजस्तै देखिएको छ । काठमाडौं प्रहरी स्रोतका अनुसार एसएसपी थापाले दुगड ग्रुपको मुद्दाको अभियोजनमा उल्लेख्य भूमिका खेल्ने महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख डीएसपी दान बहादुर कार्कीलगायतका अन्य प्रहरी कर्मचारीहरुलार्ई पुरस्कृत गर्ने तयारी गरेका छन् । – आर्थिक दैनिक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्